• हर्ष सुब्बा
धरान :  सङ्घीय प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरूको निर्वाचन नजिकिँदै गएको छ । धरान तथा सुनसरी-१ मा अहिले सम्म को अगाडि को पछाडि छन् स्थिति स्पष्ट देखिन्न । गएको स्थानिय चुनाव परिणाम अप्रत्याशित आएको थियो । त्यस्तै पनि हुनसक्ने आकलन गर्नेहरू पनि धेरै छन् । तर संसदीय निर्वाचन फरक हो भन्ने बुझाइले लहडकै भरमा मतदान होला भन्न सकिने अवस्था देखिन्न । त्यसो भन्दा स्वतन्त्र उम्मेदवारहरूलाई कम आँक्न भने मिल्दैन । 
सङ्घीय प्रतिनिधि सभाका सांसदको लागि हुने चुनावमा अहिले सम्म सुनसरी-१ मा देखिएको सामाजिक सञ्जालको प्रचार त्रिकोणात्मक प्रतिस्पर्धामा रहेको देखिन्छ । सत्तारुढ लोकतान्त्रिक बाम गठबन्धनका मुक्सामहाङ मेन्याङबो, प्रतिपक्षी नेकपा एमालेसँगको तालमेलमा जनता समाजवादीका आशोक राई र एमालेबाट विद्रोह गरी प्रत्याशी बनेका मनोजकुमार मेन्याङबो अहिले सम्मको प्रचारमा प्रतिस्पर्धी देखिएका छन् ।
केन्द्रीय तहबाट गठबन्धनीय चुनावी घोषणापत्र जारी भए पनि दलीय प्रत्याशीहरूका प्रतिबद्धता पत्र जारी भएको छैन । तथापि तिनै उम्मेदवारका मुद्दा निर्वाचन क्षेत्रको विकासका कुराहरूमा केन्द्रित छ । माओवादी केन्द्रीय सदस्य समेत रहेका मुक्सामहाङ मेन्याङबो ले राज्यको साधन श्रोत र योजनाको पहुँच सरकार सञ्चालन गर्ने राजनीतिक दलको पहुँचमा रहने भएकाले लोकतान्त्रिक बाम गठबन्धनका प्रतिबद्धताहरू कार्यान्वयन गर्ने विश्वासीले आधार भएको दाबी गरेका छन् ।
पूर्व मन्त्री आशोक राईले धरान केन्द्रीय तहबाट उपेक्षित रहँदै आउनुको मुख्य कारण यहाँको जनप्रतिनिधिको केन्द्रीय पहुँचबाट टाढा रहने गरेकाले त्यस्तो पहुँचका लागि आफू उपयुक्त भएको दाबी गरेका छन् । एमालेका केन्द्रीय उपाध्यक्ष, मन्त्री समेत रहिसकेका राईले जनप्रतिनिधि नहुँदा पनि आफूले धरानमा सङ्घीय बजेटबाट योजनाहरू ल्याएर कार्यान्वयन गर्दै आएको उदाहरणहरू पनि प्रस्तुत गर्दै आएका छन् । 
पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङबोले प्रतिबद्धता पत्रमा अहिले सम्म धरान पछाडि पर्नुमा प्रमुख राजनीतिक दलहरूकै बेइमानै मुख्य कारण भएकोले त्यो सिलसिला तोड्न यसपालि ‘आइसब्रेक’ गर्न मतदाताहरूलाई आग्रह गरेका छन् । 
धरानबाट बिपी बाहेकका सरकारी निकाय, कार्यालय अन्यत्र सर्ने क्रम जारी रहेकाले त्यस्तो अवस्थालाई जनस्तरबाटै चिर्ने चुनाव उपयुक्त समय भएको आव्हान उनले गरेका छन् । 
एमालेबाट आफूले गरेको विद्रोहलाई कसैले आँट गर्न नसक्ने ऐतिहासिक भएको बताउँदै आएका मनोजले राजनीतिक दलहरूको गठबन्धन केवले सत्ता कब्जा गर्ने, राष्ट्रिय ढुकुटी साधन श्रोतको दोहन गर्ने कुचेष्टा बाहेक केही नभएको उनको ठहर छ । स्वतन्त्र उम्मेदवारहरूको राजनीतिक दलहरूप्रतिको आक्रोश र प्रहार यस्तै छ । जुन कुराको सामना प्रमुख राजनीतिक दलका उम्मेदवारहरूले गर्नु परिरहेका अवस्था छ ।
मनोजको उम्मेदवारीले मुख्य रूपमा जसपाका अशोक राईलाई अप्ठ्यारो पार्ने देखिन्छ । उनले प्रदेश सभामा कस्लाई समर्थन गरेका छन् त्यो सार्वजनिक भएको छैन । हालै मात्र पार्टीले उनलाई कारबाही गरे तापनि नरम भाषा प्रयोग गरिएको छ । पार्टीका असन्तुष्ट कार्यकर्ताले सङ्घीय सांसदमा मनोजलाई मत दिए पनि प्रदेश सभा सदस्यमा एमालेलाई नै मतदान गरुन् भन्ने उद्देश्य राखिएको विश्लेषण गरिएको छ । चुनावको मिति नजिकिए सँगै परिस्थिति बदलिन सक्छ । अन्तिम निर्णय मतदाताकै हातमा छ ।