• भीषण राई

पत्रपत्रिका, म्यागाजिनहरु नपढेको, रेडियो नसुनेको र टेलिभिजन समाचार नहेरेको कति भयो ? पक्कै पनि लामै समय भैसकेको छ । बिहान उठे देखी बेलुकी नसुतेसम्म साथै हुने मोबाइल भएपछि यस्तो अवस्था आएको हो । अहिले समाचार मात्र होइन सबै खालका कुरा हातको मोबाइलमा पाइन्छ । चाहे अनुसारको समाचार च्यानल, खाल खालका भिडियो खोजी खोजी हेर्न मिलेपछि डेक्सटप कम्प्युटर र ल्यापटप पनि बिरानो बन्न थालेको छ । सन १९८९ मा इन्टरनेटको जालो वर्ल्ड वाइड वेभको विकास भएपछि समाचारको श्रोत पाउने तरिका फरक भयो । इन्टरनेटको विकास भएपछि सबै मिडियालाई आमूल परिवर्तन गराएको छ । मोबाइलमै सबै थोक पाउन थालेपछि यसको प्रयोगकर्ता ह्वात्तै बढेका छन् ।

इन्टरनेट प्रयोग बढ्यो

इन्टरनेटको प्रयोगले समाचार प्राप्त गर्ने तरिका परिवर्तन भए । समाचार पाउने तरिका हिजो जस्तो रहेन । त्यसैले इन्टरनेटको प्रयोगकर्ता बढे । अब नेपालको मिडिया पनि डिजिटल हुन जरुरी भैसकेको छ । डिजिटल २०२२ ले नेपालमा गरेको अध्ययन अनुसारको (जनवरी २०२२) नेपालको जनसङ्ख्या २९.९५ मिलियन छ । डाटाले नेपालको जनसङ्ख्या वार्षिक रूपमा सन २०२१ र २०२२ को बिचमा (+१.९) प्रतिशतले बढेको देखाएको छ । जसमा ५३.८ प्रतिशत महिला र ४६.२ पुरुष छन् । त्यसमा २१.५ प्रतिशत नेपाली सहरी क्षेत्रमा बसोबास गर्छन् भने ७८.५ प्रतिशत ग्रामीण भूभागमा । नेपालमा इन्टरनेट प्रयोगकर्ता जनवरी २०२२ सम्ममा ११.५१ मिलियन पुगेको छ । केपिअसले गरेको एक अध्ययन अनुसार सन २०२१ र २०२२ को बिचमा नेपालमा (+७.७ प्रतिशत) इन्टरनेट प्रयोग बढेको छ । भविष्यमा इन्टरनेट प्रयोगकर्ता झनै बढ्ने देखिन्छ ।

सोसीयल मिडियाको प्रयोग

मोबाइलमा इन्टरनेटको प्रयोगले डिजिटल मिडिया प्रयोग ह्वात्तै बढेको छ । न्यु मिडिया वा सोसीयल मिडिया प्रयोग गर्ने सङ्ख्या असीमित बनेका छन् । २०२२ मा शीर्ष सोसीयल मिडिया प्लेटफर्महरू मासिक क्रियाशील प्रयोगकर्ता (एम ए यु) द्वारा जारी गरिएको तथ्याङ्कमा फेसबुक २.५६ बिलियन, युट्युब २.५६ बिलियन, इन्स्टाग्राम १.४७ बिलियन, टिकटक १ बिलियन, ट्विटर ४३६ मिलियन प्रयोगकर्ता छन् । नेपालमा सोसीयल मिडिया प्रयोग तथ्याङ्क २०२२ अनुसार नेपालमा सन २०२२ को सुरुवात सम्ममा फेसबुक कम्पनी मेटाले जनाए अनुसार नेपालमा फेसबुक प्रयोगकर्ता १२.३० मिलियन भएको जनाएको छ । सन २०२२ को सुरुवातमा नेपालको जनसङ्ख्याको ४५.७ प्रतिशत नेपाली सोसीयल मिडियामा जोडिएका छन् । केपिअसको अध्ययन अनुसार सोसीयल मिडिया प्रयोगकर्ता नेपाली प्रतिवर्ष (+५.४) प्रतिशतले बढ्दै गएको छ । नेपालमा सबै भन्दा बढी फेसबुक पहिलोमा पर्दछ । ९५.८६ प्रतिशतले फेसबुक चलाउँछन् । जसमा महिला ४२ प्रतिशत र पुरुष ५८ प्रतिशत छन् । २.७१ प्रतिशतले ट्विटर प्रयोग गर्छन् ।  इन्स्टाग्रामको प्रयोगकर्ता नेपालमा २.३० मिलियन छन् । भिडियो स्ट्रिमिङि साइट युट्युब जसलाई ०.७६ प्रतिशतले प्रयोग गर्ने गरेका छन् ।

