तपन भट्टराई
करिब करिब ६ वर्षको भद्रपुर गुरुकुलको बसाई र त्यहाँको दीर्घ अनुभवले पनि होला कहिले त्यो ठाउँ बाट छुटकारा मिल्छ र आनन्द हुन्छ जस्तो लाग्थ्यो। त्यो सूक्ष्म बाल मस्तिष्क र चञ्चल मनले गर्दा होला, कुनै ठाउँमा धेरै क्षण व्यतीत भएपछि छटपटाहट जस्तो महसुस भइहाल्ने। भन्दा-नभन्दै कक्षा दशको परीक्षा पनि हाम्रो पर्खाइमा थियो। परीक्षा दिनको लागी तयारी अवस्थामा रहेको हामी एक्कासि अघिल्लो दिन बेलुका परीक्षा स्थगित को सूचनाले अत्यन्त आश्चर्य तुल्यायो। परीक्षा भन्ने बित्तिकै मनमा अर्कै प्रकारको डर सिर्जना हुने भएर पनि होला त्यो खबर सुन्न साथ हामी छात्रावास बासीहरूको खुसीको सीमा नै रहेन। अविस्मरणीय क्षण बनेको थियो त्यो दिन हामी छात्रावासमा बस्नेहरूको लागि। अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको भर्खर सुरुवाती क्षण थियो हाम्रो नेपालमा। एक छिन त लाग्थ्यो यो कोरोना हामी विद्यार्थीहरूको लागि साक्षात् भगवानको स्वरूपमै आएको हो भनेर! आखिर बाल मस्तिष्क न हो, जे पनि सोचिहाल्ने। पछि थाहा भयो यो कोरोना भन्ने चिज कति भयावह रहेछ भनेर। खैर जेहोस् त्यतिखेरको समयनै बेग्लै। हेर्दाहेर्दै विभिन्न आरोह अवरोह बाबजुद पनि भद्रपुरको अन्तिम बसाई सँगै कक्षा दशको यात्रा पनि अन्त्य भयो।
यात्रा शृङ्खलाबद्ध नहुँदो रहेछ। प्राप्तिका अवसर र उपलब्धिको बीज हासिल गरेर पनि सन्तुष्ट नमिल्ने। कक्षा दस सकेपछि चैँ राहतको सास फेर्न पाइन्छ भन्ने पहिले देखी लाग्थ्यो तर यथार्थ के हो त्यो चैँ उक्त स्थानमा पुगेपछि मात्र थाहा हुँदो रहेछ। विगतमा फलामे ढोका कहलिएको परीक्षा रुपी ढोका त विभिन्न परिस्थिति बस स्वतः तोडियो नै तर अब अगाडि के त ? प्रश्न वाचक चिन्ह म भन्दा अघि नै मेरो प्रतीक्षा मा कुरिरहेका थिए। थप अध्ययनको लागी सीमित विकल्पहरू थिए नै तर कहाँ जाने भन्ने कुरा चैँ निश्चित भएको थिएन। धरान स्थित श्री चन्द्र संस्कृत मा.वि को धेरै चर्चा सुनिन्थ्यो । संस्कृत पठनपाठनको लागी एक उत्तम गन्तव्य रूपमा चिनिने त्यो विद्यालयमा नेपाल भरका विभिन्न संस्कृत प्रेमी विद्यार्थीहरू आएर पढ्दा रहेछन्। पूर्व मेची देखी पश्चिम महाकाली सम्मका विद्यार्थीहरू त्यहाँ छात्रावास लगायत विभिन्न डेरामा बसेर अध्ययन गर्ने भएकाले त्यो विद्यालय दूर-दूर