सुनसरी : रामधुनी नगरपालिका-७ मा गणेश मन्दिर निर्माण तथा रत्नेश्वर शिवालय मन्दिर उद्धारार्थ श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मङ्सिर १८ गतेदेखि २५ गतेसम्म विशेष धार्मिक अनुष्ठानसहित आयोजना हुने भएको छ।
रानीपोखरी महिला समूह, रामधुनी-७ को आयोजनामा हुने आठदिने महायज्ञ धर्मगुरु श्रीनिवासाचार्यजी महाराजको मुखारबिन्दुबाट संगीतमय कथामृत्त तथा राजेश कोइरालाद्वारा भागवत पाठ पारायणसहित सञ्चालन गरिने कार्यक्रम स्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।
यसवर्षको महायज्ञ विशेष रूपमा गत भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा दिवंगत भएकाहरूको वैकुण्ठवासको कामना गर्दै श्रद्धाञ्जलिमूलक अनुष्ठानसमेत समावेश गरिएको आयोजकले जनाएको छ।
रानीपोखरी महिला समूहकी अध्यक्ष रेनुका पौडेलले स्थानीय महिलाहरूले आफ्नै प्रयासमा गणेश मन्दिर स्थापना गरी यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताइन्। स्थानीय तथा प्रदेश सरकारको सहकार्य प्राप्त भए बाल उद्यान चिल्ड्रेन पार्क सहित व्यापक पर्यटकीय विकास गर्न सकिने अवस्था रहेकाे बताइन।
पुराण व्यवस्थापन समितिका अध्यक्ष सरोज गिरीका अनुसार रामधुनी-७ को ऐतिहासिक रानीपोखरी क्षेत्र पुरानो किम्वदन्ती र पौराणिक महत्त्वले समृद्ध रहँदै आएको छ । रत्त्नेश्वर शिवालय, मनोकामना मन्दिरलगायतका धार्मिक स्थलहरूलाई एकीकृत गर्दै धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गर्न लागिएको उनले बताए।
महायज्ञका लागि भक्तजनबाट संकलन हुने दान-दक्षिणा आकर्षक श्रेणीगत व्यवस्थाबाट सञ्चालन गरिने छ । १ रुपैयाँदेखि ५०० रुपैयाँसम्मको दान दानपेटिकाबाट संकलन गरिनेछ। ५०५ रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्मको दान रसिदमार्फत ग्रहण गरिने र दाताको नाम कथा मञ्चबाट वाचन गरिनेछ। त्यस्तै २ हजार ५०१ रुपैयाँदेखि १० हजार रुपैयाँसम्म योगदान गर्ने भक्तजनलाई प्रमाणपत्र सहित व्यासपीठबाट सम्मान प्रदान गरिनेछ।
१० हजार १ रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म सहयोग गर्ने दाताका परिवारका एक सदस्यको नाम मन्दिर परिसरमा निर्माण हुने सिलालेखमा अंकित गरिने र २५ हजार १ रुपैयाँभन्दा माथि सहयोग गर्ने भक्तजनका दुई सदस्यसम्मको नाम समावेश गरिनुका साथै पञ्चेबाजा सहित सभा नायकको सम्मान प्रदान गर्ने व्यवस्था मिलाइएको छ।
कार्यक्रम अवधिभर इच्छुक भक्तजनका लागि तुलादानको विशेष व्यवस्थासमेत रहनेछ, जसलाई गुरुदेवले विधिपूर्वक सम्पन्न गरिदिनेछन्।


































































