धरान: धरान उपमहानगरपालिकाको वडा नं ६ स्थित पानवारीमा धमाधम भौतिक संरचनाहरु निर्माण भइरहेको छ । यो व्यापारिक भवन र मानिस बस्नको लागि बन्दै गरेको घर होइन । यो त धरानमा दैनिक निस्कने ३५ टन भन्दा बढी फोहोर मैलालाई प्रशोधन गरेर उर्जा निकाल्ने केन्द्रको संरचनाहरु हुन् ।

सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार फोहोरमैलालाई व्यवस्थापन गर्न र त्यसबाट उर्जा उत्पादन गर्न उपमहानगरले गत बर्ष नै भेञ्चर वेस्ट टु इनर्जी प्रालिसँग सम्झौता गरेको छ । कुनै बाधा हड्चन भएन भने अबको ३ महिना पछि नयाँ बर्षसँगै प्रालिले धरानको फोहोरबाट उर्जा उत्पादन हुन शुरु गर्नेछ । प्रालिका अनुसार २०७६ सालको बैशाख १ गतेबाट परीक्षण उत्पादन गर्नेछ भने १५ गतेबाट व्यवसायिकरुपमा उर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ ।

fohor

योसँगै बषौंदेखि धरान उपमहानगरपालिकाको लागि व्यवस्थापन गर्न जटिल समस्या बन्दै गएको फोहोरमैलाको उचित व्यवस्थापन पनि हुनेछ । फोहोर वन क्षेत्रमा फालेर वातावरणलाई गम्भीर असर पुर्याएको आलोचना खेपिरहेको उपमहानगरले मुक्ति पनि पाउनेछ । ‘फोहोर व्यवस्थापनमा हामीलाई ठुलो राहत मिल्नेछ,’कार्यवाहक प्रमुख मञ्जु भण्डारीले भनिन्,‘भविष्यमा त्यो प्रशोधन केन्द्र उपमहानगरकै सम्पत्ति हुनेछ ।’ कम्पनीका अनुसार कुल २० करोड लागत अनुमान छ । व्यवसायिकरुपमा ग्याँस उत्पादन गर्न थालेपछि कम्पनीले करोबारको १ प्रतिशत आम्दानी उपमहानगरलाई पनि बुझाउनेछ ।

कसरी हुन्छ फोहोरबाट उर्जा उत्पादन ?

fohors

प्रालिका परामर्शदाता विवेक अग्रवालका अनुसार प्रशोधन केन्द्रको संरचना निर्माणको कामहरु करिब ४० प्रतिशत पुरा भइसकेको छ । कम्पनीले पानवारीमा १ बिघा २ कट्ठा जमिन खरीद गरेर त्यही संरचनाहरु तयार गर्दैछ । उनका अनुसार त्यहाँ विभिन्न प्रकारका ६ वटा प्लान्ट रहनेछ । प्रशोधन केन्द्रको क्षमता फोहोरबाट दैनिक ३० मेट्रिक टन उर्जा निकाल्ने क्षमता हुन्छ ।

प्लान्टहरुमा ३ वटा ईकाई रहने छ । जसमध्ये पहिलो ईकाईबाट संकलित फोहोरलाई छुट्टयाउने, दोस्रो ईकाईले ग्यांस उत्पादन गर्ने र तेस्रो ईकाईले बोटलिङ गर्नेछ । प्रशोधन केन्द्रको तरल पदार्थ बाहिर नफालिने गरी पानी पुनःप्रयोग गर्नको लागि प्रशोधन प्लान्ट हुनेछ । जसले गर्दा फोहोर पानीलाई प्रशोधन गरी त्यही प्रयोग गरिनेछ, र त्यसले वातावरणलाई कुनै असर नपार्ने कम्पनीको भनाई छ ।

fohor 1

धरान उपमहानगरपालिकाका अनुसार हाल धरानमा २५ टनजति कुहिने र १५ टन जति नकुहिने फोहोर संकलन हुने गर्छ । ती फोहोरलाई प्रशोधन केन्द्रमा लगेर अग्र्यानिक, पुनःप्रयोग हुने र प्रयोग नभै ल्याण्डफिल साइटमै फाल्नुपर्ने गरी ३ प्रकारको फोहोर छुट्याइनेछ । प्रालिका अनुसार फाल्नुपर्ने फोहोर १० प्रतिशत मात्र हुनेछ भने २० प्रतिशत पुनःप्रयोग गर्न मिल्ने फोहोर निस्कन्छ । बाँकी ७० प्रतिशत अग्र्यानिक फोहोरलाई थप प्रशोधन गरेर उर्जा उत्पादन हुन्छ ।

उपमहानगरले ५ बर्षसम्म प्रशोधन केन्द्रसम्म फोहोर संकलन गरी पुर्याइदिनेछ । त्यसपछि भने सबै जिम्मेवारी कम्पनीको हुनेछ । २० बर्षपछि भने जग्गा, प्लान्टसहितको सबै संरचना तथा सम्पत्ति उपमहानगरपालिकालाई हस्तान्तरण हुनेछ । ‘सार्वजनिक निजी साझेदारी अन्र्तगत यो परियोजना भएपनि उपमहागरको शुन्य लगानी हो,’वातावरण अधिकृत भेषराज घिमिरेले भने ।
.................................................
कति निस्कन्छ उर्जा ?

pic-2,dharan-ko-fohor-jungl

प्रालिले अग्र्यानिक फोहोरबाट ग्याँस निकाल्ने योजना राखेको छ । उक्त ग्याँसलाई सिएनजि(कम्पेस नेचुलर ग्याँस) भनिन्छ । यो ग्याँसले विजुली निकाल्न, खाना पकाउन, गाडी चलाउन प्रयोग गर्न सकिन्छ । प्रालिका परामर्शदाता अग्रवालका अनुसार धरानको ३५ टन फोहोर संकलन हुने तथ्यांक छ । जसबाट दैनिक १२ सय ग्याँस उत्पादन हुने अनुमान छ ।