सम्म ख्यातिप्राप्त थियो। हामी भन्दा अग्रज विद्यार्थी जो हामी भद्रपुरमा सँगै बस्थ्यौँ वहाँहरू पनि +2 अध्ययनका लागी त्यही गएका थिए। हामी भद्रपुर बस्दै पनि त्यो विद्यालयको बारेमा कता कता चर्चा सुनिन्थ्यो नै तसर्थ थप दुई वर्षको अध्ययनको निमित्त मैले पनि आफ्नो अभिभावक सँग सल्लाह गरेर जाने निधो गरेँ। संयोगवश विद्यालयले पनि अनलाइन फर्म उक्त समयमै खुलाएको रहेछ। हत्तपत्त फर्म भरियो र अन्ततोगत्वा भर्नाको कार्यविधि पनि सकुशल सम्पन्न भयो।
अब भर्ना त भयो तर विश्वव्यापी कोरोना महामारीको कारणले देशभर अनिश्चितकालीन लकडाउनले नेपाल भरको शैक्षिक स्थिति नै जीर्ण भैसकेको थियो। विद्यालयहरू पूर्णरुपमा बन्द भएका कारणले आगामी पठनपाठन वैकल्पिक विधि बाट सुचारु हुने भनेर विद्यालयले सूचना प्रकाशित गर्यो। सोही अनुरूप हामी विद्यार्थीहरू एकाएक गर्दै अनलाइन कक्षा मा सहभागी हुन थाल्यौ। "विज्ञान अभिशाप हो कि वरदान" भन्ने विषयमा सानो छदा वाद-विवाद गरेको सम्झना आयो त्यतिखेर ! साँच्चै नै अहिले आएर प्रविधिमैत्री पठनपाठन भएकाले एक प्रकारले विज्ञान 'वरदान' नै पुष्टि भएको हो कि जस्तो महसुस भने भएकै थियो। चञ्चल प्रवृत्तिको मन त्यसमा पनि अलिक बोल्ने स्वभावले गर्दा विद्यालयमा परिचय हुन समय लागेन। बिस्तारै नयाँ साथीहरू सँग चिनजान हुँदै गयो। विद्यालयले पनि विद्यार्थीहरू लाई दक्ष शिक्षा दिनको निमित्त वैकल्पिक विधिबाट अध्यापन गराएर राम्रै कर्तव्यको पालना गर्दै थियो र त्यसमा हामी पनि सन्तुष्ट नै थियौँ। अनलाइन पठनपाठनकै शिलशिलामा एक जना एनिस नाम गरेका (हाल धरान उपमहानगर बाल सञ्जाल, अध्यक्ष) यस्ता विद्यार्थी जो बोल्नमा म जत्तिकै, सबै कुराको ज्ञान राख्ने, बानी व्यवहार पनि अलिक मिल्ने भएर होला अरू भन्दा उ प्रति मेरो अलिक मित्रताको प्रभाव पर्दै गयो र अनलाइन कक्षादेखि सुरु भएको हाम्रो मित्रता यति प्रगाढ बन्यो कि सायदै कसैले कल्पना गर्न सकोस्। एनिस विद्यालयको छात्रावासमा बसेको पाँच वर्ष भैसकेको रहेछ, त्यसले गर्दा मलाई विद्यालयको बारेमा थप जान्न बुझ्न समय लागेन। हरेक कार्यमा हामी सँगै हुन्थ्यौँ, म नहुँदा उसलाई र उ नहुँदा मलाई कक्षामा खटपट भइहाल्ने। राम-लक्ष्मण भन्दा कुनै कमी छैन हाम्रो मित्रतामा, साथी भन्दा पनि भ्रातृत्व को सम्बन्ध बढी !
