धरान : जेन-जी प्रदर्शनको नाममा झापामा तोडफोड, लुटपाट र आगजनी गर्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । झापामा इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा तोडफोड, ढुंगामुढा र आगजनी सहित प्रहरीमाथि आक्रमण गर्ने घटनामा उनीहरू संलग्न भएको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बिर्तामोड-५ का २२ वर्षीय राजन चौधरी, २० वर्षीय आयुस धिमाल, कन्काई-१ का ४२ वर्षीय गोपाल सङ्ग्रौला, अर्जुनधारा-७ की २४ वर्षीया पूजा मगर, २८ वर्षीय सुरज मगर, सुनसरी हरिनगर-१ का २२ वर्षीय साहिल अन्सारी र बिर्तामोड-५ का २६ वर्षीय नवराज राई रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका इन्चार्ज डिएसपी प्रकाश कार्कीका अनुसार चौधरी, धिमाल, सङ्ग्रौला, पूजा मगर, सुरज मगर र अन्सारीलाई आपराधिक उपद्रव गरेको कसुरमा पक्राउ गरिएको हो ।
उनले भने ‘उनीहरूले कार्यालय र साना ठुला सवारी साधनमा ढुंगामुढा, तोडफोड तथा आगजनी गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए ।’
पक्राउ गरिएका नवराज राईलाई ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ गरी थप अनुसन्धान भइरहेको छ । उनीमाथि प्रहरीलाई बाँसमा डोरीले बाँधी अमानवीय तवरले झुण्ड्याई विभिन्न स्थानमा घुमाउने कार्यमा संलग्न भएको अभियोग छ ।
प्रहरीका अनुसार घटनामा संलग्न समूहले सार्वजनिक सुरक्षा खतरामा पार्ने गतिविधि गरेको भन्दै कडा कारबाही अघि बढाइएको हो । जिल्ला प्रहरी कार्यालयले समुदायलाई शान्ति र सुरक्षाका लागि सतर्क रहन आग्रह गरेको छ ।


































































