टहरी प्रदेश १ कै चर्चित उपमहानगरपालिका हो । जनप्रतिनिधि देखी राजनैतिक गतिविधिले चर्चामा आइरहने सहर हो इटहरी । प्रदेश १ को केन्द्र मानिने इटहरीको विकास र परिवर्तन इटहरी बाहिरका लागी पनि त्यत्तिकै महत्त्वपूर्ण मानिन्छ । यहाँका जनताको अपेक्षा र जनप्रतिनिधिको कार्यशैलीको तारतम्यको अवस्था कस्तो छ ? घोषणापत्र अनुसारको काम किन हुन सकेन ? समस्या केमा छ ? नेकपाले बनाउन चाहेको इटहरी कस्तो हो ? यिनै  विषयमा केन्द्रित रहेर नेकपाका इटहरी उपमहानगर इन्चार्ज केशव विष्ट सँग विनय बाह्रकोटीले गरेको कुराकानी ।

राखेप सदस्य सचिवबाट बाहिरिएपछि अहिलेको राजनैतिक सक्रियता कसरी अगाडी बढीरहेकोछ ?

म अहिले रिटायर भएपछि पार्टीले दिएको जिम्मेवारीको काम गरिरहेको छु । हाल म नेकपाको प्रदेश १ सचिवालय सदस्य छु । इटहरी उपमहानगरको इन्चार्ज छु । मलाई पार्टीले विश्वास गरेर दिएको जिम्मेवारी पुरा गर्ने काममा लागी परेको छु । इटहरीको पार्टी कमिटी र यहाँको स्थानीय सरकारको पनि अनुगमन र निर्देश गर्नुपर्ने हुन्छ । अहिले त्यसै काममा व्यस्त छु । जनतामा केही निराशा बुझेर आशा जगाउने काममा लागी रहेको छु ।

खेलकुद र राजनीतिमा कस्तो फरक पाउनुभयो ?

खेलकुदमा नैतिकता हुन्छ तर राजनीतिमा नैतिकता तोडिन्छ । राजनीतिमा इमान्दार मान्छेहरू धेरै टिकेको देखिँदैन । तर नैतिकता र इमान्दारीताको साथ काम गर्‍यो भने सफल भइन्छ भन्ने कुरा खेलकुद बाट सिक्न सकिन्छ ।

इटहरीका जनप्रतिधिसंग तपाईँको अपेक्षा के थियो ? त्यो पुरा हुने सम्भावना कतिको देख्नुहुन्छ ?

इटहरी नेपालको तेस्रो सहर हुने सम्भावना बोकेको सहर हो । काठमाडौँ पछि बुटवल र त्यसपछि इटहरी नै हो । तर यस्तै गतिविधिले केही पनि हुँदैन । अलिक नयाँ तरिकाले काम गर्नुपर्छ । इटहरीमा जुन मिश्रित समुदायको बसोबास छ त्यो इटहरीको लागी ठुलो सबल पक्ष हो । एउटै जातीको मात्र बाहुल्य नभएकोले इटहरीमा छिटो विकास हुने सम्भावना छ । यातायात देखी सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धको हिसाबमा पनि इटहरी गोल्डेन अवसर बोकेको सहर हो । त्यसको उपयोग हुनुपर्ने थियो भएन ।

तपाईँले देख्नु भएको समस्या के हो ? त्यसको व्यवस्थापनमा नेकपाको तयारी के छ  ? 

इटहरीमा धेरै समस्या छन् । नेकपाको सङ्गठन देखी शैलीमा पनि समस्या छ । अहिलेको अवस्थामा जनप्रतिनिधिको बोली बचन, कार्यशैलीले काम गर्ने परम्परा लगायत कारण असफलता उन्मुख भएकै हो । तर पनि केही काम त भइरहेकै छ । अहिले त्यसलाई कसरी मिलाउनेमा लागेका छौ । अन्तर पार्टी समन्वय नहुने र मिडिया सँगको वायसनेसलाई मिलाउन लागी परेको छु । जनप्रतिनिधिले विगतको कामको आत्मालोचना गर्ने काम गर्नुपर्छ । 

यसमा नेकपा पार्टीको भूमिका केही हुन्न ?

हुन्छ । पार्टीको तर्फबाट निर्देशन दिएका छौ । तपाईँहरूको गतिविधि सुधार्नुहोस् भनेर निर्देशन दिएका छौ । वहाँहरूले पनि हामी सुधार्छौ भन्नुभएको छ ।

समस्या किन भएको रहेछ ?

यो भनेको नेतृत्वको शैलीमा भर पर्छ । धेरै अन्तर्विरोध छन् । त्यसमा खेल्ने हैन मिलाउने हो । नेतृत्वले व्यवस्थापन गर्न जान्नुपर्छ । त्यो नजान्दा समस्या हुन्छ ।

भनेको अहिलेको नेतृत्व असफल भयो ?

