धरान : भनिन्छ– ‘सधैँ एकै ठाउँमा बसिरहन तिमी रुख होइनौ, संसारलाई बुझ्न सके जति घुम ।’
वास्तवमा भ्रमण सिकाइको पनि एउटा महत्त्वपूर्ण माध्यम हो । घुम्नु मानिसको नैसर्गिक प्रवृत्ति हो । यसबाट नौलो कुरा हेर्न, सिक्न र अवलोकन गर्न पाइन्छ तर आजभोलि मानिसको घुम्ने प्रवृत्तिमा भने केही परिवर्तन भएको छ ।
यातायातको पहुँच, सुविधा सम्पन्न होटल र अन्य भौतिक पूर्वाधारयुक्त क्षेत्रमा मात्र घुम्ने प्रचलनमा केही परिवर्तन हुन थालेको छ । पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि ‘होमस्टे’ (घर वास) मा बस्दै नयाँ–नयाँ स्थानमा भ्रमण गर्ने प्रचलनमा वृद्धि भएको छ ।
स्याङ्जाको आँधीखोला गाउँपालिका–१ मा पर्ने सिरुबारीबाट २०५४ सालमा नेपालमा होमस्टे सुरु भएको हो । त्यसपछि देशका विभिन्न स्थानमा फैलदै केही वर्षयता धरान उपमहानगरपालिकासम्म आइपुगेको छ । पछिल्लो समय मानिसले सहरको भिडभाडबाट केही समय मुक्त हुन शान्त वातावरणको खोजी गर्ने क्रममा पनि होमस्टेमा रमाउने परम्परा सुरु भएको छ ।
पर्यटन प्रवर्द्धनमा होमस्टे
धरान–२० को मानेडाँडाकी रामश्वरी तामाङ तीन वर्ष अघिसम्म नियमित रूपमा रक्सी बनाउने गर्थिन् र डेढ घण्टा पैदल हिँडेर धरान–१६ को मगर सङ्घ बस्तीमा पुर्याउथिन ।
कोठेबारीमा सामान्य खेतीपाती पनि गर्ने उनको परिवारको आम्दानीको मुख्य माध्यम भने आफैले पारेको घरेलु रक्सी हप्तामा दुईपल्ट धरान बजारमा पुर्याएर बेच्नु थियो ।
रामश्वरी लगातार १४ वर्षयता यसैमा अभ्यस्त भएकी थिइन् तर तीन वर्षअघि उनको दैनिकी फेरियो । मानेडाँडाका नौ घर–परिवारका महिलाले संयुक्त रूपमा ‘कोकाहा कृषि सामुदायिक होमस्टे’ सञ्चालन गर्न थालेपछि उनको दैनिकी फेरिन थालेको हो ।
बारीमा उत्पादित साग–तरकारी, घरमा पालेका स्थानीय जातका कुखुरा लगायत अन्य उत्पादन होमस्टेमा बस्न आउनेले खाइदिन्थे । उनीहरूले फर्कँदा पनि अर्ग्यानिक (जैविक) उत्पादन भन्दै लिएर जाने गरेको तामाङले बताइन् ।
पर्यटकहरू धेरै सङ्ख्यामा नआए पनि बारीका तरकारी भने बजार लैजान नपरेको उनले सुनाइन् । ‘हाम्रो उत्पादन नै थोरै छ, त्यसैले बजार लानु पर्दैन थियो’, उनले भनिन्, ‘कोदोको रक्सी पनि पाहुनाले खाइदिँदा बजारमा रक्सी पुर्याउनु पनि कम जानुपर्थ्यो ।’
तामाङ समुदायको बाहुल्य रहेको त्यस ठाउँका मानिसको मुख्य आयस्रोत नै घरेलु रक्सीको बिक्री थियो । होमस्टेले आयआर्जनमा भरथेग गर्न थाल्दै गर्दा कोरोना भाइरस (कोभिड–१९) को महामारीले भने त्यो क्रम रोकिएको छ ।
विष्णुपादुका मन्दिरको नजिकै रहेर पनि छायाँमा परेको मानेडाँडा होमस्टेकै कारण आफ्नो परिचय फेर्ने अवस्थामा पुगेको थियो । यसअघि यता कहिल्यै नआएका मानिसहरू पनि आउन थालेको स्थानीय सुनाउँछन् । होमस्टेकै कारण मानेडाँडाको परिचय फैलदो थियो ।
नेपालकै पहिलो व्यवस्थित ‘सिरुबारी सामुदायिक होमस्टे’ कै कारण अहिले त्यस ठाउँले आफुलाई देश–विदेशमा परिचित गराएको छ । त्यहाँका २३ घरमा पूर्ण व्यावसायिक रूपमा होमस्टे सञ्चालन भइरहेको छ ।
