धरान : आज शुक्रवार बिहान डेढ बजेको समयमा धरान-८ तीनकुनेमा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक इटहरी–४ का २५ वर्षीय मञ्जिल लिम्बुको मृत्यु भएको छ ।

सडकमा रोकी राखेको प्रदेश १-०२-००१ ख ८७५७ नम्बरको ट्रकमा प्रदेश १-०३-००१ प १३२४ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । मोटरसाइकल धरानबाट इटहरी गइरहेका थियो ।

मोटरसाइकलमा पछाडि बसेका इटहरी–५ का ३२ वर्षीय अमित राई गम्भीर घाइते भएका छन् । दुवै जनालाई उपचारका लागि बीपी प्रतिष्ठान पुर्‍याइएकोमा उपचार गर्दा गर्दै चालक लिम्बुको मृत्यु भएको चिकित्सकहरूले घोषणा गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मोटरसाइकल, ट्रक र ट्रकका चालक तेह्रथुम फेदाप गापा-२ का २७ वर्षीय गणेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।