मोबाइल केन्द्रित दर्शक श्रोता

अहिले सोसीयल मिडियामा आम दर्शक श्रोता पुगेको अवस्था छ । यसलाई सहज मोबाइलले सजिलो बनाएको हो ।   नेपालमा मोबाइल प्रयोगकर्ता सन २०२२ को सुरुवातमा जिएसएमए इन्टेलिजेन्सले देखाएको तथ्याङ्क अनुसार ४०.५८ मिलियन रहेको छ । मोबाइल प्रयोगकर्ता वार्षिक १.५ मिलियन अर्थात् ४ प्रतिशतले बढेको छ । सन २०२१ र २०२२ को बिचमा उक्त तथ्याङ्क आएको हो । हरेक आर्थिक क्रियाकलाप लगायत सबै कामकाज मोबाइल बाटै हुन थालेपछि यसको महत्त्व झनै बढ्दै गएको छ ।

सबै नेपाली सोसीयल साइटमा जोडिएका छन् । जसमा प्रयोगकर्ता टु वे कम्युनिकेसन गर्न र एक्टीव रहन सहज छ ।  मोबाइलमै अडियो र भिडियो सबै इन्टनरनेटको सहयोगमा सञ्चार गर्न सफल बनेको छ । जहाँ ग्राफिक्स, इन्टर्याक्टीव एलिमेन्ट, शब्द वा तस्बिर पनि सहजै प्रयोग गर्न सजिलो छ । इन्टरनेट मिडियामा इमेल, सोसियल मिडिया, पोस्टकास्ट, अनलाइन फोरम, ब्लग साइटस र क्लासीफाइड  एड आदि पर्दछन् । यस्तो खाले इन्टरनेट मिडिया जसलाई डिजिटल मिडिया वा न्यु मिडिया पनि भनिन्छ । मोबाइलमै सबै कन्टेन्ट पाउनुका साथै प्रयोग सरल र सहज भएकाले आम पब्लिक मोबाइल केन्द्रित बनेका छन् ।

 पाठक कहाँ छन् ?

आजकल हरेक बिहानी होस् वा बेलुकी एक पटक मोबाइलको स्क्रिनमा हामी सबैका हातका औला स्क्रोल गर्न अभ्यस्त हुन्छन् । पत्रपत्रिका, रेडियो र टेलिभिजनको ठाउँ मोबाइलले लिएको छ । जुनै समय, जहाँ पनि र जसरी पनि समाचार पढ्न सुन्न र हेर्न मिल्ने भएकाले मोबाइलमा उनीहरूलाई सहज भएको हो । लाइभ कार्यक्रम होस् वा मन परेको लाई लाइक, कमेन्ट शेयर अनि सव्सक्राइव गर्न अप्ठेरो छैन । अब नेपाली मिडिया र त्यसमा काम गर्ने पत्रकार पनि डिजिटलाइज्ड हुन जरुरी भैसकेको छ । अब हामी पत्रकारले मोबाइल केन्द्रित समाचार बनाउन जरुरी भैसकेको छ । अनि मात्र आफ्ना पाठक, श्रोता र दर्शकलाई एकत्रित गर्न सकिन्छ । होइन भने हामी पत्रकार निकै पछि पर्ने वाला छौँ । सोसीयल मिडियाको प्लेटफर्मलाई भरपुर प्रयोग गरी उनीहरूमाझ पुग्नु जरुरी भैसकेको छ ।

उनीहरूले मोबाइल अन गरेर सोसीयल मिडिया खोल्दा त्यही समाचार भेटिउन् । ती समाचारमा रियाक्सन सहित कमेन्ट गर्न र शेयर गर्न पाउन् । चाहे त्यो फेसबुक होस् चाहे त्यो ट्विटर र टिकटक किन नहोस् । न्युज कन्टेन्ट आम पाठक श्रोताले सहजै मोबाइलमा पाउन् । अहिले हामीले जुन सोसीयल मिडियाका प्लेटफर्म निःशुल्क पाइरहेका छौँ । यसको प्रयोग गरी आफ्नो मिडिया चलाउन सकिन्छ । जहाँ पत्रकारले आफ्नो सिप प्रयोग गरी आफ्नो न्युज कन्टेन्ट उनीहरूमा पुर्‍याउन र उनीहरूबाट सब्सक्राइबर बढाउन सक्छन् ।  

