धरान: धरान ८ स्थित सहिद स्मृति मावि र स्थानीयबासी बीचको जग्गा सिमा र बाटोको विवाद चुलिएको छ ।

विद्यालय र स्थानीयबासीबीच विवाद आपसी छलफलबाट पनि समाधान नभएपछि वडा कार्यालय हुदै न्यायिक समितिमा पुगेको थियो । पटक–पटक न्यायिक समितिमा छलफल गरेपनि समिति ठोस निर्णय वा निकास दिन नसक्दा विवाद बढ्दै गएको छ । अहिले स्थानीयबासी र विद्यालयबीच सिमा विवादले चर्को रुप लिएको छ । करिब एक साता अघि स्थानीयले विद्यालयबाट दक्षिणतर्फ निस्किने पानीको निकास पर्खाल उठाइदिएर बन्द गरिदिएका छन् । यसले विद्यालय थप समस्यामा परेको छ । स्थानीयबासीले पानीको निकास थुनिदिएपछि विद्यालय परिसर डुबानमा परेपछि विद्यार्थीहरुले प्रर्दशनसमेत गरेका थिए ।

विद्यालयबाट पानी निस्किएर वस्तीको बाटो र घर–घर पसको भन्दै स्थानीयले पर्खाल लगादिएका हुन् । यसले स्थानीय र विद्यालयबीच द्वन्द्व थप चर्केको छ । ‘विद्यालयलाई पानीको निकास व्यावस्थित गर्न पटक–पटक आग्रह गर्यौ सुनवाइ भएन अनि हामीले बाध्य भएर थुन्नु पर्यो’ स्थानीय उषा थापा क्षेत्रीले भनिन् ‘बाटो भरी पानी छरिएर स्थानीयको घर–घरमा पुग्छ अनि कसरी बन्द नगर्नु ?’

यता विद्यालयका प्रधानाध्यापक राम बहादुर विष्टले विद्यालयको पानीको निकास जाने ठाउँमा पर्खाल लगाउनु न्यायोचित नभएको जिकिर गरे । उनले स्थानीयले विद्यालयको पूर्व–दक्षिणबाट बाटो खोल्न दबाब दिदै आएको र त्यो बाटो खोल्न विद्यालयले सहमति नदिएपछि प्रतिशोधको रुपमा पानीको निकास जाने ठाउँमा बन्द गरिएको दाबी गरे । करिब २ वर्षअघि विद्यालयको घेराबारा लगाउने क्रममा घेराबारा लगाउदै दक्षिण पट्टि आएपटि (टेक बहादुर श्रेष्ठ)को सिमाना आएपछि स्थानीयले घेराबारका लागि खनिएको चर समेत पुरिदिएका दिएको उनले बताए ।

sahid-schooll

स्थानीयबासीले बाटोकोरुपमा प्रयोग भइरहेको क्षेत्रमा पनि विद्यालयले मिचेर स्थानीयबासीलाई आवतजावत पनि गर्न नपाउने अवस्था सृर्जना गरिदिएको गुनासो गर्दै आएका छन् । शहिद स्मृति मार्गलाई विद्यालयले भौतिक संरचना बनाएर खण्डित गर्ने काम गरेको र जसरी पनि विद्यालय संरचना भत्काएर भएपनि बाटो खोल्नुपर्ने क्षत्रीले बताइन् । वर्षोदेखि हिड्दै आएको बाटो बन्द गरेर गाउँलेहरुमाथी विद्यालयले अन्याय गरेको आरोप लगाइन् । ‘हाम्रो शहिद स्मृति मार्ग जुन विद्यालयको मुख्य प्रबेशद्वार छ त्यहाँसम्म बाटो निकालेर जोड्नु पर्छ, त्यो हाम्रो माग हो,’उनले भनिन् ‘हामीले पहिलादेखि नै हिड्दै आएको बाटो हो अहिले कायम गर मात्र भनेको हो, के हामीलाई बाटो दिनुपदैन ?’

३० वर्ष अघि देखिको विवाद रहेपनि दक्षिण पटिको हाल साना नानीहरु पढिरहेको भवन बनाउदा पनि विवाद उब्जीएपनि त्यति कै रहेको उनले बताइन् । विद्यालयको जग्गा क्षेत्रफल १० कठठ रहेपनि नापी गर्दा १२ कठ्ठा निस्किएको भन्दै दुई कठ्ठा जग्गा मिचेको जिकिर गर्नि । तर, कस्को जग्गा कत्ति मिचियो यसबारेमा स्पष्ट नखुलाएपनि स्थानीयले बाटो पाउनुपर्ने बताइन् ।

