धरान : यसपालि पनि नेपाली लेखक सङ्घले धरानको भानुचौकमा भानुभक्तको सालिकमा बुधवार २०९ औ भानु जयन्ती  मनाएको छ । 

भानु जयन्तीमा माल्यार्पण गरिने सालिकको पनि आफ्नै इतिहास छ । हिजोआज मोटर भन्ने बित्तिकै सार्वजनिक यातायातका साधन भनेर मानिसले नबुझ्न सक्छन् । झण्डै चार दशक अघि भाडाका यातायात सेवा चलाउन धरानमा आधा दर्जन मोटर कम्पनीहरू खुलेका थिए । मोटर गाडीका व्यवसायसँग भाषा–साहित्यको कुनै साइनो हुने कुरा पनि भएन । 

‘तर, धरानको साहित्यिक इतिहासमा तिनै मोटर कम्पनीहरूले पहिलो स्थान राखेका छन्’ नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य भीष्म काफ्लेको भनाई छ । धरानमा भानु जयन्ती मनाउँदै बुधवार भानुभक्तको सालिक स्थापनाका दिनहरूको सम्झना पनि गरिएको छ । धरानमा भानु जयन्ती मनाइँदै आएको भानुभक्तको सालिक र भानुचौक चार दशक अघि तिनै मोटर कम्पनीहरूले बनाइदिएका हुन् ।  

त्यस बेलाको भानुभक्तीय भाषा मोटरबाट गाडी, बस, सवारी सम्म आइपुगेको छ । भाषा प्रयोगमा आएको बदलाव जस्तै सालिकको रंगरोगन, सजावटहरू फेरिएका छन् । सरोकारवाला संस्थाहरू पनि फेरिँदै गएका छन् । नजिकै भएको धरान थानाको कारण बजार अड्डा भनिँदै आएको ठाउँ सालिक बनेपछि भानुचौक भएको काफ्ले बताउँछन् ।  

२०३४ सालमा तत्कालीन प्रधानमन्त्री कृत्तिनिधि विष्टबाट उद्घाटन भएको सालिकको शिलान्यास भाषाशान्त्री महानन्द सापकोटाले गरेका थिए । भाषा शास्त्री सापकोटा धरानमा पनि बसेका थिए, भन्ने नयाँ पुस्ताका साहित्यकारहरू कमैलाई थाहा होला । उनको बसाई हाल धरान–१ लक्ष्मी सडक स्थित नाति रमेश नेपालीको निवास सापकोटा प्रेसमा हुन्थ्यो । सालिक निर्माण र स्थापनामा आर्थिक योगदान दिने मोटर कम्पनीहरूको नाम अहिले पनि शिलालेखमा देख्न सकिन्छ । ती कम्पनीहरू कोसी अञ्चल मोटर सिन्डिकेटका सदस्य कम्पनीहरू थिए । 

भाषा, साहित्य, संस्कृतिको लागि काम गर्ने कुनै उद्देश्यको साइनो नभएको मोटर कम्पनी, सिन्डिकेटबाट सालिक स्थापनाको संयोग रोचक छ । यातायात व्यवसाय अगुवा हिरा उदासका अनुसार सिन्डिकेटका तत्कालीन सभापति स्वर्गीय जगदीश नेपालीको जोडबलबाट भानुभक्तको सालिक स्थापना भएको हो । उदास त्यस बेला कोसी अञ्चल मोटर यातायात प्रालिका सञ्चालकहरू मध्येका थिए । 

जगदीश नेपाली व्यवसायी मात्र नभएर एक सिद्धहस्त लघुकथाकार पनि थिए । ‘चान्द्रमसी’ साहित्यिक मासिकको लघुकथाकार जगदीश नेपाली विशेषाङ्क प्रकाशित गरिसकेका सम्पादक गिरिराज आचार्य भन्छन् ‘उहाँका लघु कथाहरू खलिल जिब्रानका जस्ता नैतिक मूल्य मान्यता प्रेरित छन् ।’ रोचक तथ्य जगदीश नेपाली, भाषाशास्त्री महानन्द सापकोटाका छोरा हुन् । पिता महानन्द सापकोटाको नाममा भने उनले केही गरेको भने पाइन्न ।

ठुला उद्योग, व्यापारको क्षेत्रमा लागेका मानिसमा भाषा, साहित्य, संस्कृति प्रति अलिकति मात्र रुचि भएमा ठुलै भूमिका र योगदान हुने कुरा यसबाट बुझ्न सकिन्छ । नेपाली लेखक सङ्घका सुनसरी अध्यक्ष प्रा. डा. गोपप्रसाद भण्डारीको भनाई छ ‘भाुनचौकको सालिकले नेपाली भाषा साहित्यप्रति सधैँ सबैलाई प्रेरणा जगाउने काम गर्दै आएको छ ।’

सिन्डिकेटले भानुको सालिक स्थापना गर्ने कार्य मात्र गरेन । सालिकको रेखदेख धरानमा भानुचौकमा भानु जयन्ती मनाउने थालनी पनि गर्‍यो । सिन्डिकेटमा रामप्रसाद खनाल, इन्द्रबहादुर थापा (मगर) कवि, लेखक थिए । त्यस बेला सिन्डिकेटको सहकार्यमा कवि बद्री  पलिखेले  स्थापना गर्नु भएको बुक क्लबले भानु जयन्ती मनाउने गर्दथ्यो ।

पछिल्लो कालखण्डमा विशेषत: २०३६ साल देखी सडक कविता क्रान्तिको लहर चल्यो । त्यसै बेला देखी भानुभक्तको सालिकमै खुला भानु जयन्ती मनाउने चलन बढेको हो । यसै क्रममा युवा साहित्यिक जमात, सुनसरी साहित्य प्रतिष्ठान, मोति संस्मरण समिति, कवि शिरोमणि लेखनाथ प्रतिष्ठान सहितले निरन्तर दिँदै आएको सालिकमै भानु जयन्ती मनाउने परम्परालाई केही वर्ष देखी नेपाली लेखक सङ्घले दोहोर्‍याउँदै आएको छ । 

यसपालि मनाइएको भानु जयन्ती नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य भीष्म काफ्ले प्रमुख अतिथि थिए । प्रा.डा. गोपाल भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा सहभागीहरूले भानुभक्तीय रामायणको छुट्टा छुट्टै श्लोकहरू पाठ गरेका थिए । पाठ गर्नेहरूमा डा.महानन्द तिम्सिना, डा.भवानी शङ्कर भट्टराई, डा.भरतप्रसाद भट्टराई, प्राध्यापक उद्धव अधिकारी, गिरिराज आचार्य लगायत थिए । कवि हिक्मत खड्काले स्वागत भाषण गरेका थिए । 

Bhanu-Salik2Bhanu-Salik1