मिडियामा स्वरोजगार

जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिँड भनेझैँ हो सोसीयल मिडिया । कसैले यसमा फोकोटीया समय व्यतीत गरिरहेका छन् त कतिले यही बाट मनग्गे लोभलाग्दो पैसा कमाएका छन् । यही बाट थुप्रै व्यक्ति स्वरोजगार बनेका छन् । डिजिटल मिडियाले आफै मालिक बन्ने अवसर पनि दिएको छ । पत्रपत्रिका, रेडियो र टेलिभिजन मात्रै मिडिया होइन । सोसीयल मिडिया पनि मिडिया बनेर आएको छ । चुस्त दुरुस्त विशेषता बोकेको यो मिडिया नै समस्त पाठक र दर्शकको मन जितेको छ । सोसीयल मिडिया उनीहरूको रोजाई बनेको छ ।

यसलार्ई चुनौती थपिएको मान्न हुन्न । चुनौतीलाई अवसरको रूपमा प्रयोग गर्नुपर्दछ । मोबाइल केन्द्रित दर्शक बढ्दै गएको बेला हामी पत्रकारले पनि अब मोबाइल न्युज कन्टेन्ट बनाएर आफ्नो कला र सिप आम पाठकको लागि पस्कन आवश्यक भइसको छ । हामी नेपाली पत्रकार पनि रूपान्तरण हुनुपर्ने बेला आइसकेको छ । आम पाठक र दर्शक फ्रेण्ड्ली नहुने हो भने हामी पनि यस क्षेत्रबाट पलायन हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न । त्यसैले बेलैमा हामी दर्शक श्रोताको रुचि हेरेर आफूलाई अपडेट गर्न जरुरी छ ।

न्युज कन्टेन्ट

इन्टरनेटको दुनियाँमा कन्टेन्ट जो सँग छ । उ सबै भन्दा धनी मानिन्छ । इन्टरनेटको दुनियाँमा कन्टेन्ट इज द किंग भन्ने गरिन्छ । हामी पत्रकार भएकोमा गर्व गरौँ । संसारका सबै कन्टेन्टको निश्चित आकार, आयतन र परिधि हुन्छ तर हामीसँग कहिले नसकिने न्युजका कन्टेन्ट छन् । न्युज कन्टेन्ट निरन्तर छन् । हामी सँगै छन् । सोसीयल मिडियामा यसको प्रयोग गरेर हामी स्वरोजगार बन्न सकिन्छ । सोसीयल मिडिया अर्थात् सोसीयल नेटवर्कीङ साइटहरू फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युब, स्नापच्याट आदिमा प्लेटफर्म तयार छन् । जसको प्रयोगले हामी पत्रकारले आफ्ना न्युज कन्टेन्ट सहजै आम पाठक दर्शकमा पुर्‍याउन सक्छौँ । अहिले नेपाल लगायत विश्वमा यस्ता सोसीयल मिडिया प्रयोगमा लोकप्रिय बनेका छन् ।

मोबाइलमै न्युज सम्पादन

समाचार बनाउन अब कुनै स्टुडियो आवश्यकता रहेन । जहाँ जुन स्थानमा रिपोर्टिङमा हुनुहुन्छ त्यही बाट मोबाइलकै सहयोगमा दुनियाँमा समाचार प्रचार प्रसार गर्न सकिन्छ । मोबाइलले भिडियो खिच्नुहोस् । मोबाइलमै समाचार लेख्नुहोस् । मोबाइलमै भ्वाइस ओभर रेकर्ड गर्नुहोस् । तपाई रिपोर्टर हो भने रेकर्डरमा रेकर्ड गरिएका आवाज होस्, भिडियो होस् वा नोटमा लेखिएका समाचारलाई आफ्नो न्युज संस्थामा तुरुन्त पठाउनुहोस् ।

पत्रकारितामा मोबाइल अहिले वरदान भएको छ । मोबाइलकै कारण यो सबै काम सहज बनेको छ । न्युज संस्था बाहेक तपाई आफै स्वरोजगार रूपमा हुनुहुन्छ भने आफ्नो सोसीयल मिडिया उक्त समाचार पोस्ट गर्नुहोस् । आफ्नो सोसीयल मिडियामा समाचार पोस्ट गर्न अघि समाचार सम्पादन गर्न पनि मोबाइलमै सहज बनेको छ । मोबाइलमा काइन मास्टर र भिएन जस्ता एप्लीकेशनको सहयोगमा अडियो भिडियो सम्पादन गर्न सकिन्छ । यसरी पनि मोबाइलमै समाचार सम्पादन गरी समाचार पोस्ट गर्न सकिन्छ । सम्पादन अभ्यासको भने आवश्यकता छ ।

