• रश्मि प्रधान
धरान : धरान उपमहामहानगरपालिकाद्वारा आयोजना हुने धरान उत्सव स्थल धरान-१२ स्थित पब्लिक हाई स्कुल मैदानमा सारिएको छ । यसअघि उत्सव धरान-१६ रङ्गशालाको तल्लो भागमा सञ्चालन गरिने भएको थियो । मेयर हर्क साम्पाङले गएको पुष ५ गते सुनसरी उद्योग वाणिज्य सङ्घको भवनमा बोलाएको बैठकले आयोजक समिति गठन गर्दै उक्त स्थानमा धरान उत्सव सञ्चालन गर्ने निर्णय गरेको थियो ।
पछिल्लो पटक उपमहानगरपालिकाद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उत्सव स्थल पब्लिक हाई स्कुल मैदान रहने जानकारी दिएको हो । उत्सव पुस २० देखि २२ गते सञ्चालन हुने जनाइएको छ । 
धरान नगरपालिका स्थापना भएको सम्झनामा उपमहानगरपालिकाले धरान उत्सव आयोजना गरिँदै आएको हो । धरान पहिलो पटक २०१७ सालमा धरान विधिवत् रूपमा नगरपालिका घोषित भएको हो ।  उक्त हिसाबले धरान नगरपालिका स्थापना भएको ६२ वर्ष पुरा भएको छ । धरान नगरपालिका रहँदै आएको बेला छिमेकमा रहको घोपा र बाँझगरा गाविस गाभिएर पछिल्लो समय धरान उपमहानगरपालिका बनेको हो ।  
पत्रकार सम्मेलनमा मेयर हर्क साम्पाङले दिएको जानकारी अनुसार धरान उत्सवको पहिलो दिन शान्ति र्‍याली, उद्घाटन समारोह, सम्मान तथा पुरस्कार वितरण सहित लोक दोहोरी प्रतियोगिता हुनेछ । दोस्रो दिन बिहान सेवक अभियानको अगुवाइमा विभिन्न सङ्घ संस्थाहरूको सहभागितामा सरसफाइ अभियान र मास साइक्लिङ कार्यक्रम हुनेछ । सोही दिन सुनसरी जिल्लाका उपमहानगर, नगर र गाउँपालिका प्रमुख र उपप्रमुखहरू सहभागी रहने ‘सुनसरीको सम्वृद्धिका लागि समन्वय र प्रयास’ विषयक छलफल कार्यक्रम आयोजना हुनेछ । सोही दिन विद्यालय स्तरीय निबन्ध प्रतियोगिता, लोक नृत्य प्रदर्शन तथा रस्सी तान प्रतियोगिता हुनेछ । 
तेस्रो दिन जातीय सङ्घ संस्थाहरूको सांस्कृतिक प्रस्तुति सहित धरान उत्सवको समापन कार्यक्रम हुने जनाइएको छ । धरान उत्सव अवधिमा तिन दिन स्वास्थ्य सम्बन्धी कार्यक्रम र साँझमा साङ्गीतिक, सांस्कृतिक कार्यक्रम हुने छन् । उत्सवमा मौलिक सांस्कृतिक पहिचान र धरानको इतिहास झल्काउने वृत्तचित्र प्रदर्शन गरिने छ।
उत्सवका लागि हाई स्कुल मैदानमा ८० भन्दा बढी सङ्ख्यामा स्टलहरू बनाइने छन् । स्टलहरू व्यवसायीक तथा प्रदर्शनीहरूका रहने बताइएको छ । साथै स्टलहरूमा उत्सव भरी नै जातीय परिकार सहितका खाना, खाजा, धरानमा उत्पादित बस्तु तथा पहिचानका सामाग्री रहने बताइएको छ । कृषि क्षेत्रलाई प्रवर्द्धन गर्ने स्टलहरू पनि रहने छन् । उत्सव आयोजनामा करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।