इटहरी : नेकपा माओवादी केन्द्रका नेता तथा इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीले पूर्व मुख्यमन्त्री शेरधन राईको कारण प्रदेश १ ले नाम राख्न नसकेको बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धनको चुनावी भेलालाई सम्बोधन गर्दै उनले प्रदेशको समृद्धि र विकासमा राई बाधक भएको बताए । 
बिहे अगाडि एउटी महिला पन्छाउन व्यस्त भए । बिहेपछि हेलिकप्टरमा सयर गर्दै ठिक भयो । अनि कसरी राख्छन् प्रदेशको नाम ? उनले भने । 
लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट सुनसरी २ (क) को उम्मेदवार समेत रहेका चौधरीले प्रदेशलाई समृद्ध बनाउन एमालेको पराजय जरुरी रहेको बताए । नेकपा एमाले र केपी शर्मा ओली नेतृत्वको अपवित्र गठबन्धनको कुनै एजेन्डा नमिलेको उनको भनाइ छ । ओली आफै डुब्न लागेका मनुवा भएको बताउँदै उनले नेकपा एमालेलाई कुनै शक्तिले बचाउन नसक्ने प्रस्ट पारे ।