धरान: मंसिर १४ गतेको उपनिर्वाचनमा जित दर्ता गराउन राजनीतिक दलहरुबीच रस्साकस्सी चलिरहेको छ । एकअर्कालाई आरोप प्रत्यारोप गर्नेदेखि मतदाताहरुको भोट तान्न आश्वासन बाँड्ने काम भइरहेको छ ।
धरानमा कुल ९२ हजार ८ सय ५३ मतदाता छन् । ती मतदाताहरु मध्ये अत्यधिक संख्यामा सुकुम्बासी मतदाताहरु छन् । धरानको हरेक जसो निर्वाचनमा यहाँका सुकुम्बासी मतदाताहरु निर्णायक देखिएको छ । त्यसैले यसपालीको उपनिर्वाचनमा पनि सुकुम्बासी मत कता ढल्केला ? यो सर्वाधिक चासोको बिषय भएको छ । धरानमा कुल २४ हजार हाराहारीमा सुकुम्बासी भोट रहेको छ ।
नेपाल बसोबास वस्ती संरक्षण समाजका अनुसार धरानमा कुल ७४ वटा सुकुम्बासी वस्ती छ । त्यहाँ १२ हजार २ सय ६६ घरधुरी छन् भने कुल ५६ हजार ८ सय हराहारीमा जनसंख्या छन् । ती मध्ये २४ हजारको संख्यामा मतदाता छन् । विगतको निर्वाचनहरुमा कम्युनिष्ट पार्टीले जित हासिल गर्नुमा सुकुम्बासीको यही मत निर्णायक देखिदै आएको छ । मजदुर, गरिबहरुको पार्टी कम्युनिष्ट हो भन्ने छाप छ ।
यसपाली नेपाली कांग्रेसले सुकुम्बासी वस्तीमा निरन्तर गतिविधि गरेबाट पनि यो वर्गको मत कति महत्वपुर्ण छ भन्ने अनुमान लगाउन सकिन्छ । विगतमा सुकुम्बासी वस्तीमा कांग्रेसको प्रभाव र संगठन न्युन थियो । यसपटक धरानको सुकुम्बासी बस्तीमा कांग्रेस छिर्ने प्रयास गरिरहेको छ । प्रभावशाली नेता तथा केन्द्रीय सदस्य शेखर कोइराला त २ दिनसम्म धरानमा रहदा सुकुम्बासी बस्तीमा मत माग्न पुगेका थिए । कांग्रेसले सुकुम्बासी वस्तीमा संगठन विस्तारदेखि चुनावी अभियान केन्द्रीत गरेबाट निर्वाचनमा सुकुम्बासी मतको महत्व प्रष्ट हुन्छ ।
सुकुम्बासी मतदाताहरु मध्ये २५ प्रतिशत मात्र प्रत्यक्ष राजनीतिक दलसँग जोडिएको नेपाल बसोबास बस्ती संरक्षण समाजका महासचिव कुमार कार्की बताउँछन् । बाँकी ७५ प्रतिशत मतदाता स्वतन्त्र(न्युट्रल) भएको उनको भनाई छ । ‘अहिले नै पनि सर्वे गर्ने हो भने पनि ७५ प्रतिशत सुकुम्बासी मत न्युट्रल छ, त्यो नै निर्णायक हुन्छ,’उनी भन्छन्,‘अहिले नेकपा र कांग्रेसमा यिनै न्युट्रल सुकुम्बासी मत तान्ने होडबाजी छ ।’
धरान आदिबासी जनजातिको बाहुल्य सहर हो । पहिचानको राजनीति गर्ने संगठनहरुको केन्द्र पनि हो धरान । त्यसैले यहाँको चुनावमा जातीय समुदायको मतले पनि प्रभाव पार्ने आँकलन गरिन्छ । धरानमा राई जातिको सघन बसोबास छ । २०७४ को चुनावमा उम्मेदवार हुँदा कांग्रेस उम्मेदवार तिलक राई किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष थिए । त्यसैले उनलाई राई समुदायले भित्रभित्रै सघाएको थियो । तर, पनि उनले जित्न सकेनन् । यसपाली नेकपा र कांग्रेस दुवैबाट राई समुदायका उम्मेदवार भएकोले जातीय संस्थाहरुले कुनै एक उम्मेदवारलाई समर्थन गर्ने अवस्था छैन ।
राई पछि धरानमा नेवार जातिको बाहुल्यता छ । नेवार जातिको अधिकांश भोट कांग्रेसको भएको मानिन्छ । तर, यो जातिमा कम्युनिष्टहरुको पनि पकड राम्रै छ । लिम्बु जातिको भोट पनि अहिलेसम्म लिम्बुलाई मात्र जाने गरेको देखिएको छैन । जातीय नारा दिने लिम्बुवान, खम्बुवानका उम्मेदवारहरुले विगतको चुनावमा पाएको मतले पनि यहाँ जातीय भोट ज्यादै नगन्य प्रतिशत मात्र खस्ने गरेको देखिन्छ । राजनीतिक विश्लेषक डा.शर्मा धरानका मतदाताहरुमा वामपन्थी र प्रजातन्त्रवादी रुझान नै बढी भएकोले जातीय मतले परिणाम उल्टाउन नसक्ने बताउँछन् । ‘जातको प्रभावमा खस्ने मत नगन्य प्रतिशत मात्र हुन्छ, त्यसले परिणाम उल्टाउन सक्दैन,’डा. शर्मा भन्छन् ।
किरात राई यायोक्खा सुनसरीका अध्यक्ष वलराम राईको विचार पनि डा.शर्माकै विश्लेषणसँग मेल खान्छ । अध्यक्ष राईका अनुसार यायोक्खाले कसलाई भोट हाल्ने भनेर संस्थागत निर्णय नगरी स्वविवेक प्रयोग गर्न दिइएको छ । उनी जात हेरेर भोट हाल्छन् भन्ने नभएको बताउँछन् । ‘जात हेरेर भोट दिने भए पहिला नै तिलक राईले र संघीय चुनावमा अशोक राईले जित्नुपर्ने थियो, त्यस्तो भएन । नगन्य मत मात्र त्यसरी जान्छ, अरु त राजनीतिक आस्थाकै आधारमा जान्छ,’उनले भने ।