धरान : नेकपा एमाले ११ औँ राष्ट्रिय महाधिवेशनको छलफलका क्रममा धरान नगर पार्टी कार्यालयमा दुई गुटबिच विवाद हुँदा ईश्वर पोखरेल गुटका अनिल राजधामी कुटिएका छन् ।
नगर पार्टी कार्यालयमा आज बिहीबार दिउँसो महाधिवेशनमा युवा प्रतिनिधिका उम्मेदवार आन्तरिक सहमतिबाट तय गर्ने कि निर्वाचनबाट जानेबारे छलफल भइरहेका बेला विवाद सुरु भएको एमाले कार्यकर्ताले बताएका छन् ।
विवादपछि राज धामीलाई पार्टी कार्यालयबाट नेपाल बैङ्क छाता चोकतर्फ घिसार्दै कुटपिट गरिएको प्रत्यक्षदर्शीहरूले बताए । घट्नामा नजिकैको टेलर्स पसलबाट कैँची लिएर राजधामी माथी प्रहार गर्न खोजिएको थियो । तर बचाउ गर्नेहरूले रोकेर अप्रिय घटना हुन पाएन ।
कुटाई खाएर घाइते भएका राजधामीलाई उपचारका लागि विजयपुर अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । चिकित्सकका अनुसार उनको अवस्था हाल सामान्य छ ।
घटनाको विषयमा पार्टी नेतृत्वले औपचारिक प्रतिक्रिया जनाएको छैन । स्थानीय राजनीतिक वृत्तमा भने एमालेभित्रको आन्तरिक गुटीय विवादले उग्र रूप लिन थालेको चर्चा सुरु भएको छ ।

































