‘सिरुवारी सामुदायिक होमस्टे’ का संयोजक जुमबहादुर गुरुङका अनुसार त्यहाँ होमस्टे सञ्चालन हुने प्रत्येक परिवारले मासिक कम्तीमा ४०–५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गर्छन् । यसबाट पर्यटन प्रवर्द्धनसँगै गाउँमा विकासका थप कार्यहरू पनि भएको उनले बताए ।
स्वर्गीय रुद्रमान गुरुङले व्यक्तिगत रूपमा सुरु गरेको होमस्टेबाट अहिले सिरुबारी महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सकेको छ । पूर्वकै केही स्थान पनि होमस्टेका कारण पर्यटकीय गन्तव्य बन्न सकेका छन् ।
इलामको अन्तुडाँडा र धनकुटाको नाम्जेलाई उदाहरणका रूपमा लिन सकिन्छ । यी क्षेत्रमा होमस्टेकै कारण पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको स्पष्ट देखिन्छ ।
धरानमा होमस्टे
तत्कालीन पाँचकन्या र विष्णुपादुका गाविसलाई गाभेर २०७१ सालमा धरान उपमहानगरपालिका बनेपछि भूगोल विस्तार हुनुका साथै धरानमा पहाडी भूभागसमेत समेटिएका छन् । यसपछि नै हो, धरानको पर्यटन प्रवर्द्धन र विकासमा होमस्टेको भूमिकाको पनि चर्चा सुरु भएको ।
धरानमा औपचारिक रूपमा होमस्टेको प्रारम्भ २० नम्बर वडाको ‘माछामारा कृषि पर्यटन होमस्टे’ बाट भएको हो । कृषि विभागको तरकारी बाली निर्देशनालय मार्फत २५ लाख रुपैयाँ अनुदान सहयोगमा सो होमस्टे प्रारम्भ गरिएको हो । सञ्चालक समूहमा १८ परिवार आबद्ध छन् ।
१० घरले पाहुनाका लागि खाने, बस्ने व्यवस्था मिलाउने र आठ परिवारले कृषि उत्पादन गर्ने गरी होमस्टे थालिएको समूहका सचिव प्रसादसिंह राईले बताए ।
यो होमस्टेले प्रारम्भिक अपेक्षाअनुसार निरन्तरता भने पाउन नसकेको उनको भनाइ छ । ‘सुरुमा सबैले लौ गर्ने भन्ने भयो, पैसा पनि आउने भएपछि सबैलाई चासो भयो तर बिस्तारै त्यो जाँगर हराएको जस्तो भयो’, उनी भन्छन्, ‘त्यसमा लकडाउनले थप निष्क्रिय पारेको छ ।’
यसो हुनुमा आफुहरुको व्यवस्थापकीय कमजोरी केही जिम्मेवार भए पनि सबैभन्दा बढी असर कोरोना महामारीले पारेको उनको भनाइ छ । सुरुको समय केही घरमा राम्रै चले पनि अहिले अप्ठ्यारो परेको जनाउँदै उनले अब सामान्य अवस्था कहिले होला भनेर पर्खेको बताए ।
होमस्टे सञ्चालन हुन थालेपछि खोज्दै, फोन गर्दै पनि पाहुना आउने गरेको समितिका अध्यक्ष चक्रकुमार राईको भनाइ छ । विष्णुपादुका मन्दिरमा आउनेहरूको रोजाइमा पनि माछामाराको होमस्टे पर्ने गरेको अध्यक्ष राईले बताए ।
‘धरान बजारबाट पनि आउँथे’, उनले भने, ‘झापा, इलाम तिरबाट पूजा गर्न विष्णुपादुका मन्दिर आउनेहरू यहाँ होमस्टे भएको थाहा पाएर बस्न थालेका थिए ।’ त्यसरी समूहमा पाहुना आउँदा स्थानीय समुदायका साकेला, पापानी, तामाङ सेलो लगायतका नाच पनि देखाउने गरिएको राईले बताए ।
धरान–२० कै ‘कोकाहा कृषि सामुदायिक होमस्टे’ प्रसिद्ध धार्मिक स्थल विष्णुपादुका मन्दिरको नजिकै मानेडाँडामा छ । सो होमस्टे सञ्चालक समितिमा नौ परिवारका महिला सदस्य मात्र छन् । प्रदेश सरकारमा कोदोको रक्सीलाई ‘ब्यान्ड होइन ब्रान्ड’ बनाउने योजनाबारे चर्चा भइरहँदा यहाँका महिला उत्साहित छन् ।
कोदोको गुणस्तरीय रक्सी र कमै ठाउँमा उत्पादन हुने सिस्नोको रक्सी पाइनु यो होमस्टेको विशेषता भएको समूहका अध्यक्षसमेत रहेका जुनमती तामाङले बताइन् ।
