इटहरी : कोशी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बोले प्रयोग गर्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता समेत रहेका आङ्बोको गाडीले ठक्कर दिएका मोरङको ग्रामथान गाउँपालिकाका प्रवेश चौधरीको मृत्यु भएको हो ।

कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कोरपिओ गाडीको ठक्करबाट घाइते भएका चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी सवार मोटरसाइकललाई ग्रामथान-५ ककडमाडीमा दिउँसो १२ः१५ बजेतिर ठक्कर दिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले बताइन् । 

तीव्र गतिमा रहेको गाडीबाट घाइते भएका चौधरीलाई स्थानीयले उद्धार गरेर उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पठाएका थिए । विराट नर्सिङमै उपचारका क्रममा दिउँसो चिकित्सकले मृत घोषित गरेको डिएसपी चुँडालको भनाइ छ । 

आङ्बोका आफन्तलाई लिनका लागि जाँदै गरेका बेला गाडीले दुर्घटनामा परेको हो । आङ्बो स्वयम् गाडीमा सवार नभएकाले गाडी चालक गम्भिरमान सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।