धरान : धरान-१४ विजयपुर क्षेत्रमा डेङ्गु, कालाजार र औलो सार्ने लामखुट्टे र भुसुना फेला परेका छन् । 

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाको एकीकृत भेक्टर सर्भिलेन्स कार्यक्रम अन्तर्गत किटजन्य रोगहरूमा औलो, कालाजार, डेङ्गु, हात्ती पाईले, जेइ, जीका भाइरस र स्क्रब टाइफस सम्बन्धी अनुसन्धान गर्न धरान आइपुगेको अनुसन्धान टोलीले सुनसरी जिल्लाको लागि धरान-१४ को विजयपुर क्षेत्र अत्यधिक मात्रामा डेङ्गु सार्ने लामखुट्टे एडिस एजिप्टाई र कालाजार सार्ने भुसुना स्यान्डफ्लाई भेटाएको हो । त्यो सँगै विजयपुर क्षेत्रमै औलो सार्ने लामखुट्टे एनोफिलिस पनि फेला पारेको छ । 

अनुसन्धान टोलीले विजयपुरको पिण्डेश्वर मन्दिर आसपासको क्षेत्र, डाडागाउँ लगायतका लामखुट्टेको बढी प्रकोप भएको क्षेत्रमा किटजन्य रोग फैलाउने लामखुट्टे हिजो दिउसो पक्रिनुका साथै लार्भा सङ्कलन गरेको थियो । हिजो साँझ र रातको समयमा सक्रिय हुने लामखुट्टे र भुसुनाको अनुसन्धान भएको थियो । धरान-१४ को पिण्डेश्वर क्षेत्रमा सबैभन्दा बढी डेङ्गु सार्ने लामखुट्टे फेला परेको अनुसन्धान टोलीका इन्टोमोलोजिस्ट आराधना केसीले बताइन् । पिण्डेश्वर मन्दिरको पश्चिम इनार नजिकैको जमेको पानीमा औलो सार्ने लामखुट्टे र लार्भा फेला परेको थियो । यसैगरी पिण्डेश्वरको बाबाधाम मार्गमा भुसुनालाई ट्रयापिङ गरिएकोमा कालाजार सार्ने स्यान्डफ्लाई नामक भुसुना धेरै मात्रामा ट्र्यापमा परेकोले यो क्षेत्र डेङगु, कालाजार र औलोको उच्च जोखिममा रहेको अनुसन्धान टोलीले बताएको छ । 

Muscito-trap-1त्यसैगरी धरान-१४ डाडागाउँ क्षेत्रमा हिजो राति गरिएको अनुसन्धानमा एडिस एजिप्टाई जातको लामखुट्टे फेला परेको र राति अबेर भुसुना ट्याप गर्न राखिएको ट्रयापिङमा आज कालाजार सार्ने स्यान्डफ्लाई नामक भुसुना अत्यधिक मात्रामा ट्र्यापमा परेको अनुसन्धान टोलीका इन्टोमोलोजिस्ट विनीता पाण्डेले बताइन् । 

टोलीमा सहभागी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका मलेरिया निरीक्षक उदयशंकर शाहका अनुसार विजयपुर क्षेत्र जहा जहा अनुसन्धान र खोज गरियो यो क्षेत्रमा डेङगु, कालाजार र औलोको उच्च जोखिम रहेकोले तत्कालै उच्च सतर्कता अपनाउनुपर्ने बताए । अनुसन्धान टोलीले दुई दिनमा जे परिणाम पाएको छ यसलाई हेर्ने हो भने यो क्षेत्र किटजन्य रोगको उच्च जोखिममा रहेको छ । तर अहिले सम्म यस क्षेत्रमा यसै रोगसँग सम्बन्धित बिरामी फेला नपरेकोले महामारीको तत्कालै जोखिम त नहोला तर यदि कसैलाई डेङ्गु, कालाजार र औलो भइहालेमा यो क्षेत्रमा ठुलो महामारी हुनसक्ने स्वास्थ्य कार्यालय सुनसरीका भेक्टर कन्ट्रोल निरीक्षक शिवन ठाकुरले बताए । 

पछिल्लो समय किटजन्य रोगको सङ्क्रमण बढिरहेको बेलामा धरान आइपुगेको अनुसन्धान टोलीमा प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका भेक्टर कन्ट्रोल भिभि वन डिजिजका फोकल पर्सन दिलीप सिंहले लामखुट्टेको अत्यधिक प्रकोप देखिएकोले यहाँ कुनै पनि बेला डेङ्गु र कालाजारले ठुलो महामारी लिन सक्ने भएकोले बेलैमा सचेतता स्थानिय सरकार र स्वास्थ्यसँग सम्बन्धित सङ्घसंस्था र स्थानिय बासीले अपनाउनुपर्ने बताए । 

यो टोलीले प्रदेश १ को ओखलढुङ्गा, उदयपुर, झापा र सुनसरीमा किटजन्य रोगको अनुसन्धान गरिसकेको छ भने भोलि मोरङको बेलबारी क्षेत्रमा गर्ने बताइएको छ । 

Muscito-trap-3