मध्य रात पछि पनि
मलाई निद्रा पटक्कै परेको छैन
म आँखा चिम्लेर बर्बराउने गर्छु
फेरि कहिले खुल्ला आँखाले सपना देख्छु
यस्तै अन्योलताको बिचल्लीहरूसँग खेल्दा-खेल्दै
म सडकको बिच चौराईमा पुग्छु
जहाँ बिहानीको डाक सँगै हरेक
वस्तुहरू विद्रोहको नारा लगाउन तत्पर भएको देख्छु
प्रत्येक खोगी र खोरहरूबाट
कुखुराको भालेले पनि विद्रोहको स्वरमा बासेको सुन्छु
बिहानीले पनि यहाँ बाध्यतै-बाध्यतामा लर्बराउदै
काँप्दै धर्तीमा खुट्टा टेकेको देख्छु ।
अनि म त्यही सडकबाट.........
यहाँको वातावरण, निर्जीवता र व्यवस्थाको निम्ति
विद्रोहको नारा लगाउन चाहन्छु......
किन ? आजकल यहाँ सबै थोक
भत्किएको, नमिलेको र लथालिङ्गै भएको देख्छु ।
यहाँ गाँस, वास-कपासको खोजीमा थकित भई
सडकको एक कुनामा एउटा गरिब लडी रहेको देख्दा
त्यही छेउको आलिसान भवनमा सुत्ने धनीहरूलाई म सम्झन्छु
सडक-पेटीमा सल्केको भोकको खडेरी....र...
भवन भित्र अघाएका किर्नाहरूलाई पनि सम्झन्छु
फाटेको सिलाउने गरिब र च्यात्तिएको लगाउने धनीहरू
यो कस्तो सहर ......!!! यो कस्तो सहर.... यहाँ
कोही मजबुरीमा फाटेको त कोही स्वार्थमा च्यात्तिएको देख्छु ।
सहरको अव्यवस्थित ढाँचाहरू, चुल्लिदै गई रहेको व्यवस्थापन,
हामी माझको भेद-भाव र प्रत्येक निर्जीवताको पिर र
विडम्बनाहरू देखि व्यग्र भई आज यहाँ उभिएर
विद्रोहको भाषणलाई अघि बढाउन चाहन्छु ।
सडक तिमी आज किन खाल्डाहरूले मात्र भरिएका छौ
बरु तिमी फाटिदेऊ-चर्किएर भत्किदेऊ ।
यी सहरका हैमान-हैमान बिलडिह्हरु
लाम लागेर किन रमिते मात्र बनेका हुन्....??
तिमीहरूको जन्म सँगै यो सहर सागुरिदै गएको आभास गर्छु
बरु तिमीहरू जगबाटै हल्लिएर पल्टिदेऊ.......र....
स्वार्थ र भेदभावका रङ्गमञ्च यो सहरमा समानता बाडी देऊ,
हे ! सडक दुई किनारका बिजुलीका खाबोहरु हो
शिर भरि कपालको गुजुल्टो बोकी आँखा खोलेर
रात भरि अनिधो भई किन उभिएका छौ..??
तिमीहरू पनि थकित भई आँखा चिम्लेर सुतिदेऊ ।
यो अव्यवस्थित सहरलाई चेतना जगाउने
हुरी आज किन शीतल र मन्दमन्द बहेको छ..??
यो सहरको छेउबाट बग्ने नदी–नालाहरू
किन सोझो भएर ओह्रालै–ओह्रालो मात्र बगिरहेका छौ...??
कहिले काही उम्लेर पोखिदेऊ-बाढी बनेर उर्लेर....
प्रत्येकको घर–आँगनमा परिवर्तनको मूल फुटाई देऊ ।
भूकम्प तिमी आज किन अचेत भई निदाएका छौ...??
तीव्र रूपमा कामेर परिवर्तन हुने गरी यो सहरलाई हल्लाइ देऊ ।
आकाश आज मडारिएर पनि किन शून्य छौ...??
तिमी पग्लिएर वर्षी देऊ र परिवर्तनको थोप्लाहरूले
यो कलङ्कित/स्वार्थी सहरलाई भिजाई देऊ र पखाली कटुतालाई
व्यवस्थित सहर बनाई नयाँ जन्म गराई देऊ......
जहाँ स्वाभिमानको ताज, साम्यताको आभास, शान्त–सुन्दरताको
फूलहरू र समानताको लहरहरू होस्....
जहाँ नेपाली भई बाँच्ने मनहरू मिठास र गर्वको
उचाइमा चन्द्र र सूर्यको सङ्केत भित्र सदैव फरफराई रहोस् ।।
- अद्रियानो दिनु थापा