सोसीयल मिडियाका अफर

अहिले सबै सोसीयल मिडियाले कन्टेन्ट बनाउनेलाई अफर दिएको छ । यस्ता मिडियाले कन्टेन्ट बनाउने सबैलाई पैसा दिने गर्दछ । त्यसको लागि भने केही सर्तहरू पुरा गरेपछि भने तंपाईको खातामा पैसा जम्मा गर्दिने गर्दछ । युट्युब च्यानल चलाउनुहोस् । हजार सब्सक्राइव पुरा भएर चारसय घण्टाको बाच टाइम पुरा गर्नु भयो भने तंपाईलाई युट्युुवले पैसा दिन सुरु गर्दछ । भर्खरै युट्युबले टिकटक जस्तै छोटो भिडियो शर्टस पनि सुरु गरेको छ । शर्टस बनाएर पनि पैसा कमाउन सकिन्छ । फेसबुकमा पेज बनाएर पनि पैसा कमाउन सकिन्छ । दश हजार फलोअर सँगै तिन मिनेट माथिका भिडियो तिस हजार मिनेटको वाचटाइम पुरा गरे फेसबुकले पनि उक्त पेजलाई मनिटाइज गरी पैसा दिने गर्दछ । भर्खरै फेसबुकले प्रयोगकर्तालाई लोभ्याउन क्वाइन पाइने गरी छोटो रिल भिडियोको सुरुवात गरेको छ । इन्स्टाग्राम, ट्विटर र टिकटकबाट पनि पैसा कमाउन सकिन्छ । स्पोन्सर्ड पोस्ट, पोइन्ट कलेक्सन, गिफ्ट कलेक्सन बाट आर्थिक लाभ गर्न सकिन्छ ।

यसरी पैसा कमाइन्छ

अहिले कम्पनीहरूले आफ्नो विज्ञापन गर्न सोसीयल मिडिया वा यस्तै प्लेटफर्म प्रयोग गर्न थालेका छन् । कम्पनीको उत्पादनहरूलाई मार्केटिङ गर्न यस्ता सोसीयल नेटवर्क महत्त्वपूर्ण भएको छ । ठुला मिडियालाई लाखौँ करोडौँ पैसा दिएर विज्ञापन गर्न भन्दा पब्लिकसँग प्रत्यक्ष सरोकार बनेका सोसीयल मिडियाले सस्तो र भरपर्दो रूपमा उनीहरूको विज्ञापन गर्दिने भएकाले ठुला कम्पनीको ध्यान अहिले सोसीयल मिडियामा गएको हो । कम्पनीले सिधै ग्राहकसँग आफ्नो उत्पादनबारे कुराकानी गर्न सक्छन् । यस मार्फत सोचे जति र चाहे जति ग्राहकसँग सहजै पुग्न सहज पनि छ ।

तपाईसंग आफ्नो सोसीयल मिडिया प्लेटफर्म छ भने उक्त कम्पनीले तंपाईसंग विज्ञापन कारोबार गर्न सक्छन् । पत्रकारले आफ्नो न्युज ब्राण्डको बलमा ब्रान्डहरुसंग साझेदार गरेर पैसा कमाउन पनि सक्छन् । तंपाईको फलोअर हेरेर कुनै पनि कम्पनीले तपाइसँग काम गर्न चाहन्छ । आफ्नो च्यानलमा कुनै पनि बस्तुको उत्पादन र सेवाहरू बारे जानकारी दिएर पनि पैसा कमाउन सकिन्छ । उनीहरूबाट विज्ञापन बापत पैसा लिन सकिन्छ । कुनै कम्पनीका उत्पादित ती बस्तुहरू विक्री बापतको कमिसन लिएर पनि काम गर्न सकिन्छ । कुनै पनि उत्पादनको लिङ्क वा पोस्ट बाट पनि मार्केटरको रूपमा आफ्नो प्लेटफर्ममा पोस्ट गरेर पैसा कमाउन सकिन्छ । लाइव बसेर कुनै पनि सामग्रीको प्रवर्द्धन गरी पनि पैसा कमाउन सकिन्छ।

यो सामाजिक सञ्जालमा समाचार सँगै अन्य व्यापार गर्न सकिन्छ । फरक व्यापार वा आफ्नै मिडिया सामग्री पनि बेच्न सकिन्छ । सोसीयल मिडियामा धेरैले आफ्नो अन्य व्यवसाय फेन्सी सामान राखेर पनि अनलाइन बिजनेस गरेका उदाहरण छन् । मिडिया सम्बन्धी ज्ञान पनि बाँडेर पैसा कमाउन सकिन्छ । कसैलाई अनलाइन मिडिया कोचिङ दिन सकिन्छ । जसको लागि फी लिएर उनीहरूलाई मिडिया कोचीङ दिन सकिन्छ । युजर जेनेरेटेड कन्टेन्टलाई फोकस गरेर पनि कुनै पनि कम्पनीको उत्पादनलाई प्रवर्द्धन गर्न सकिन्छ । यस बाहेक समाचारमा राखिने प्रि रोल, मिड रोल र इमेज एडबाट पनि पैसा कमाउन सकिन्छ ।  

(लेखक नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य हुन् । )