इटहरी : जेन-जी प्रदर्शनको नाममा भदौ २४ गते इलाका प्रहरी कार्यालय इटहरीको भवन, सवारी साधन तोडफोड, आगजनी, लुटपाट सहित प्रहरीहरूलाई दुर्व्यवहार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी-३ का २९ वर्षीय विजय लिम्बु, इटहरी-५ का ४४ वर्षीय दीपेन्द्र कुमार कार्की, इटहरी-८ का २४ वर्षीय आभास कार्की, इटहरी-४ का २४ वर्षीय सोनाम कार्की र भोजपुर याङपाङ्ग घर भई इटहरी-४ बस्ने ४७ वर्षीय मदन खत्री रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उक्त घटनामा संलग्न व्यक्तिहरूलाई सामाजिक सञ्जाल, युट्युब, सिसिटिभीमा आएको फोटो, भिडियो फुटेजका आधारमा पहिचान गरी पक्राउ गरिएको हो ।

उनिहरुको आपराधिक उपद्रवको कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । घट्नामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको बताइएको छ ।

आगजनी तोडफोड र प्रहरीको हातहतियार लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको खोजी भैरहेकोले फोटो तथा भिडियोहरू फेला परेमा, प्रहरीको हातहतियार लुकाई छिपाई राखेको बुझिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।