धरान:शनिबार २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा धरान १६ स्थित रंगशालामा खचाखच दर्शक थिए । घरेलु टिम १२ बर्षपछि फाइनल पुगेकोले पनि धरानेहरु आफ्नो टिमलाई समर्थन जनाउन रंगशाला पुगेका थिए ।

उत्तर र पुर्वपट्टि निर्माण भएको पक्की प्याराफिटमा दर्शक खचाखच थिए भने पश्चिमतर्फको बाँसको प्याराफिटमा पनि नअटेर उभिएर हेर्ने खेलप्रेमीहरु पनि थुप्रै थिए । आयोजक धरान फुटबल क्लबको आम्दानीको मुख्य स्रोतमध्ये गेटको टिकट बिक्री पनि मुख्य हो । विगतमा बाँसको प्याराफिट धेरै बनाउनुपर्दा खर्च नै बढी हुन्थ्यो । अहिले रंगशालामा प्याराफिट बन्दै गएपछि बाँसको प्याराफिट बनाउन लाग्ने खर्च जोगिदै गएको छ भने दर्शक क्षमता बढेर आम्दानी पनि बढेको छ ।

DSC_0876

शनिबार फाइनल खेल हुदै गर्दा पत्रकार, दर्शकहरुले अनुमान लगाए,‘आज त कम्तीमा ५ हजार दर्शकले टिकट काटेर आएका छन् ।’ यो अनुमानलाई मात्र सही मान्ने हो भने फाइनलमा मनग्ये आम्दानी हुनुपर्ने हो । तर, यथार्थ भने त्यस्तो छैन । आयोजक क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीका अनुसार आयोजक क्लब फाइनल पुगेको हुनाले फाइनलमा गेट टिकटबाट कम्तीमा १२ लाख संकलन हुने अनुमान गरिएको थियो । तर, शनिबार फाइनलमा मात्र १० लाख १ हजार टिकट बिक्रीबाट संकलन भएको उनले बताए । ‘१२ लाख उठ्छ भन्ने अनुमान गरेका थियौ, तर १० लाख एक हजारको टिकट बिक्रीको हिसाब देखियो,’कोषाध्यक्ष खतिवडाले भने । प्रतियोगिताको फाइनलमा ३ सय १० रुपैया टिकट दर तोकिएको थियो ।

फाइनलमा अपेक्षाभन्दा कम पैसा संकलन भएपनि समग्रमा भने प्रतियोगिताले अपेक्षा गरेभन्दा बढी नै टिकट बिक्रीबाट आम्दानी गरेको कोषाध्यक्ष खतिवडाको भनाई छ । उनका अनुसार यसपाली १६ लाख अनुमान गरिएको थियो । फाइनलसम्म १७ लाख हाराहारीमा टिकटबाट संकलन भएको उनले बताए ।

किन थोरै उठ्छ टिकट बिक्रीबाट रकम ?

IMG_20190216_155551

फाइनल हेर्न रंगशाला पुग्ने दर्शकको संख्या हेर्ने हो भने टिकट बिक्रीबाट संकलन भएको रकम ज्यादै कम हो । रंगशालामा कम्तीमा ५ हजार दर्शक पुगेका थिए । तर, टिकट ३ हजार केही बढीले मात्र काटेर फाइनल हेरेको संकलित रकमको तथ्यले खुलाएको छ । टिकट नकाटी कसरी फाइनल हेरे त दर्शकहरुले ? आयोजक क्लबका महासचिव प्रताप तामाङ भन्छन्,‘धरानमा पास बाँड्नुपर्ने चलनले हैरान भइयो । यसपाली पनि कडाई गर्दा गर्दै पनि फाइनलमा सकिएन ।’

धरानलाई मिनि ब्राजिल भनिन्छ । धरानेहरु फुटबल भनेपछि हुरुक्क मात्र हुदैनन्, फुटबलका थुप्रै प्रतिभाहरु पनि यहाँबाट जन्मिएका छन् । खेलकुदको विकासमा पनि देश, विदेशमा रहेका धरानेहरुले सहयोग गरेका छन् । तर, जब बुढासुब्बा गोल्डकप आयोजना हुन्छ, तब टिकट काटेर हेर्नुभन्दा पनि धरानेहरु पास खोज्नतिर लाग्छन् । ‘पास कन्ट्रोल गर्न नै नसकिने भयो, शुरुमा त धेरै कन्ट्रोल गर्यौ तर फाइनलमा त झनै गाह्रो भयो,’महासचिव तामाङ भन्छन्,‘पासको लागि फोन आएर हैरान ।’

DSC_0890