नेपालमा विभिन्न सम्वतहरू प्रचलनमा रहेका छन् । स्मरणीय छ, केही संवत्-बाहेक ती सबै सम्वतहरू नेपालका आदिवासी जनजातिहरूसँग सम्बन्धित रहेका छन् । तर, हालसम्म नेपाल सरकारले राज्य स्तरमा मान्यता दिएको र आम प्रचलनमा रहेको संवत् भने विक्रम संवत् हो । राज्यले विक्रम संवत्-बाहेक अरू संवत्हरूलाई मान्यता नदिए तापनि साथै नेपालमा आम रूपमा प्रचलनमा नरहे पनि नेपालका विभिन्न समुदाय र जातजातिमा प्रचलित तथा नेपालको इतिहासको विभिन्न कालखण्डमा प्रचलित विभिन्न साल र संवत्हरूका बारेमा छोटो जानकारी दिने प्रयास गरिएको छ ।
विक्रम संवत् -
हाल नेपाल र भारतको राष्ट्रिय संवतको रूपमा प्रचलनमा रहेको यो संवत् भारतको तत्कालीन उज्जैन राज्यका राजा विक्रमादित्यले चलाएको वा विक्रमादित्यको नाममा चलाएको संवत् मानिन्छ । यो संवत् वैशाख महिनाबाट सुरु भई चैत्रमा अन्त्य हुन्छ । तर, यो संवत्को राष्ट्रियता र वैज्ञानिकतामा केही मान्छेहरूले प्रश्न उठाउँदै आएका छन् । हुन पनि चन्द्र शमशेर नेपालको श्री ३ महाराज हुनुअघि नेपालमा ‘नेपाल संवत्’लाई नेपालको राष्ट्रिय संवत्को रूपमा प्रचलनमा रहेको देखिन्छ । जे भए तापनि चन्द्र शमशेर नेपालको श्री ३ महाराज भएदेखि यता नेपालमा यही विक्रम संवत् नै राष्ट्रिय संवतको रूपमा प्रचलनमा रहेको छ । यही वैशाख १ गतेदेखि २०७७ नयाँ संवत् सुरु भयो ।
यले दोङ-
किराँत संवत् माथि उल्लेख गरे झैँ नेपालका विभिन्न साल-संंवत्हरूमध्ये हालसम्मको पुरानो साल–संवत् हो– ‘किराँत वा भनौँ यले दोङ संवत् ।’ कुलुङ जातिले यो संवत्लाई ‘यले दोङ’ भन्छन् भने लिम्बु जातिले येले तङ्बे र कोइँच (सुनुवार) जातिले यले थोचे भन्छन् । स्मरणीय छ, कुलुङ समुदायहरूको जीवन–चक्रअनुसार यो संवत् गएको पुस १५ गतेदेखि ५०८० सुरु भएको छ । त्यस्तै, कुलुङ जातिको जीवन चक्रअनुसार पहिलो महिनाको नाम हो- ‘चाक्चाकूर ।’ यो भनेको विक्रम संवत्को पहिलो महिना ‘वैशाख’ भने जस्तै हो । यो संवत् सबै किराँती जातिलगायत हायु, थामी, सुरेल, जिरेल, धिमाल आदिले पनि मान्छन् । तर, यले दोङ/संवत्लाई मूलधारका मिडियाहरूले अपेक्षित रूपमा प्रचार नगरी दिनाले सबैभन्दा पुरानो भएर पनि ओझेलमा परेको छ । हुन त सबैभन्दा पुरानो संवत्को कुरो गर्दा नेपालको सबैभन्दा पुरानो संवत् कलिगत संवत् हो भन्ने गरिन्छ ।
बुद्ध संवत्-
