धरान : सृजनशील मानिसलाई उमेरले छेक्दैन । साहित्य लेखनको क्षेत्रमा यसको पछिल्लो उदाहरण बनेकी छन् वयोवृद्ध लेखिका ८५ वर्षिया खड्गमाया तुम्बाहाङफे लिङथेप । उनले ८६ वर्षको उमेर टेक्न लाग्दा एकैसाथ कथा सङ्ग्रह र कविता सङ्ग्रह दुई वटा कृति प्रकाशित गर्ने तयारी गरेकी छन् ।

उक्त दुई कृति प्रकाशित भएपछि जीवनको उत्तरार्धमा उनको प्रकाशित कृतिको सङ्ख्या ६ वटा हुनेछ । यसअघि उनले ८४ वर्षको उमेरमा नेपाली भाषामा तेस्रो कथा सङ्ग्रह ‘नरमाया पागल भई’ प्रकाशित गरेकी थिइन् । त्यस अघि उनको सावरमती, पुर्खाका कृतिहरू, वैशाली कथा सङ्ग्रह प्रकाशित छन् ।

प्रकाशोन्मुख कथा सङ्ग्रह र कविता सङ्ग्रह अहिले डेस्कटपमा टाइपका लागि गएको छ । खड्गमायाका छोरा लिम्बू इतिहास, संस्कृतिका अनुसन्धाता उत्तम लिङथेपले भने ‘आमाको नयाँ कृतिको नाम जुराइएको छैन, टाइप भइसकेपछि आमाकै इच्छामा किताबको नाम राखिने छ ।’

यसअघि खड्गमायाको कथा सङ्ग्रह ‘नरमाया पागल भई’ कोरोना महामारी बिच २०७७ माघमा प्रकाशित भएको थियो । छोरा उत्तमका अनुसार पुस्तक विमोचन गरी सार्वजनिक इच्छा कोरोना महामारीले पूरा हुन सकेन । साहित्य लेखनमा रुचि राख्ने आमा आउँदो माघ १७ गते देखी ८६ औँ वर्षमा लाग्ने उनले बताए ।

कथा र कविता लेख्नमा रुचि राख्ने आमा खड्गमाया अहिले अहिले पनि नियमित लेखन कार्यमा तल्लीन रहने गरेको उनले बताए । नयाँ कृति प्रकाशित भएपछि यसपाली भने विमोचन गरेर सार्वजनिक गर्ने परिवारको सोचाई छ । 

वयोवृध्दा कथाकार खड्गमायाको जन्म १९९४ माघ १७ गते हाल तेह्रथुम मेयङलु तम्फुला-४ मा त्यस बेलाका सम्भ्रान्त परिवारमा भएको थियो । उनका पिता ललितबहादुर तुम्बाहाङफे २००७ सालमा धनकुटामा गठन भएको प्रान्तीय सरकारका गभर्नर बनेका थिए । आमा देवका आङबुहाङ थिइन् ।

त्यस बेला शिक्षाको सुविधा थिएन । २००७ सालको क्रान्ति पछि गाउँमा खुलेका फुसका छाप्राको विद्यालयमा सामान्य लेखपढ गर्न सिकेकी थिइन् । त्यसैको भरमा स्वअध्ययनबाट धार्मिक पुस्तकहरू अध्ययन गर्दै आमा लेखपढमा अगाडि बढेको छोरा उत्तमले बताए । खड्गमायाको विवाह १८ वर्षको उमेरमा स्वर्गीय पूर्ण कुमार लिङथेप सँग भएको थियो । हाल धरान-१६ मा छोराहरू सँग बस्दै आएकी खड्गायाको ४ छोरा बुहारीका ११ नाति नातिनी छन् । 

खड्गमायाको बाजे लिम्बुवानमा समाज सुधार अभियानका महागुरु फाल्गुनन्दबाट प्रभावित थिए । त्यसैले उनको घरमा शिक्षालाई प्राथमिकता दिइएकाले आमामा त्यसको प्रभाव परेको छोरा उत्तमले बताए । लिम्बु मातृभाषी खड्गमाया अक्षर, शब्दहरू सबैले सबैले स्पष्ट पढ्न सक्ने नेपाली अक्षर तथा भाषामा लेख्छिन् । साथै उन मातृभाषा याक्थुङ लिम्बु भाषा, पालामहरुमा पनि उत्तिकै पोख्त छन् ।