विकासको लागी कामना हैन काम गर्नुपर्छ, कल्पना गरेर हैन । सबै मान्छेलाई समेट्न सक्नुपर्छ । नेतृत्वमा विश्वसनीयता हुनुपर्छ । केन्द्र देखी अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध बढाउन सक्ने क्षमता हुनुपर्छ ।

इटहरीमा अब कसले अनुदान दिन्छ ? मैले सुनेको इटहरी उपमहानगरको नाममा पसलेले बाकी पनि दिन छाडी सके रे । इटहरीको बारेमा के अनुसन्धान भयो ? सम्भावनाको अध्ययन कसरी भइरहेको छ ? केही भएकै छैन । अनि विकास भनेर मात्र हुँदैन । आफूसँग सम्भाव्यता अध्ययन भएको रिपोर्ट चाहिन्छ अनीमात्र दाताहरू सँग गएर प्रपोज गर्न सकिन्छ ।

समस्या पार्टीमा पनि होला नि ? एउटा उपमहानगरमा विधान विपरीत दुई जना इन्चार्ज कसरी भयो ?

अहिलेको तदर्थ समिति हो । जिल्लाले आफ्नो लागी सूचना लिन वा निर्देशन दिन इन्चार्ज तोकेको हो । प्रदेशले आफ्नो आवश्यकताको लागि बनाएको हो । जिल्लाले आफ्नो प्रतिनिधित्व खोजेको हुनसक्छ । पहिला जिल्लाले तोकेको थियो । पछि प्रदेशले तोक्यो । व्यवहारिक हिसाबमा हेर्दा राम्रो छ । विधानको कुरा आइरहेको । तर व्यवहारिक रूपमा मिलाएर लैजानुपर्छ ।

आफ्नो राजनैतिक यात्रा कस्तो देख्नुहुन्छ ?

मेरो के स्वभाव छ भने, मेरो परिभाषित जिम्मेवारीमा म प्रथम हुन्छु । अरूको काममा म कहिल्यै हात हाल्दिन र मेरो काममा अरूलाई पहिलो हुन दिन्न । म जहाँ छु त्यहाँ उत्कृष्ट हुने कोसिस गर्छु । मैले सुरुमा कर्मचारी भएर ४ वर्ष काम गरे । त्यहाँ पनि ४ बर्षनै उत्कृष्ट कर्मचारीबाट पुरस्कृत भए । कलाकारितामा म एक्टीङ मा गोल्ड मेडलीस्ट हुँ । पछि युवासंघ सुनसरीमा आउँदा देश भरीको उत्कृष्ट जिल्ला कमिटी बनाएँ । युवासंघको अञ्चल संयोजक हुँदा देखी हरेक चुनावमा उत्कृष्ट प्रफमेन्स गर्ने गरेको छु । धेरैलाई मेरो सक्रियता मन पर्दैन र उनीहरू मेरो विरुद्धमा लाग्छन् । अहिले पनि म गाउँ गाउँमा काम गर्न लागी रहेको छु । धेरै जनताले तपाईँले इटहरीको नेतृत्व सम्हाल्नुपर्‍यो भनेर भनी रहेका छन् । मान्छेले जतिसुकै रिस गरे पनि मेरो क्षमतामा कमी आउँदैन । म काममा विश्वास गर्छु ।

पार्टी एकताले पूर्णता नपाउँदा सङ्गठन निर्माणमा समस्या भएको हो ?

त्यो देखिन्छ । खासमा भन्नुपर्दा दुई पार्टी बिच प्राविधिक एकता त भयो । तर भावनात्मक एकता हुन अझै बाकी छ । अब पुर्वपार्टीबाट भन्दा माथि उठेर महाधिवेशन गराउने तर्फ नेतृत्व अगाडी बढ्नुपर्छ । जुन स्थानीय तहमा पनि सुरुवात गर्न जरुरी छ । एउटै घरमा पनि कोही बाबु सँग कोही आमा सँग नजिक हुन्छ । पार्टीमा पनि स्वभाव र बिचारको आधारमा नजिक टाढा हुने भन्ने हुन्छ । तर पार्टीको एकता प्रक्रिया टुङ्गो लागी नसकेको हुनाले पूर्ण एकता भइसेको छैन । अब बिस्तारै मिल्दै जान्छ ।

इटहरीमा नेकपा झनै कमजोर भयो भन्ने हल्ला सुरु भएको छ नि ?

