धरान: चित्रकलाको संरक्षण तथा विकास गर्ने र विद्यालय तथा कलेजस्तरबाट नयाँ प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले धरानमा ४ दिने चित्रकला मेला आयोजना हुने भएको छ ।

धरान उपमहानगरपालिकाअन्र्तगतको धरान प्रज्ञा प्रतिष्ठानले असोज ३ गतेदेखि ६ गतेसम्म चित्रकला मेला आयोजना गर्ने भएको हो । चित्रकला मेलामा शुरुवाती २ दिनमा कार्यशाला हुनेछ भने पछि २ दिन प्रर्दशनी हुनेछ । कार्यशालामा धरानका विभिन्न संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरु सहभागी हुने प्रतिष्ठानले जनाएको छ । मेलामा एक विद्यालयबाट २ जना विद्यार्थी सहभागी हुनेछन् ।

मेलामा प्रदेश १ का विभिन्न जिल्लाबाट २० जना अग्रज चित्रकारहरुले आफ्नो अनुभव आदनप्रदानसँगै सहभागी विद्यार्थीहरुलाई चित्रकला पनि सिकाउनेछन् । चित्रकला बनाउन वाटर कलर प्रयोग गरिन आयोजक संस्थाका अध्यक्ष अम्बिका सम्बाहाम्फेले जानकारी दिए । ‘चित्रकला सिर्जनाको बिषयबस्तु धरानको पर्यटन प्रर्वद्धन गर्नको लागि धरान र आसपासको पर्यटकीय महत्वको भुवनोट, दृष्य, साँस्कृतिक तथा सामाजिक पहिचान झल्काउने हुनेछन्,’सम्बाहाम्फेले भने,‘अग्रज चित्रकारहरुले कार्यशालामा आफ्नो अनुभवसँगै सैद्धान्तिक र व्यवहारिक ज्ञान पनि दिनेछन्, र क्यानभासमा सृर्जना पनि उतार्नेछन् ।’

चित्रकला कार्यशालाको लागि पेपर र कलरहरु आयोजकले नै उपलब्ध गराउने कार्यक्रमका संयोजक गोपाल देवानले जानकारी दिए । उनका अनुसार चित्रकला मेलामा माविस्तरका निजी र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराइनेछ । यस्तै, अन्य ४ वटा कलेजबाट पनि विद्यार्थी सहभागी हुनेछन् । यसको लागि सबै शैक्षिक संस्थामा पत्राचार गरिएको र बुधबार दिउँसोसम्म ६० विद्यार्थीहरुको नाम दर्ता भइसकेको संयोजक देवानले बताए ।

कार्यशाला असोज ३ र ४ गते धरान सभागृहमा हुनेछ भने त्यहाँ सृर्जना गरिएका चित्रहरुको प्रर्दशनी असोज ५ र ६ गते धरान १२ स्थित अमान बजारमा हुनेछ । ‘भाषा, कला, साहित्य, रंगकर्म, चित्रकलालगायतको संरक्षण,संर्वद्धन र विकासको लागि विद्यालयस्तरमा ध्यान दिएका छौं,’प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सम्बाहाम्फेले भने ।

१० वटा शिर्षकमा ५० लाख विनियोजन

चालु आर्थिक बर्षमा धरान प्रज्ञा प्रतिष्ठानले ५० लाख बजेट पाएको छ । उक्त बजेटमध्ये २५ लाख उपमहानगरबाट हो भने २५ लाख प्रदेश सरकारबाट आउने बजेट हो । उक्त बजेटलाई विभिन्न १० वटा शिर्षकमा बाँडफाट गरिएको प्रतिष्ठानले जनाएको छ ।

अध्यक्ष सम्बाहाम्फेका अनुसार कार्यालय सञ्चालनमा ५ लाख, नृत्य कार्यशाला तथा महोत्सवको लागि ४ लाख ५० हजार विनियोजन गरिएको छ भने प्रदेशस्तरीय नाटक महोत्सवको लागि १५ लाख विनियोजन गरिएको छ । यस्तै, बहुभाषिक कविता गोष्ठीलाई १ लाख, ललितकला चित्रकला कार्यशाला तथा प्रर्दशनी(चित्रकला मेला)लाई ३ लाख र विद्यार्थीस्तरीय कतिवा गोठीलाई १ लाख ५० हजार विनियोजन गरिएको उनले जानकारी दिए ।

यस्तै, संगीत क्षेत्रको लागि ५ लाख, स्मारिका प्रकाशनको लागि २ लाख विनियोजन गरेको छ भने साहित्य, सँस्कृति तथा अन्य कला क्षेत्रलाई सहयोगको लागि १२ लाख र साहित्यिक रचना प्रकाशनको लागि १ लाख विनियोजन गरिएको प्रतिष्ठानले जनाएको छ । ‘सबैको सल्लाह लिएर पहिला जस्तो बजेट छरेनौं, यसपालीदेखि प्रदेशस्तरीय कार्यक्रम पनि तर्जुमा गरेका छौं । नाट्य महोत्सव यसपाली हुन्छ, अर्को बर्ष साहित्य, नृत्यसँग सम्बन्धित प्रदेश वा राष्ट्रियस्तरकै कार्यक्रम गर्नसक्छांै,’प्रतिष्ठानका सदस्य देवानले भने ।