होमस्टे सञ्चालनपछि सकारात्मक नतिजा आउन थालेकै बेला कोरोना महामारीले कोकाहा होमस्टेलाई पनि थला पारेको छ । स्थानीय शान्ति तामाङ भन्छिन्, ‘धरानबाट प्रायः र कहिलेकाहीँ इटहरीबाट पनि मान्छे आउँथे, अहिले त लकडाउनले गर्दा कोही आएका छैनन् ।’
यसै गरी धरानमा सञ्चालित होमस्टेमध्ये सबैभन्दा उँचाइमा अवस्थित धरान–४ को ‘देवीथान होमस्टे’ पनि निकै राम्रो सम्भावना बोकेको क्षेत्र हो ।
धरानको केन्द्र भानुचोकबाट लगभग १५ किलोमिटर उक्त भेडेटार नजिकै रहेको देवीथान होमस्टेबाट धरान बजारका साथै तराईका भूभागको अवलोकन मजाले गर्न सकिन्छ । यहाँबाट रातको समयमा धरान बजारको मनमोहक झिलिमिली दृश्य देखिन्छ ।
शीतल हावापानीका कारण चर्चित भेडेटार जतिकै उँचाइमा रहेको कारणले पनि यो स्थान आगन्तुकका लागि थप आकर्षक हुने देवीथानका होमस्टे सञ्चालक गणेश थापाको भनाइ छ । थापाले पाहुनाका लागि थप लगानी गरी कटेजसहितको ‘ट्री हाउस’ समेत बनाएका छन् ।
यस्तो बेलामा महामारीका कारण मारमा परेको उनी बताउँछन् । उनी भन्छन्, ‘यहाँ दैनिक नटुट्ने गरी नै मान्छे आउन थालेका थिए । कुनै दिन समूहका ५०/६० जनासम्म बस्ने गरी आउँथे’ । उनी भन्छन्, ‘त्यस्तो बेला पाहुनाको व्यवस्थापन गर्न पनि हम्मे पर्थ्यो ।’
यीबाहेक धरानमा चिन्डेडाँडा (वाबु डाँडा), बाघखोप, हर्दिया, वसन्तटार लगायतका स्थानमा पनि होमस्टे सञ्चालन हुन सक्ने धरानका पर्यटन व्यवसायी वासुदेव बराल बत्ताउँछन् । होमस्टेले ती ठाउँको पहिचान र स्थानीयको जीवनशैली परिवर्तन गरिदिने बराल बताउँछन् ।
तराईबाट नजिकको पहाडी क्षेत्र भएका कारण यी होमस्टेमा धरानकै बजार क्षेत्र र तराईका जिल्लाबाट आन्तरिक पर्यटक आउने पर्याप्त सम्भावना भएको उपमहानगरको सूचना तथा पर्यटन महाशाखा प्रमुख खगेन्द्र खतिवडा बताउँछन् ।
‘सुरुमा धरानवासीमा नै होमस्टेलाई परिचित र स्थापित बनाउने हो’, उनले भने, ‘त्यसपछि नजिक तराईका जिल्ला तथा अन्य ठाउँबाट पनि मान्छे आउने अवस्था बन्छ ।’
धरानमा होमस्टेको थालनी र सञ्चालनमा उपमहानगरले पनि पहल भने गरेको छ । उपमहानगरको पर्यटन समिति मार्फत स्थानीयलाई तालिम प्रदान र भौतिक संरचना निर्माणमा केही सहयोग गरिएको पनि महाशाखा प्रमुख खतिवडाले बताए ।
नगद सहयोग भन्दा सडकको स्तरोन्नति, पूर्वाधार निर्माण र थप तालिम प्रदानमा उपमहानगरले सहजीकरण गरिदिए प्रभावकारी हुने होमस्टे सञ्चालकहरूको भनाइ छ ।
‘कोकाहा कृषि सामुदायिक होमस्टे’ की अध्यक्ष तामाङ भन्छिन्, ‘यहाँसम्म आउने बाटो खराब छ । कच्ची छ, पानी परे हिलो र बिग्रिएको बाटोमा मान्छे आउन गाह्रो मान्छन् ।’
होमस्टेको विकास र विस्तारका लागि उपमहानगरले सकेको आफै र प्रदेश सरकार वा सङ्घीय सरकारबाट सहयोग लिएर भए पनि सडक–बाटाहरूको स्तरोन्नति गर्नुपर्ने पर्यटन व्यवसायी बराल पनि बताउँछन् ।
अहिले कच्ची सडक धेरै ठाउँमा पुगे पनि ती भरपर्दा छैनन् भने वर्षायाममा बिग्रिने गरेका छन् । महिलाको प्रत्यक्ष सहभागिता हुने भएकाले होमस्टेले आय आर्जनका साथै उनीहरूको सशक्तीकरणमा पनि भूमिका खेल्ने उनको भनाइ छ ।