पथरी :पूर्वी नेपालका धिमाल जातीहरुले प्राकृति पुजा गर्दै जात्री पर्व मनाउदै आएका छन् ।

वैशाख २ गते लेटाङ्गको राजारानीबाट सुरु भएको जात्री पर्वका मेलाहरु झापा र मोरङ्गका विभिन्न भागमा अहिले लागिरहेकोे छ । प्रकृति पुजक धिमालहरुले अन्नवाली सप्रियोस, कुनै प्राकृतिक प्रकोप नहोस् भनेर ढोल बजाएर जात्री पर्व मनाउदै आएका छन् । पर्वमा विभिन्न पशुको वलि दिने चलनसमेत रहेको उनीहरुको भनाइ छ ।

आफ्नो मनोकामना पुरा गराउन हास, कुखुरा, सुँगुर परेवा आदिको वलि दिने र पुजा गर्ने चलन रही आएको धिमाल जातीका पुजारी काठ वहादुर धिमालले बताए । परापूर्वकालमा धिमालले यी समस्या समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै मनाउँदै आएको जनविश्वास छ ।
मोरङ्ग जिल्लामा २ महिना भित्रमा ९६ स्थानमा साना तथा ठुला मेला लाग्ने गरेको धिमाल जातीका पुजारी हरि वहादुर धिमालले जानकारी दिए । गाउँघरदेखि केही पर ग्रामथान तथा महाराजथान निर्माण गरी वर्षमा एक पटक पुर्खौली चलनअनुसार पुजा तथा मेला लगाई रमाइलो गर्दैआएको पाइन्छ ।

विवाहका लागी आफुलाई मन परेको केटा वा केटी छान्ने मेलाका रुपमा पनि जात्री पर्व मनाउने गरेको धिमाल अगुवा मिन वहादुर धिमालले बताए । यसै मेलामा हेरेको केटी विवाहका लागि योग्य हुने उनको तर्क छ । परम्परागत रुपमा मनाउदै आएको जात्री पर्व संरक्षण गर्न पनि युवा पुस्ता लागेको स्थानिय धिमाल अगुवा सप्तम धिमालको भनाइ रहेको छ । प्राकृतिक पुजक धिमाल जातीले २ महिना सम्म मनाउने जात्री पर्व असार २ गते उर्लावारीस्थित धिमाल जाती विकास केन्द्रमा मेला लागेसँगै समाप्त हुनेछ । विभिन्न पुजा गरि मनाइने जात्री पर्वलाई केटा केटी हेर्ने मन पराउने पर्वका रुपमा पनि लिने गरिन्छ ।