तत्कालीन कपिलवस्तुका राजा शुद्धोदनका छोरा अर्थात् युवराज सिद्धार्थ गौतम नै पछि गएर गौतम बुद्ध भएर निस्किए । उनले राजकाज र, ऐयसी जीवनलाई त्यागेर बुद्धत्व प्राप्त गरेका थिए । उनले त्यो बेलाको मान्छेको दुःख, कष्ट, बुढ्यौली, मृत्यु आदि देखेर नै सान्सारकि जीवन त्यागेर ध्यानमा लीन भई बुद्धत्व प्राप्त गरेका हुन भन्ने भनाइ रहेको छ । त्यसैले पछि गएर उनलाई बुद्ध भनियो भने उनका चेलाहरूले बुद्धको नाममा बुद्ध संवत् चलाए । यो संवत् हरेक जेठ पूर्णिमामा सुरु हुन्छ ।
नेपाल संवत् -
यो संवत् भक्तपुरका महाजन शङ्खधर शाख्वाले चलाएका हुन् भन्ने भनाइ छ । कथनअनुसार, लिच्छवीकालमा राज ज्योतिषीले भचाकुसी (टेकु दोभान) को बालुवा सुनमा परिणत हुन्छ भनेर राजालाई सुनाएपछि राजाले भरियाहरू पठाई टेकु दोभानको बालुवा आफ्नो दरबारमा ल्याउन पठाएका थिए । तर, उक्त कुरो शङ्खधर शाख्वाले पहिले नै चाल पाएकाले उनले ती भरियाहरूलाई फकाएर वा भनौँ लालचमा पारेर भरियाहरूलाई आफ्नो घर तर्फ लगे । त्यसपछि उनले सबै गरिबहरूलाई ऋण मुक्त गराएकाले उनको नाममा राजा राघवदेवले चलाएका हुन् भन्ने कथन
छ । यो संवत् गत कात्तिकको ‘म्ह पूजा’देखि ११४० सुरु भयो ।
ईस्वी संवत् -
यो संवत् जिसस क्राइस्टका प्रर्वतकहरूले सुरु गरेको मानिन्छ । हाल संसारभरिका अधिकांश देशले यो संवत्लाई राष्ट्रिय संवत्का रूपमा चलाएर आत्मसाथ गरेका छन् भने, स्वर्गीय डाक्टर हर्क गुरुङले नेपालले पनि यो संवत्लाई नै मान्दा सहज हुने बताउने गरेका थिए । उनले गुरुङ जातिलाई पनि ईस्वी संवत्लाई नै मान्नुपर्ने सुझाव दिएका छन्, उनले लेखेको ‘जननाति सेरोफेरो’ नामक किताबमा । यो संवत् गत जनवरीदेखि २०२० सुरु भएको छ ।
बिसी-
यो संवत् जिसस क्राइस्ट जन्मिनुभन्दा अगाडि प्रचलनमा थियो । र, नै बिसी अर्थात् ‘बिफोर क्राइस्ट’ अर्थात् बिसी भनिएको हो ।
अंशुवर्मा संवत्-
यो संवत् अंशुवर्माले आफू महासामन्त भएपछि राजा शिवदेवको पालामा चलाएका हुन् । केही इतिहासकारहरूका अनुसार, ललितपुरको बुङमती नजिकको शिलालेखमा अंशुवर्मा संवत् २९ लेखिएको भेटिएको छ ।
माथि उल्लेख गरिए बाहेक नेपालमा मिथिला संवत्, थारु, तामाङ, गुरुङ, शेर्पा आदि जातजातिको पनि आ–आफ्नै संवत्हररू रहेका छन् । नेपालमा पृथ्वी संवत् (अन्तर्राष्ट्रिय मञ्च नामक प्रकाशन संस्थाले) पृथ्वी संवत्लाई पनि जोडतोडले आफ्नो प्रकाशनमा प्रचारप्रसार गर्ने गरेको छ ।
नयाँ वर्ष आएको थाहा नै भएन !
