प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पुर्वसन्ध्यामा राजनैतिक दल र स्वतन्त्र उम्मेदवारले घरदैलो अभियान सम्पन्न गरेका छन् । जनताबाट अनुमोदित हुने अवसर खोजिरहेका उम्मेदवारहरू विभिन्न चुनावी मुद्दा लिएर मतदातालाई आश्वस्त पारिरहेका छन् । सुनसरी १ मा धरानको विकाश र समृद्धि नै उम्मेदवारका चुनावी मुद्दा हुन् भएका छन् । यसबिचमा धरानको विकाश र खानेपानी समस्या समाधानमा कस्ता मुद्दा अगाडी आएका छन् । नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक वाम गठबन्धनलाई जनताले कस्ता प्रश्न गरिरहेका छन् । जनताबाट अनुमोदित हुने आधार के छन् भन्ने विषयमा गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नम्बर १ (क) प्रदेशसभामा उम्मेदवार उमेश थापा सँग कपुरीकर्मी विनय बाह्रकोटीले गरेको कुराकानी । 
घरदैलो अभियानको अन्तिम चरणमा हुनुहुन्छ । जनताले कस्तो प्रतिनिधिको अपेक्षा गरेको बुझ्नु भयो ?
मूलभूत रूपमा जनताले विकाश भएन भन्ने नै कुरा उठाएका छन् । दलहरूलाई विजयी गराएपछि प्रतिबद्धता पुरा नभएको गुनासो गरे । बेरोजगारी समस्या र महँगीको कुरामा जनताले ध्यान दिनुपर्ने बताएका छन् । धरानमा लागुऔषधको समस्या समाधान गर्न पहल गर्नुपर्ने कुरा जनताले उठाएका छन् । 
धरानमा खानेपानी समस्याको मुद्दा जटिल बन्दै गएको छ  । यसलाई कसरी सम्बोधन गर्ने प्रतिबद्धता दिनु भएको छ ? 
धराने जनता विद्रोही प्रकृतिका छन् । धरानमा खानेपानीको मुद्दा उठाएकै कारण २०७६ को उपनिर्वाचनमा काँग्रेसलाई विजयी गराए । पछि हामीले कार्यपालिकामा अल्पमतमा भएको कारण अपेक्षाकृत रूपमा काम गर्न सकेनौ । त्यसपछि अहिले हर्कराज राईलाई विजयी गराए । हामीले भूमिगत पानीले दीर्घकालीन समाधान नहुने बताएकै हो । अब कोसी वा तमोरको पानी नै विकल्प हुनुपर्छ । मुख्यतः कोसीको पानी धरानमा ल्याउने कुरामा हामी प्रतिबद्ध छौ । काँग्रेसले त्यसको नेतृत्व गर्छ । 
विद्रोही मतलाई कसरी सम्बोधन गर्नुभएको छ ? 
धरानमा परिवर्तनको पक्षमा छ । पुराना दलहरू प्रति वितृष्णा जागेको सही हो । तर संसदीय व्यवस्थामा दलको विकल्प दलनै हो । प्रदेशको नीति निर्माण गर्ने र प्रदेश सरकारबाट धरानको समृद्धिको लागि काम गर्ने मेरो प्रतिबद्धता छ । धरानमा अहिले युवा प्रतिको अपेक्षा धेरै देखिएको छ । सम्पूर्ण परिवर्तनकारी जनताले म युवा उम्मेदवार भएको कारण अन्य विकल्पका सोच्नु हुन्न भन्ने मेरो विश्वास छ । 
जनताको बिचमा जाँदा जित्न सक्ने आधार के देख्नुभयो ? 
धरानले नेता पायो तर जनअपेक्षा अनुसार काम भएन भन्ने हो । समय र जनताको भावना अनुसार विकाश गर्न नसक्ने प्रवृत्ति देखियो । गठबन्धनको तर्फबाट मैले विश्वास दिलाएको छु । जनताले युवा उम्मेदवारलाई विश्वास गर्ने प्रतिबद्धता जनाएका छन् । अब विकाश युवाबाट मात्र हुने जनताको बुझाई छ । यो क्षेत्रमा विकासकालागि तीव्र रूपमा काम गर्नुपर्ने बेला भएको छ । स्वास्थ्य सेवाको सहज पहुँच र रोजगारी वृद्ध नै त्यसका आधार हुन् । अझै हामीले सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्न प्रदेश सरकार मातहत रहने छुट्टै सिटी अस्पताल व्यवस्थापन गर्ने योजना ल्याएका छौ । यस्ता धेरै जनताका अपेक्षा र मेरो योजना बिचको तारतम्य मिल्नु नै जितको आधार हो । 
धरानको पहिचानको रूपमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान चुनावी मुद्दा मात्र भयो । तपाई पूर्व प्रशासक भएको हिसाबले यसको उचित व्यवस्थापनमा कस्तो पहल गर्ने सोच्नु भएको छ ? 
