इटहरी : धरान इटहरीको बीचमा रहेको चारकोशे झाडीमा फोहोर फाल्दै आएको कुरा त नौलो छैन । तर, यहाँ फोहोर फालेर जलाएको कारण आम सर्बसाधारण मानिसहरुलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ । त्यति मात्र होइन, इटहरी र धरानको फोहोर जलाइदिने कारणले जंगल क्षेत्र मासिदै पनि गएको छ । तर, सरोकारवालालाई भने वास्ता छैन ।

तरहरामा ५० साता अगाडिबाट फोहोरजन्य पदार्थको सफाई गर्दै आएको लिबरल सोसाईटीका अध्यक्ष सुबेक्छु देवान राईले जंगलमा फोहोर जलाएर जंगल मासिदैँ गएको प्रति चिन्ता प्रकट गरे । जंगलमा फोहोर फाल्दा हुने पर्यावरणीय असरप्रति सबै सचेत हुनुपर्ने उनले बताए । फोहोर जलाउदा जंगल मासिदैँ गएकोमा उनको बढी चिन्ता र आपत्ति छ । यो कार्य तत्काल बन्द गर्नुपर्ने उनले बताए । उनले भने,‘फोहोर फाल्ने ठाउँ छैन भनेर टार्ने काम भन्दा पनि यहाँ फोहोर फाल्नै हुँदैन । फोहोर निरन्तर फालिरहने हो भने हामी यसलाई बन्द गर्नका लागि सशक्त आन्दोलन पनि गछौं ।’

तरहराका युवा अगुवा धुब्र भण्डारीले पनि आफूहरु जंगलमा फोहोर जलाउँदा प्रत्यक्ष मारमा परेको बताउँछन् । जंगलमा फोहोर जलाउँदा, मरेका चौपाया फाल्दा आम मानिसमा दुर्गन्ध फैलिएको उनले बताए । सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि चासो नदिएको उनको गुनासो छ । इटहरी उपमहानगरको फोहोरको जिम्मा पाएको वेष्ट एण्ड इन्भारो मेनेजमेन्ट प्रालिका ब्यबस्थापक कृष्ण भट्टराईले नगरपालिकाले ल्याण्डफिल नबनाएको कारण आफूहरुले जंगलमा फोहोर फाल्न बाध्य रहेको बताए । उनले भने, ‘ल्याण्डफिल बन्नका लागि अझै नौ महिना समय लाग्छ, त्यसपछि भने समस्या नहोला ।’

फोहोर जलाईनुको कारणबारे प्रश्न गर्दा उनले कवाडी टिप्नेले फोहोर जलाएको भन्दै पन्छिए । ‘बिशेषगरी धरानका कवाडी टिप्नेले साँझमा आगो लगाउने र बिहान आएर तार, फलाम टिप्ने गरेका रहेछन् । हामीले प्रहरी लगेर पक्राउ गर्यौ, फेरी उस्तै भएको छ,’भटराईले भने । उनले खनारमा ल्याण्डफिल निर्माण भईरहेकाले यसको निर्माण पछि भने असर नपर्ने प्रतिक्रिया दिए । २०७० सालबाट इन्भारो केयर नामक कम्पनीलाई इटहरी उपमहानगरपालिकाले फोहोरको जिम्मा दिएको थियो । गत असोजबाट इन्भारो केयरको मिति सकिएपछि इन्भारोमै रहेका मानिसहरुले वेष्ट एण्ड इन्भारो मेनेजमेन्ट कम्पनी खोलेर २० बर्षे ठेक्का पारेका छन् । नगरपालिकाले प्रतिबर्ष तीन लाख रुपैँया दिने गरी ठेक्का लगाएको भट्टराईले जानकारी दिए ।