धरान : सुनसरी जिल्ला अन्तर विद्यालय ‘सुनाखरी एकेडेमी कप’ फुटबल प्रतियोगिताको मङ्गलवार सम्पन्न खेलबाट प्रभात इङ्लिस बोर्डिङ स्कुल र सैनिक आवासीय विद्यालय क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

धरान-१७ एन्फा मैदानमा चलिरहेको खेलको तेस्रो दिन पहिलो खेलमा प्रभात इङ्लिस बोर्डिङ स्कुलले ज्ञानकुञ्ज बोर्डिङ स्कुललाई ८-० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा पुगेको हो ।

दोस्रो खेलमा सैनिक आवासीय विद्यालयले सुनाखरी ब्लु टिमलाई ट्राइबेकरमा ३-१ ले हराएको छ । निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।

खेलको म्यान अफ द म्याच प्रभात स्कुलका युवाहाङ राई घोषित भए। उनले नगद १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

बुधवार हुने पहिलो खेल सेन्ट जोसेफ स्कुल धरान-१७ र श्री ज्वालामुखी स्कुल धरान-१७, दोस्रो खेल हिमशिखर स्कुल तरहरा र देउराली चिल्ड्रेन स्कुल धरान-५ बिच हुने भएको छ ।

मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार पुरस्कार पाउनेछन्।सेमिफाइनलमा पुग्ने दुई टोलीलाई जनही ५/५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट डिफेन्डर, उच्च गोलकर्ता र अनुशासित टिमलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सुनाखरी एकेडेमीका रातो र सेतो टिमसहित हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ स्कुल धरान-१७, नेपाल प्रहरी विद्यालय धरान-१३, प्रभात सेकेन्डरी स्कुल, विजयपुर स्कुल, ज्ञानकुञ्ज विद्यालय, लिबर्टी स्कुल, देउराली बालबालिका विद्यालय, माउन्ट हर्मन स्कुल, सैनिक आवासीय विद्यालय, हिबिस्कस स्कुल, बुद्ध आदर्श विद्यालय, लर्ड बुद्ध स्कुल झुम्का र ज्वालामुखी स्कुल पटनाली सहभागी छन् ।