इटहरी : तत्कालिन नेकपा एमाले र नेकपा माओबादी मिलेर बनेको नेकपा पार्टीभित्रै असन्तुष्ट देखिएको छ । सुनसरी नेकपाका कार्यकर्ता स्वयम् पार्टीका कारण आफु मर्न बाध्य पारिन खोजेको आरोप लगाउँदै आएका छन् ।
तत्कालिन नेकपा माओबादीका नेता नवराज मैनालीले पार्टीका केही नेता कार्यकर्ताले आफ्नो बद्नाम गरेर आत्महत्या गर्न बाध्य पारेको आरोप लगाए । मैनालीले भने, ‘पार्टीलाई निश्वार्थ सहयोग गर्ने भन्दा पनि अन्य मानिसहरु हाबी भएका कारण हामीजस्तो जनयुद्ध लडेका मानिसहरुको बद्नाम भईरहेको छ ।’
आफ्नो पारिवारिक सम्बन्धलाई जोडेर पार्टीका नेताहरुले राजनीतिक भविष्य सकिदिएको आरोप लगाए । मैनालीले नामै किटान गरी बर्तमान नेकपाका केन्द्रीय सदस्य निर्मल बराल र इटहरी नगर कमिटी अध्यक्ष बहादुरसिंह तामाङ (ज्वाला) ले पारिवारिक सम्बन्धको प्रयोग गरी राजनीतिक भविष्य सकेको बताए । उनले भने, ‘पार्टीको मानिसले गल्ती गरेको छ भने छलफल गरिन्छ, पत्र काटिन्छ, केही नगरी मेरो राजनीति भविष्य सकिदिए ।’ मैनाली तत्कालिन हाँसपोसा गाउँ पार्टी इन्चार्ज, जनमुक्ति सेनाका पूर्व लडाकु, अखिल नेपाल संघका केन्द्रीय सदस्य समेत भईसकेका उनलाई पार्टीले कुनै पद नदिएकाले आँफू लडाईँमा उत्रन तयार रहेको बताए ।
‘मलाई २०७३ मा निर्मल बरालले पेरिस डाँडामा जनसांस्कृतिक महासंघको कार्यक्रम चलिरहेको अवस्थामा विभिन्न मानिस प्रयोग गरी मलाई महासंघमा नराख्ने निर्णय राखियो,’ मैनालीले आक्रोशमा भने, ‘तत्कालिन समयमा शाही नेपाली सेनाले जिउँदै पुरेर दिएको यातना भन्दा अहिले पार्टीले दिएको यातनाले ज्यादै पीडा भएको छ ।’ उनले पारिवारिक सम्बन्धका कारण आफु ज्यादै पीडामा रहेको सुनाए ।
मैनालीले २०५८ सालदेखि करीब पाँच बर्ष जेलजीवन समेत भोगेका थिए । आतंककारी भनेर सो समयमा आँफूहरुलाई गिरफ्तार गरेर यातना दिएको बताउँदै उनले आँफूलाई जेलमा राखेको भन्दा बढी पीडा पारिवारिक घटना जोडेर बदनाम गर्न खोजेकोमा भएको बताए । मैनालीले हिजोको दिनमा पार्टीलाई आफुले योगदान दिएको र अहिले नेतृत्वमा भने केही नजान्ने मान्छे रहेको आरोप लगाउँदै उनले पार्टीले बाइपास गरेको बताए ।
‘आर्थिक, पारिवारिक अवस्था र पार्टीको वेवास्ताका कारण कति पार्टी कार्यकर्ताहरुले आत्महत्या गरेका छन्,’ उनले गहकिदैँ भने, ‘मलाई पनि अहिले पारिवारिक अवस्था जोडेर बद्नाम गर्ने गरेका कारण आत्महत्या गर्न बाध्य पार्दैछन् ।’ उनले त्यो समयमा नेताहरुलाई हाम्रो भविष्य कहाँ छ भन्दा क्रान्तिमा भविष्य छ भन्दै बन्दुक बोक्न सिकाएको भएपनि अहिले राज्यले मुहार नफेरेको र युद्धमा होमिएकालाई ठाउँ नदिनु दुःखद् रहेको तर्क गरे ।