धरान : सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जेन–जी प्रदर्शनको नाममा भएका अपराधका घट्नामा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने बताएका छन् ।उनले इटहरीमा भएको घट्नामा संलग्न ३ जनलाई पक्राउ गरिएको बताए ।
सुनसरी उद्योग वाणिज्य संघद्धारा धरानमा आज बुधवार आयोजित प्रजिअ घिमिरे सहित प्रहरी प्रमुखहरूसँग शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रियामा उनले भने ‘जेन–जी आन्दोलनलाई आन्दोलनको रूपमा हेरिने तर, त्यसमा भएका विध्वंसका घटना लाई अपराधको रूपमा हेरिएको छ ।’
धरानमा भएका तोडफोड, लुटपाट र आगजनीको घट्नामा संलग्नहरूका बारे प्रहरी, प्रशासनमा दिलाइएको जाहेरीको प्रसङ्गमा प्रजिअ घिमिरेले उक्त कुरा बताएका हुन । उनले भदौ २३ र २४ गते इटहरीमा जेनजी आन्दोलनका क्रममा भएको विध्वंसकारी, आपराधिक घटनामा संलग्न ३ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताए ।
कानुन विपरीत काम गर्ने जो–कोहीलाई पनि छुट दिइँदैन, उनीहरू युद्धमा हारेको सिपाही जस्तै निरीह भइसकेको प्रजिअ घिमिरेको भनाइ थियो । उनले जेनजी घटनाले केही समय मनोवैज्ञानिक असर पारे पनि समग्र सुरक्षा अवस्था सामान्य रहेको बताए ।
निर्वाचन आयोगले तोकेको कार्य तालिका अनुसार फागुन २१ गते चुनावको तयारीमा जिल्ला प्रशासनको कार्य केन्द्रित भएको उनले बताए । भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सुनसरी प्रशासन कार्यालय पूर्ण रूपमा तयार रहेको बताउँदै प्रजिअ घिमिरेले भने ‘चुनाव हुँदैन भनी शङ्का अब गुञ्जायस छैन ।’
व्यवसायीहरूलाई मर्यादित र कानुन सम्मत ढङ्गले व्यापार गर्न आग्रह गर्दै प्रतिबन्धित सामग्री बजारमा सजिलै पाइने अवस्था प्रति चिन्ता व्यक्त गरे । उनले भने ‘व्यवसाय केवल नाफा होइन, यो धर्म र मर्म पनि हो, कानुन पालना भएको छ कि छैन हेर्ने काम प्रशासनको हो ।’
धरानलाई व्यवस्थित, सुरक्षित र चलायमान बनाउन जिल्ला प्रशासन सबैसँग समन्वयमा लाग्ने बताउँदै उनले लागु औषध दुर्व्यसन, सडक दुर्घटना, मानव बेचबिखन जस्ता सामाजिक अपराध नियन्त्रणमा प्रशासन सक्रिय रहने प्रतिबद्धता पनि जनाए ।
कोशी प्रदेश प्रहरी कार्यालय धरानका एसएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले धरान स्थित प्रदेश प्रहरी कार्यालयको प्रत्यक्ष रूपमा भूमिका नदेखिए पनि अपराध नियन्त्रण र नियमनमा प्रभावकारी समन्वयबाट कार्य भइरहेका बताए ।
सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केशव थेबेले सुरक्षा दिन प्रहरी कटिबद्ध रहेको उल्लेख गरे । अन्तरक्रियामा उठेको मोबाइल व्यवसायीको समस्या समाधानका लागि समन्वय र सहजीकरण गर्न आफू तयार रहेको बताए ।
उनले भने, ‘सस्तो र सुलभ आउने मोबाइल नकिन्नुहोस्, चोरीको मोबाइल नबेच्नुहोस्। विक्रेताको नागरिकताको प्रतिलिपि, बिक्रीको कारण र अभिलेख सुरक्षित राख्नु जरुरी छ ।’ मोबाइल र सुनचाँदी व्यवसायमा किनबेच प्रक्रिया पारदर्शी बनाउन जरुरी भएकोमा एसपी थेबेले जोड दिए ।
धरानको ट्राफिक व्यवस्थापनमा सबै सरोकारवालासँग बसेर संयुक्त समाधान खोज्नुपर्नेमा पनि उनले प्रतिबद्धता जनाए ।
आन्तरिक राजस्व कार्यालय प्रमुख मौसम घिमिरेले व्यवसायीका हितलाई ध्यानमा राखेर आर्थिक ऐन २०८२ लागू गरिएको जानकारी दिए । उनले बिलबिजक नियमित गर्न, बैङ्क खाता मार्फत कारोबार गर्न र कर प्रक्रियाबारे न्यूनतम ज्ञान हासिल गर्न व्यवसायीलाई आग्रह गरे ।
सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठले अहिलेको अवस्थामा व्यवसाय खोल्न भन्दा पार्टी खोल्न सजिलो भएको टिप्पणी गरे । उनले भने ‘पार्टी खोल्न १० जना भए पुग्छ, तर व्यवसाय खोल्न सयौँ कागजात चाहिन्छ, यसले निजी क्षेत्र निरुत्साहित भएको छ ।’
श्रेष्ठले अहिले मुलुकमा भाँडभैलो मच्चाउन न्यु मिडिया र युट्युब पनि जिम्मेवार रहेको बताउँदै भने ‘भ्रम फैलिएकै कारण काठमाडौँको हिलटन होटेल समेत जलेको हो ।’
अन्तरक्रियामा धरानका मोबाइल, होटेल, हार्डवेयर, यातायात तथा पर्यटन व्यवसायीहरूले आफूहरू दबाबमा परेको बताए । मोबाइल व्यवसायी सङ्घका अध्यक्ष निलम शाक्यले कठोर निगरानीले व्यवसायमा असर परेको गुनासो गरे ।
हार्डवेयर व्यवसायी नवीन राज भण्डारीले अत्यधिक जरिवाना र ढुवानी समस्याले व्यवसाय धराशायी भएको बताए ।विनय प्रधानले ट्याम्पो, सफारी र ठुलो साउन्ड भएका मोटरसाइकल नियन्त्रण नहुँदा ट्राफिक अव्यवस्थित भएको बताए । सुजन तामाङले नागरिकता बनाउन कठिनाइ भएको गुनासो गरे ।
होटेल व्यवसायी सौरभ श्रेष्ठले राज्यबाट साथ सहयोग नपाएको भन्दै पर्यटन र होटेल क्षेत्र विकासका लागि स्पष्ट योजना माग गरे ।साथै सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठलाई बिदाई समेत गरिएको छ ।


































