लगभग दुई महिनाको वैकल्पिक अध्ययन पश्चात् विद्यालयले भौतिक रूपमै शिक्षण आरम्भ गर्ने भएपछि हामी पनि विद्यालय जानको लागी तयार भयौँ। विद्यालय पुग्दा थाहा भयो विद्यालयको छात्रावास चैँ अव्यवस्थित र अलिक जीर्ण अवस्थामा रहेछ। इटहरी बाट धरान खासै टाढा थिएन। लगभग आधा घण्टा पैंतालीसौं मिनेट बसमा यात्रा गर्दा सहजै पुगिने। धेरै लामो बाटो तर यातायातको व्यवस्थाले विद्यालय नजिकिएको कारणले गर्दा मेरो दैनिक धाउने प्रक्रिया सुरु भयो । हामी एउटै कक्षा मा लगभग ६० जना विद्यार्थी थियौँ। नेपाल को विभिन्न स्थानबाट आएका विद्यार्थीहरूको रहन सहन एवम् विविधताले गर्दा पढ्दा अत्यन्त रोमाञ्चक हुन्थ्यो । सम्पूर्ण मा सहयोग को भावना, एक अर्का प्रति सम्मान कक्षामा प्रशस्त झल्किन्थ्यो। शिक्षकहरूको पनि मैत्रीपूर्ण व्यवहारले गर्दा पठन पाठन पनि एकदम सहजता पूर्ण हुने। विद्यालय भन्दा पनि घर जस्तो वातावरण थियो कक्षामा। कक्षा 11 पनि कोरोनाको विषम परिस्थितिका कारणले दीर्घकालीन पठन पाठन हुन त पाएन, यद्यपि वैकल्पिक अध्ययन पछिको एक महिना भौतिक उपस्थितिले हामीलाई स्वतः 11 कक्षा उत्तीर्ण गरायो। अत्यन्त दिव्य वातावरण र अद्भुत मित्रहरूको साथले गर्दा समय बितेको पत्तै भएन।
पाँच जनाले युक्त भएको हाम्रो समूह हरपल हरक्षण साथमै हुन्थ्यो। मिल्दा खेरी पाँचै जना सँगै बस्थ्यौ। हरेक व्यक्तिमा विविध प्रकारको आफ्नै कला र अभिरुचि थियो। केही कुरा मा विवाद परिहाले एकमुष्टै उठिन्थ्यो। सबै जनाको प्रतिक्रिया बुझेर केही विश्लेषण गर्न सहज हुने र शिक्षकहरू सँग आमने-सामने गर्न सजिलो हुने भएकाले हामी अन्तिम बेन्च मै बस्न रुचाउँथ्यौ। उचाइमा सबैभन्दा अग्लो, भद्र, शोभायमान, अत्यन्त सहन शील स्वभावयुक्त, वृहत् बुद्धिका भण्डार र नाम सँगै आफ्नो चरित्र जोडिएका पात्र हुन् विवेक। अर्का पात्र हुन् राजु, हेर्दै तेज देखिने, राजनीति तर्फ अलि अग्रसर हुन रुचाउने, हरेक क्षेत्रमा अलि अलि चासो राख्न खोज्ने र अलिक गफाडी स्वभावका थिए। अलिक शान्त, कम बोल्ने, अत्यन्त दयावान र मीजाशिला स्वभावका चैँ पवन । सबैमा आफ्नै गुण थियो। तर दुर्भाग्यवश सँगै क्रीडा गर्दै हाँस खेल गर्दै अध्ययन गरेको पनि दुई वर्ष बित्न आँटेछ। सायद हाम्रो भौतिक साथको यात्रा पनि यति सम्मकै मात्र होला। आत्मीय साथले नै यथार्थ प्रेमको अनुभूति दिलाउँछ र त्यो साथ मैले यो दुई वर्षमा अनुभव गरेको छु। आजसम्म तिनीहरूको साथमा बिताएका हरपल हर क्षणहरू निकै नै स्मरणीय छन्। चाहे भवितव्य