त्यो हल्ला मात्रै हो । यहाँ कस्तो सम्म हल्ला फैलियो भने अर्को चुनाव नेकपाले जित्दैन भन्दै हिँड्न थाले । एमाले कमजोर भयो भन्दै हिँड्नु कल्पना मात्र हो । एमाले कहिल्यै कमजोर छैन र हुँदैन पनि । एमालेको प्रभाव घटेको छैन । एउटा व्यक्तिको कारण कुनै असर गर्दैन । जसले मागे तर पाएनन् तिनीहरुलेनै सामाजिक सञ्जालमा बढी हल्ला गरी रहेका छन् । अवसरवादी मान्छहरुले बढी हल्ला फैलायो । यस्तो कुरा बेमौसमी कुरा हुन् । 

तपाईँलाई पनि अवसरवादीको आरोप छ । युवालाई प्रयोग मात्र गर्नुहुन्छ र पछि वास्ता गर्नुहुन्न भन्छन् नि ?

त्यस्तो हैन । पहिला एमाले हुँदा इटहरीको जति पनि युवाहरूको सङ्गठन छ त्यो म आफैले बनाएको हो । पछि धेरै युवाहरू मेरो छोराहरूको कारणबाट जोडिए । पहिला म सँगै काम गर्ने युवाहरू म काठमाडौँ गएपछि टाढा भए । मैले भनिहाले म जहाँ लाग्छु त्यसैमा शतप्रतिशत समय दिन्छु । सदस्य सचिव हुँदा स्थानीय राजनीतिमा समय दिन सकिन र मलाई त्यस्तो आरोप लगाएका हुन् । साथीहरूको के हुन्छ भने, जागिर को कुरा गर्छन् । अहिले त्यस्तो हुँदैन बल प्रयोग गरेर वा कानुन मिचेर काम गर्न सकिँदैन अनि साथीहरू रिसाएका होलान् । म माथि गएकोले रिसाउने पनि छन् । परिभाषित जिम्मेवारी पुरा गर्नुपर्ने हुन्छ । त्यसको मात्र मुल्यानकन हुन्छ । उसको आर्थिक उपार्जनको बाटो हुँदैन । युवाहरूलाई मैले सुरुदेखीनै भन्दै आएको कुरा हो आर्थिक बाटो बलियो बनाएर राजनीतिमा लाग्नुहोस् ।

इटहरी रङ्गशालाको विषयमा तपाईँले मात्र जस लिनुभयो भन्ने पनि छनी ?

हुन त यसको सुरुवात म आफैले गरेको हो । म सदस्य सचिव हुँदा २३ करोडको योजना हो । पछिल्लो समय गर्दा ३२ करोड खर्च भयो होला । म सदस्य सचिव हुँदै यसको सम्पूर्ण काम गरेको हुँ । यसको लागी सुरुमा म एक्लै कुदेको हुँ । पछि काठमाण्डौमा फायल अड्किए पछि आन्दोलन चर्काउन लगाएको हुँ ।

रङ्गशाला मात्र भएर हुन्छ ? खेलाडी बिनाको रङ्गशालाको अर्थ रहला र ?

हैन । पहिला जे अभाव थियो त्यो गर्ने हो । मैले मात्र सबैतिर ध्यान दिन सकिन । मैले केन्द्रमा बसेर इटहरीमा खेलाडी उत्पादन गर्ने हैन नि । यहाँका विभिन्न सङ्घहरू छन् उनीहरूले प्रभावकारी काम नगरेर यस्तो भएको हो । स्थानीय जनप्रतिनिधिले गर्नुपर्ने थियो । त्यो गरेनन् ।  मैले काम गरेकै कारण ५१ वटा गोल्ड मेडल जिताउन सफल भए ।

त्यति धेरै बजेट भएको रङ्गशाला उपभोक्ता समितिबाट गर्नुपर्ने के जरुरी थियो ? अनियमितता भएको भन्ने हल्ला छ नि  ?

त्यस्तो हैन । एकै चोटि पैसा आएन । धेरैतिर बाट मिलाएर बजेट ल्याएको हो । यो एक पटकको बजेटमा बनेको हैन । धेरै पटकको बजेटमा बनेको हो । पछि प्यारा फिट बनाउने काम टेन्डरमा भयो । १ करोडभन्दा माथिको चाहिँ टेन्डरबाट गर्ने हो । उपभोक्ता समिति बाट गर्दा उपभोत्ताहरु आफै जागरूक हुन्छन् । त्यसको बारेमा अपनत्व महसुस हुन्छ । रेखदेख गर्छन् काम गर्छन् त्यो भएर उपभोक्ता बाट गरेका हौ । काम समयमा सम्पन्न होस भन्नको लागी र गुणस्तरीय काम होस् भन्नको लागी यो सब गरिएको हो ।