बिपी प्रतिष्ठान सुधारको लागि हामीले धेरै पहल गरेका छौ । भ्रष्टाचारको विषयमा कुरा उठेपछि त्यसको थप छानबिन भएर कारबाही गर्नुपर्छ भनेर बारम्बार मुद्दा उठाएका छौँ । अझै पनि सेवा विस्तार र उच्च प्रविधिमैत्री बनाउन जरुरी छ । त्यसको लागि बेलैमा दलहरूले ध्यान दिनुपर्छ । मेरो तर्फबाट सक्दो मेहनत र पहल रहनेछ । 
एमालेले गढ मान्दै आएको क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ, कत्तिको चुनौतीपूर्ण महसुस भएको छ ? 
मेरो मुख्य प्रतिस्पर्धा भएको एमाले सँग नै हो । धरान जुन हिसाबले राजनैतिक र आर्थिक हिसाबमा पछाडि परेको छ । त्यसको मुख्य दोषी एमाले हो । धरानमा लामो समय नेतृत्व गर्ने अवसर पाएको एमालेले के भनेर भोट माग्ने मुद्दा नै पाएको छैन । धेरै अवसर पाएर पनि नगरेको पार्टीलाई मत दिने पक्षमा जनता छैनन् । चुनावको सुरुवातमा जुन अपेक्षा गरेको थिएँ अहिले त्यो भन्दा धेरै जनताको साथ पाएको छु । खास चुनौतीपूर्ण देखेको छैन । 
एमाले भित्रको आन्तरिक कलहको फाइदा लिने पक्षमा हुनुहुन्छ ? 
त्यो मैले लिन खोज्ने भन्दा पनि मलाई आफै हुने फाइदा हो । एमालेका साथीहरू प्रति पनि मेरो सम्मान छ । मैले एमालेको विभाजनबाट भन्दा पनि हाम्रो गठबन्धनको चुनावी मुद्दा र जनताको परिवर्तनकारी मतलाई सम्बोधन गर्न सकेका छौ भन्ने हो । हाम्रो गठबन्धन मजबुत छ । नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रका नेता कार्यकर्ताहरू अहिले दत्तचित्त भएर लाग्नु भएको छ । म यसैको बलमा विजयी हुन्छु । 
गठबन्धन भित्रको इमान्दारीताको विषयमा प्रश्न उठेका छन्, यसको कस्तो प्रभाव रहला ? 
हिजो स्थानीय तहमा पनि गठबन्धन प्रभावकारी भएको हो । धरानमा मेयरको पक्षका धेरै मत बदर भएको कारण हामी सफल हुन सकेनौ । वडा देखि नै टिकट वितरणमा केही समस्या देखियो । अहिले गठबन्धनमा कुनै पनि समस्या छैन । गठबन्धनका दलको विकल्प पनि छैन । त्यसैले मत बदरको समस्या पनि यस पटक हुँदैन र हामी अत्यधिक मतका साथ विजयी हुन्छौ । 
धरानलाई पुनर्जीवन दिन वा धरानको पुरानो साख फिर्ता ल्याउन तपाईँको योजना के छ ? 
धरान पछिल्लो समय आर्थिक हिसाबमा कमजोर बन्दै गइरहेको सत्य हो । धरानको व्यापारिक गतिविधिमा गिरावट आएको छ । हामी अझै पनि धरानलाई व्यापारिक केन्द्रको रूपमा विकाश गर्न सक्छौ । धरानको आन्तरिक पर्यटक प्रवर्द्धनमा ठोस काम हुन सकेको छैन । धार्मिक पर्यटनका सम्भावनालाई व्यवसायीकरणको जरुरी छ । धार्मिक पर्यटकलाई आकर्षित गर्न निजी क्षेत्रसँगको समन्वयमा काम गर्न सकिन्छ । धरानको औद्योगिक क्षेत्रलाई व्यवस्थापन गर्ने देखी आइटीको क्षेत्रमा काम गर्ने युवाहरूलाई अवसर दिएर आर्थिक रूपमा चलायमान बनाउन सकिन्छ । रोजगारीको सृजना गरेर दुर्व्यसनीको नियन्त्रण नै हाम्रा मुद्दा हुन् ।