सुनसरी : गत बुधवार धरान उपमहानगरपालिका प्रमुख हर्क राज राई अर्थात् हर्क साम्पाङले सामाजिक सञ्जालमा काठमाडौँको फोहोरबारे स्ट्याटस लेखे 'जसले जे भनोस् तर म काठमाण्डौं नगएको भए फोहोर उठ्ने थिएन रैछ कम्से कम काम त सुरु गरे ।' त्यसको केही छिन् मा काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहले हो नि तपाई कै .लौरो चुनाव चिन्ह लिएर मैँले चुनाव पनि त जितेको हो नि भन्दै व्यङ्ग्यात्मक प्रतिक्रिया दिए अनि सुरु भयो स्वतन्त्र उठेर चुनाव जितेका धरान र काठमाण्डौंका मेयरको जुवारी त्यस लगत्तै मेयर शाहले त कुनै प्रतिक्रिया दिएका छैनन् । तर धरानका मेयर साम्पाङले भने पटक पटक फोहोरबारे प्रतिक्रिया दिइरहेका छन् । धरानका मेयरको लेखाइले धेरैको मनमा धरानको फोहोर कसरी व्यवस्थापन गरिदैं छ भन्ने जिज्ञासा उब्जिएको छ । 
के धरानले फोहोरको दिगो व्यवस्थापन गरिसकेको हो ?
धरानका २० वटा वडाबाट जम्मा हुने ५० टन फोहोर मध्ये धरान उपमहानगरले ३० टन मात्रै फोहोर उठाउने गरेको छ । वडा नम्बर ४, ५, १७, २० लगायत अन्य वडामा भौगोलिक समस्या तथा कर्मचारी अपुगको बहाना बनाउँदै फोहोर उठाउन सकेको छैन । यहाँबाट दैनिक उत्सर्जन हुने ३० टन मध्ये कुहिने अर्थात् आधा मात्रै फोहोरबाट धरान-६ पानवारिमा रहेको भेन्चर वेष्ट इनर्जी प्रालीले ग्याँस उत्पादन गर्ने गरेको छ । तर नकुहिने अर्थात् दैनिक १५ टन फोहोर तरहरा र धरानको बिचमा पर्ने चार कोसे झाडीमा सेउती खोला किनारमा फाल्ने गरिन्छ ।
फोहोर प्रशोधन केन्द्र निर्माण भएपछि धेरैले धरानको फोहोर व्यवस्थापन होला भन्ने बुझिएको थियो तर अहिले पनि पुरानै स्थानमा फोहोर फाल्ने गरिएको छ । 
उक्त फोहोर फालिएको स्थानका रुख बिरुवा समेत मर्न थालेका छन् भने जङ्गली जनावरले समेत आफ्नो वासस्थान छोडिसकेका छन् । अर्का तर्फ फालिएको फोहोरमा विभिन्न फलाम तथा धातुका तारहरू पाइने भन्दै दैनिक आगो लगाउने गरिएको छ ।
धुवाँका कारण घर छोड्छन्, भवानीपुरबासी 
इटहरी-१९ घर भएकी लक्ष्मी चौलाँगाई विगत ३ वर्ष देखि दमको रोगी हुन् । उनलाई दैनिक औषधी सेवन गर्नु पर्छ । धुवाँ आउनासाथ उनलाई छोराहरूले धुवाँ नआउने स्थानमा सार्ने गरेका छन् । धुवाँले भेटिहाले अस्पताल भर्ना हुनु परेको उनको भनाई छ । आफ्नो घरमा सुरक्षित बस्न पनि नपाउनु भन्दै सम्बन्धित निकायलाई धुवाँ नियन्त्रण गरिदिन आग्रह गर्छिन् । सोही ठाउँकी लिला गिरी पनि धुवाँ पीडित हुन् । घर नजिकै स्वच्छ हावा दिने जङ्गल छ । तर फोहोरको धुवाँले पटक पटक घर छोड्न बाध्य बनाएको छ ।
 दम रोगकै कारण श्रीमान् गुमाएकी ७१ वर्षीय गिरी धुवाँले घर बस्न नदिएको गुनासो गर्छिन् । उनी भन्छिन् ‘बसिरहेको घर त छोड्न कस्लाई रहर हुन्छ, र तर के गर्नु नछोडी धर पाउँदिन । जसोतसो भाग्छु, श्वास रोकी हाल्छ के गर्नु ।’ स्थानीय दलसिंह राईका अनुसार भवानीपुरमा करिब २० घरमा धुवाँका कारण विभिन्न रोग लागेको दाबी गर्छन् । उनी इटहरी र धरानले फोहोर फालेकै कारण धेरै स्थानीय घर छोडेर भाग्नु पर्ने बाध्यता रहेको बताउँछन् । भवानीपुरका करिब ३ सय घर परिवार पिरो धुवाँ खान बाध्य छन् ।
उनीहरूले पटक पटक आन्दोलन गर्दै आएका छन् । तर समस्या जस्ताको त्यस्तै छ । स्थानीय सरकारले नियन्त्रण गर्नु पर्नेमा सरकारले नै धुवाँ लगाएर मानव बस्ती मास्न खोजेको भन्दै पीडितहरू थप पिडामा छन् ।
phohor-dharan-3नकुहिने फोहोर धरानका लागि टाउको दुखाई
धरान उपमहानगरले फोहोर व्यवस्थापनका लागि भेन्चर वेष्ट टु इनर्जी प्रालिलाई जिम्मा दिएको छ । उक्त कम्पनीले कुहिने फोहोर बाट मात्रै ग्याँस निकाल्दै आएको छ । तर प्लास्टिकजन्य तथा नकुहिने फोहोर जङ्गल तथा खोलाको किनारमा फाल्ने गरिएको छ । फोहोर कै कारण धेरै ठुला ठुला रुख सुकेका छन् । धरानका उपप्रमुख अइन्द्र विक्रम बेघा कुहिने फोहोरको उचित व्यवस्थापन गरिए पनि नकुहिने फोहोरको तत्कालका लागि चार कोसे झाडी भन्दा अन्यत्र विकल्प नभएको बताउँछन् । उनले उपमहानगरले गर्ने त्यस्तो योजना समेत नभएको प्रस्ट पारे । बेघाले फोहोर उठाउने जिम्मा लिएको भेन्चर वेष्ट टु इनर्जी सँग बसेर छलफल गर्ने बताए । 

काठमाडौँका मेयर बालेन्द्र साहलाई फोहोर व्यवस्थापनबारे सिकाउने धरानका मेयरले आफ्नो नगरमा भएको फोहोर समस्याबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।