यता, विद्यालयलले भने स्थानीयको समस्यालाई हेरेर विद्यालयको भवन भत्काएर बाटो दिने अधिकार विद्यालयलाई नभएको भन्दै सम्बन्धीत निकायले समस्या सुल्झाउनुपर्ने प्रअ विष्ट बताउँछन् । ‘स्थानीयले पूर्वी–दक्षिण पट्टिबाट जसरी पनी बाटो दिनुपर्ने माग गदैआएका छन्’ प्रअ विष्टले भने ‘विद्यालय भवन भत्काएर बाटो दिने अधिकार विद्यालयलाई छैन, यस विवादको समाधान सम्बन्धीत निकायले गरिदिनुपर्यो ।’

विवाद टुङ्ग्याउन वडा कार्यालय हुदै न्यायिक समितिमा पुगेपनि मिल्न नसकेको उनले बताए । ‘विद्यालय व्यावस्थापन समिति र स्थानीबीच समाधान हुन नसकेपछि वडा हुँदै न्यायिक समितिमा पुग्यो, त्यहाँ पनि मिल्न सकेन,’उनले भने,‘अब विद्यालय भनेको सार्वजनिक सम्पती हो, सम्बन्धीत निकायले जे निर्णय गर्छ त्यो मान्नुपर्यो ।’

sahid3

विवाद भएको विद्यालयको दक्षिण सिमा स्थानीय टेक बहादुर श्रेष्ठसँग सिमा जोडिएको छ । विद्यालयको दक्षिण पूर्वी भागमा श्रेष्ठसँग सिमा जोडिएको ठाउँबाट बनाइएको संरचनासहित चौकीदार बस्ने क्वाटर बनेको छ । त्यस क्षेत्रमा पहिला स्थानीयबासीले बाटोकोरुपमा प्रयोग गर्दै आएका थिए । अहिले पूर्वपट्टिको शहिद मार्गमा बाटो जोड्न निकास दिनुपर्ने स्थानीयको मुख्य माग हो । त्यो संरचनामा कक्षा सञचालन हुदै आएको छ । ‘हामीले यो संरचना बनाउदा मापदण्ड अनुसार सेड व्याग छोडेका छौं, ७ फुट छ सेडव्याग, अनि कसरी पर्खाल लगाउन नपाउने ?’ उनले भने ‘यसमा स्थानीयले बुझनु पर्छ, हामीले जे पनि गर्न मिल्ने भन्ने नै हुदैन ।’

श्रेष्ठको गाइ गोठ, दाउरालगायतको बस्तुहरु राख्दा नानीहरुलाई पढ्ने वाताबरण उचित नभएकोले र विद्यालय व्यावस्थित बनाउनको लागि घेराबारा लगाउने काममा स्थानीयले अबरोध गरेको विद्यालयको भनाई छ । यता श्रेष्ठ भने विद्यालयले झुटो आरोप लगाएको जिकिर गरे । ‘मैल किन मिच्ने, मेरो जती छ त्यसमा नै व्यावस्थित रुपमा भोगचलन गर्न पाउनुपर्छ नी’ उनले भने ‘गाउँलेको लागि बाटो दिन्न पनी भन्न मिल्दैन मैल बाटोको लागी ७ फुट दिन्छु भनेको छु, त्यो म दिन्छु ।’

धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर एबं न्यायिक समिति संयोजक मञ्जु भण्डारी सुबेदीले छलफल गर्ने क्रममा विद्यालय र स्थानीयबीचको टकराबको कारण विवाद निष्कर्षमा पुग्न नसकेको बताइन् । उनले न्यायिक समितिले मिलाएपनि स्थायी समाधान नहुने बताइन् । ‘मेरो गोरुको बाह्रै टक्का भनेकोले समस्या सिर्जना भएको हो,’उनले भनिन् ‘न्यायिक समितिले मिलाएपनि त्यो कति दिन टिक्ला, अदालतमा गएपछि अदालतले स्टे अर्डर गर्न सक्छ, त्यस्ता थुप्रै नजिर छन् ।’

स्थानीयको लागि बाटो महत्वपूर्ण भएपनि विद्यालयको भवन भत्काएर बाटो खोल्नु त्यति उचित नहुने धारणा राखिन् । ‘स्कुल भत्काएर बाटो देउ भन्नु कत्ति न्यायाचित होला, त्यो पनि हेर्नु पर्यो,’उनले भनिन्,‘विद्यालय पनि समुदायको हो र विद्यालयलाई पनि समुदाय चाहिन्छ, यसमा दुबै मिल्नुको विकल्प छैन, कलिला नानीहरु पढ्ने स्कुल यसमा विवाद चर्काउनु हुँदैन ।’