इमान जमानका साथ भन्नु पर्दा यो वर्ष त नयाँ वर्ष (विक्रम संवत् २०७७) आएको पनि मलाई थाहा नै भएन ! सायद मलाई जस्तै नेपालका धेरैजसो इतिहासकार, प्राडा, लेखक, विश्लेषक, पत्रकार तथा पत्रपत्रिका र अनलाइन मिडियाकर्मीहरुलाई थाहा भएन कि ? किनभने, हामी नेपाली र नेपाल राष्ट्रले नै आधिकारिक रूपमा मान्दै र प्रचलनमा ल्याउँदै आएको नयाँ वर्ष २०७७ अर्थात् ‘विक्रम संवत् २०७७’ बारे विगतमा जस्तो यो वर्ष प्रशस्त लेख, रचना र समाचारहरू लेखिएको/छापिएको देखिएन ।
सम्भवतः अहिले विश्वलाई नै त्राहिमाम् ! बनाई रहेको कोरोना (कोभिड १९) को महामारीको भाइरसका कारण यस्तो भएको हुन सक्छ । यस्तो अवस्थामा कतिपय इतिहासकार, प्राज्ञ, लेखक तथा विश्लेषकहरूले लेख्ने वातावरण बनाउन सक्नु भएन होला । कतिपय इतिहासकार, प्राज्ञ, लेखक र विश्लेषकहरूसँग लेख्ने भाँडो जस्तै डेस्कटप, कम्प्युटर, ल्यापटप आफूसँग थिएन/भएन होला ।
यसरी हेर्दा हाल विश्वलाई नै त्राहिमाम् ! बनाई रहेको महामारीको अवस्थामा कतिपय इतिहासकार, प्राज्ञ , लेखक र विश्लेषकहरूले ‘आहा ... यसपालि भई गो, नमरी बाँचे कोरोनाले साँचे अर्को वर्ष लेखौँला !’ भनी लेखेनन् होला ! खै र! जे सुकै होस्, यो कुरोलाई यहीँ छाडौँ ।
हाम्रो देश नेपालमा राज्यले मान्यता दिएको र आधिकारिक रूपमा देश व्यापी प्रचलनमा रहेको संवत् ‘विक्रम संवत्’ हो। जुन संवत् यही वैशाख १ गतेदेखि २०७७ सुरु भयो । त्यसो त हालको नयाँ पुस्तामा राष्ट्रले मान्ने गरेको नयाँ वर्ष विक्रम संवत्भन्दा पनि ह्याप्पी न्यु इयर अर्थात् ईस्वी संवत्लाई धुमधामका साथ मनाउने प्रचलन बढ्दै गएको देखिन्छ । अहिलेका पुस्ताका युवाहरूलाई वैशाखमा सुरु हुने नेपाली विक्रम संवत्लाई भन्दा अंग्रेजी नयाँ संवत्लाई बढी प्राथमिकता दिने प्रचलन बढ्दो क्रममा देखिन्छ । यसले गर्दा नयाँ पुस्तामा राष्ट्रियताको भावनामा कमी आएको त होइन ? प्रश्न उठाउन सकिन्छ । माथि एक प्रसङ्गमा भनिए झैं आम रूपमा प्रयोग गर्न सजिलोका लागि ईस्वी संवत्लाई नै आधिकारिक रूपमा प्रचलनमा ल्याउनुपर्ने भन्ने आवाज पनि उठ्ने गरेको छ । जे होस् हाम्रो देश नेपाल भूगोलको आधारमा सानो भए तापिन यहाँका विभिन्न जातजाति र भाषा भाषीका मानिसहरूका समेत आ–आफ्नै साल र संवत्हरु रहेका छन् । यो भनेको विविधता चाहनेहरूका लागि धेरै राम्रो र गर्वको कुरो हो । भलै व्यवहारिक रूपमा ती सबै साल-संवत्हरूलाई सार्वजनिक रूपमा प्रचलनमा ल्याउन सकिँदैन । त्यसो भए तापनि हामीले सबै जातजाति तथा भाषा/भाषीका साल र संवत्हरूलाई बचाउने काम भने गर्नुपर्ने देखिन्छ । तर, यी सब काम गर्नका लागि नेपालका आदिवासी जनजाति, नेपालका सबै भाषा, नेपालका सबै धर्म, संस्कार, संस्कृति रीतिरिवाज जसले माने तापनि राज्यको निधि हो भन्ने उदार ह्रदय भएका शासकहरू नआएसम्म वा शासकहरूले त्यो ढङ्गले खुल्ला हृदयले स्वीकार नगरेसम्म विदेशबाट आयातित नै भए पनि ब्लड रिलेसन, कल्चरल रिलेसन र अन्य आधारमा भारत उज्जैनको राजा विक्रमादित्यको नाममा चलेको वा विक्रमादित्यले चलाएको विक्रम संवत् नै नेपालको राजकीय संवत् हुने छ । तर, बिचराहरू लिपिलुट ! हलुको कथित राष्ट्रवाद र राष्ट्रीयता भने कायमै रहने छ।