जस्तो सुकै होस् यो दुई वर्षको यात्रा कसरी शीघ्र दौडिएछ कल्पना गर्नै गाह्रो। हरेक कार्यहरू कुनै न कुनै कारणकै लागि हुन्छन्। धरान अध्ययन को शिलशिलामा म नआएको भए मैले यस्ता परम प्रिय मित्रहरू भेट्नु असम्भव नै थियो। बिछोड को समयमा दीर्घ वियोगको तीतो अनुभूति त हुन्छ नै तर मनमा प्रतिष्ठित मित्रताको निष्कासन हुने कुरा सत् प्रतिशत सम्भव छैन। याद आउनेछन् ती कक्षामा गरेका हरेक गतिविधिहरू। सम्झनामा आउनेछन् खाजा घरमा चियाको चुस्की लिँदै गरेका ती कोलाहलहरू।
धरानले छोटो समयमा धेरै पाठ सिकाएको छ। विद्यालय पनि पहिलेको भन्दा अहिले अलिक समृद्ध तीर अग्रसर हुदैछ। जीर्ण रहेको छात्रावासको छिट्टै नै व्यवस्थापन गर्ने विद्यालयको योजना छ। खुल्ला वातावरणमा पठन पाठन, विद्यार्थीको सहज सिकाईको निमित्त प्रविधियुक्त स्मार्ट बोर्डको व्यवस्था, विविध प्रकारका आन्तरिक क्रियाकलाप एवं शिक्षकहरूको मैत्रीपूर्ण अध्यापन ले विद्यालयलाई अझ थप मजबुत बनाएको छ। विद्यालयका विकासका योजनाहरू थुप्रै छन् र सबै कुरा चाँडै आपूर्ति हुँदै जाओस्। विद्यालयको समृद्धि तीव्र रूपमा होस् भन्ने कामना गर्दछु, गर्व छ मलाई विद्यालयको एउटा सूक्ष्म हिस्सा भएकोमा।
विभिन्न प्रकारका अवरोधहरूलाई सामना गर्दै कक्षा १२ को पनि हामी अन्त्यमा आइसकेका छौ। शिक्षकहरूको पनि अभिभावकको जस्तो व्यवहार, मैत्रीपूर्ण सिकाइका साथसाथै तमाम विद्यार्थीहरूको सङ्घर्ष रुपी सङ्कल्प गर्दा पठन पाठन एकदम सहज ढङ्गले सम्पन्न भयो। बिचमा विविध प्रकारका अवरोधहरू स्वतः रूपमा आए तर शिक्षकहरूको अभिभावकमैत्री वातावरणले गर्दा हरेक कुराहरूलाई झेल्न सक्षम भइयो। हजुरहरूको दृढ सङ्कल्प र सहयोगले गर्दा आज हामी यत्तिको स्थानमा उब्जिन सक्षम भयौँ। सम्पूर्ण शिक्षक शिक्षिकाहरू प्रति हार्दिक साधुवाद। अन्तिम परीक्षा नजिकिदैं छ। सम्पूर्ण साथीहरूको परीक्षा जाज्वल्यमान रहोस्। धेरै परीक्षारत समयहरू आउँछन् नै तर त्यसलाई सामना कसरी गर्ने भन्ने कुरामा भर पर्छ। जीवनको एउटा विशृङ्खल यात्रा प्रारम्भ हुदैछ सम्पूर्ण मित्रहरूको केवल उज्ज्वल र दिव्य भविष्यको कामना गर्दछु। जीवन सङ्घर्षमय छ, सहज बनाउने प्रयास गर्नुपर्दछ। अहिलेको अवस्थामा हरेक व्यक्तिको जीवनमा अस्थायी मान्छेहरू आउँछन् जान्छन् नै तर कसैसँग पनि केही कुरा सिक्ने अवसर भने गुमाउनु हुँदैन। सिक्न कहिले छोड्नु हुँदैन किनभने जिन्दगीले कहिले पढाउन छोड्दैन। जय होस्, शुभ होस्, सदैव सद्भाव कायम रहिरहोस्। धेरै धेरै धन्यवाद!