चतरा : नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मङ्सिर ४ पछि पुन: नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् । संविधानको रक्षा र परिवर्तनको उपलब्धिलाई संस्थागत गर्न निर्माण भएको गठबन्धनले दुई तिहाइ मत ल्याएर सरकार बनाउने कार्कीले दाबी गरे । लोकतान्त्रिक वाम गठबन्धनको तर्फको साझा उम्मेदवारको रूपमा सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका नेपाली काँग्रेसका प्रभावशाली नेता समेत रहेका मन्त्री कार्कीले परिवर्तनबाट जनताले पाएको उपलब्धि र संविधान विरोधी तत्त्वलाई परास्त गर्न हालको सत्तारूढ गठबन्धन बनेको बताए । 
उनले देशको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा गठबन्धन लागि पर्ने बताए । "विकास, जनताको आर्थिक समृद्धि, रोजगारी सृजनाको लागि योजना सरकारले बनाउने छ । नेपाली काँग्रेसले घोषणा पत्रमै ३ वर्षसम्मका बालबालिकाहरूको उपचार सरकारले गर्ने भनेको छ। हाल ६८ वर्ष भए पछि पाउने सामाजिक सुरक्षा भत्तालाई ६५ वर्षमा झारेर ज्येष्ठ नागरिकहरूलाई भत्ता उपलब्ध गराउनेछ" उनले भने  ।
आइतबार वराहक्षेत्र ७ स्थित देविघाटमा लोकतान्त्रिक वाम गठबन्धनको वडा समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले भने भोटको लागि जातीय सद्भावलाई बिगार्न तत्त्वहरू सक्रिय बन्दै गएका छन् । सबै मिलेर त्यस्तो तत्त्वहरूलाई पराजित गर्नु पर्छ । नेपाल वहुजाती, वहुभाषी, वहुधार्मिक, बहु सांस्कृतिक मुलुकको हो । सुनसरी ४ मा पनि बहुजाति, बहुधार्मिक, बहुभाषिक नागरिकहरूको बसोबास रहेको छ । सबैलाई सम्मान र सबैले अपनत्व हुने जनप्रतिनिधि आवश्यक पर्छ । झुट बोल्ने, सद्भाव बिथोल्ने विरुद्ध होसियार हुन समेत कार्कीले आग्रह गरे ।
निर्वाचनमा जनताले सुनसरी ४ मा काँग्रेसलाई विजय गराउने दाबी गरेका कार्कीले देशमा अस्थिरता, अराजकता र गफ गर्ने भन्दा काम गर्ने राजनैतिक दललाई मतदान गर्नु पर्ने बताएका थिए । नेपाली काँग्रेस सहित लोकतान्त्रिक वाम गठबन्धनको उम्मेदवारलाई मतदान गरेर प्रतिगमनको मतियार नेकपा एमालेलाई दण्ड दिनुपर्ने कार्कीको भनाई रहेको थियो ।
कार्यक्रममा लोकतान्त्रिक वाम गठबन्धनबाट प्रदेश सभा १ मा उम्मेदवार बनेका काँग्रेसका सदानन्द मण्डलले बिकाएकोलागि काँग्रेसलाई मतदान गर्नु पर्ने बताएका थिए । उनले झुटको खेती गर्ने तत्त्वहरूलाई जनताले पराजित गर्नु पर्ने बताए ।