धरान : शहरी विकाशको क्रममा धरानको ऐतिहासीकस्थलहरुको अस्तित्व नासिँदै गएको अवस्थामा धरान–१८ स्थित देवी थानको संरक्षणका लागि ज्येष्ठ नागरिक पार्क निर्माण गर्ने निर्णय गरिएको छ ।

देबिथान संरक्षण तथा व्यवस्थापन समितिको शुक्रवार सम्पन्न १९ औँ साधारण सभा ७ औँ अधिवेशनले उक्त निर्णय गरेको हो ।

सभामा कुल २ कट्ठा १८ धुर क्षेत्रफल रहेको देबिथान क्षेत्रको संरक्षण गर्न ज्येष्ठ नागरिक पार्क बनाउन उपमहानगरपालिकाबाट ३४ लाख र वडा कार्यालयबाट ६ लाख गरी कुल ४० लाख रुपैयाँ बजेट छुटाइएको धरान–१८ का वडा अध्यक्ष प्रवीण राई जानकारी दिए ।

समितिका विशिष्ट सल्लाहकार पूर्व नगरप्रमुख तिलक राईले इतिहास जीवित राख्न युवा पुस्ताले ध्यान दिनु आवश्यक भएको बताउँदै भने ‘तर अहिले संस्था चलाउनै युवालाई खोज्नुपर्ने अवस्था आइरहेको छ ।’ पुराना पुस्ताले बचाएको इतिहास पुरानै स्वरूपमा राख्न सकिए मात्र भावी पुस्ताले यसको मूल्य बुझेन उनको भनाई थियो ।

साधारण सभाको उद्घाटन प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले गरेका थिए । उनले भने ‘सबैको भूमिका जोडे मात्र संस्था जीवित रहन्छ, नेतृत्वदायी भूमिकाले नै देबिथान समितिलाई आजको अवस्थामा पुर्‍याएको हो ।’

सामाजिक, सांस्कृतिक क्षेत्रमा पुराना नेतृत्वदायी भूमिका र युवाहरूको एकता जोडिएमा मात्र संस्था मजबुत हुने उनले बताए ।

देवी थानमा निर्मित समितिको बहुउद्देश्यीय भवनमा अहिले विभिन्न सामाजिक संस्थाका कार्यालय र वडा कार्यालय समेत सञ्चालन भइरहेको छ ।

अधिवेशनबाट रेवतीरमण राई पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित

सोही अवसरमा भएको अधिवेशनबाट रेवती रमण राई पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । उनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।

समितिमा उपाध्यक्ष ज्योति राई, सचिव खेमराज राई,सहसचिव सुमेश पोख्रेल र कोषाध्यक्ष टकमाया लिम्बु रहेका छन् ।

सदस्यहरूमा दिवन राई, सिता राना राई, सङ्गीता राई, दुर्गा प्रसाद राई, निर्मल राई, कुविरजंग राई, सरिता गोतामे, किरण खराल छन् ।