- गिरिराज भट्टराई
मैले थाहा पाउँदै देखी घरमा एउटा सानो भाँडो थियो । छिनछिनमा अलग अलग कुरा गर्ने कहिले गीत सुनाउने कहिले देश विदेशका खबर सुनाउने त्यो भाँडो अचम्मको लाग्थ्यो । त्यो सानो भाँडोमा बसेर यसरी गीत गाउने, खबर भन्ने कति सानो मान्छे होला भन्ने खुल्दुली लागि रहन्थ्यो । तर त्यसलाई छुने वा चलाउने अनुमति हामी साना केटा केटीलाई थिएन । हामीलाई बरु भनेजस्तो लुगा थिएन तर त्यो सानो भाँडोलाई भने चिटिक्क परेको बुट्टे कपडाको झम्कना सहितको खोल लगाइएको थियो । कपडामा फित्ता लगाएर घरको भित्तामा झुन्ड्याउने गरिएको थियो त्यो ।
पहाड घर तेह्रथुमको तत्कालीन श्रजुङ गाउँ पञ्चायत हाल मेन्छेयाम गाउँपालिकामा करिब २०४५/२०४६ साल तिरको सम्झना आउँछ सायद बुबाले धनकुटा पाख्रिबासमा रहेको कृषि केन्द्रमा काम गर्दा किनेर ल्याउनु भएको थियो होला । पानासोनिक ब्राण्डको रेडियो सेट रहेछ त्यो अचम्मको भाँडो ।
पछि मधेस झर्दा घरका माल सामान सँगै परिवारको एक सदस्य बनेको त्यो रेडियो पनि छुट्ने कुरै भएन । पहाडमा हुँदा घरको भित्तामा झुन्डिने त्यो रेडियो मधेस झरेपछि काकाको कोठामा कैदी बन्यो । धेरै पुरानो बनिसकेको रेडियोको मिटरको तार समेत चुटिएर काकाले गाँसेर बनाउनु भएको थियो । रेडियो सेट पुरानो भएर बाहिरबाट अर्को तारले बाँध्नु परेको थियो । सायद २०५२ साल सम्म हाम्रो घरमा त्यही पुरानो रेडियो थियो ।
त्यो रेडियो बिग्रिए पछि अरू नयाँ रेडियो किनिए । मलाई पहिल्यै देखी रेडियो अत्यन्तै मन पर्ने । स्कुल छुट्टी भएर घर आएर भैँसी चराउन जाँदा पनि रेडियो बोकेरै जान्थेँ । रेडियो नेपाल देखी अल इन्डिया रेडियो सम्मका गीत बज्ने समय र कार्यक्रम पुरै याद थियो । चाइना रेडियो ईन्टरनेश्नल (सिआरआई) मा सहभागिताको लागी पत्राचार गर्ने देखी रेडियो कार्यक्रम मार्फत पत्रमित्रता गर्ने सम्मका गतिविधिमा संलग्न हुन्थे । गाउँका साथी भाइले म घरमा भए नभएको पनि रेडियो बजेको छ वा छैन भनेर थाहा पाउँथे । सायद २०५५ साल तिरको तिहारमा काठमाडौँ दिदीकोमा टिका लगाउन आउँदा दिदीको घरमा युटिएलको टेलिफोन सेट थियो । त्यसैबाट रेडियो नेपालको राजधानीको सन्देश कार्यक्रममा सहभागी भएर गाउँमा आफ्नो सन्देश पठाएँ । पछि तिहार सकेर घर आउँदामा साथ नानी तँ रेडियोमा बोलीछस नि अस्ति भट्टराई माइलाको छोराले सुनेको रहेछ भनेर आमाले भन्दा कम्ता गजक्क परिएन ।
मलाई सानै देखी रेडियोको अत्यन्तै ठुलो सौख थियो । खेत जोत्न जाँदा वा बिउ काढ्दा पनि आलिको डिलमा रेडियो बजिरहेको हुन्थ्यो । पानी पर्दा रेडियोलाई घुम ओढाएर आफू भिज्दै काम गर्थेँ । पछि झापाको बिर्तामोडमा रहेको कञ्चनजङ्घा एफएमले गाउँ गाउँमा श्रोता क्लब बनाउँदा हामीले पनि बालुबाडी (हाल कचनकवल वडा नम्बर ७) मा दिपज्योती कञ्चनजङ्घा एफएम रेडियो श्रोता क्लब गठन गरेका थियौँ । म श्रोता क्लबको सचिव गाउँमा केही गतिविधि भए भने समाचार बनाएर पठाउने गर्थेँ । श्रोता क्लबको कार्यक्रममा दुई पटक सहभागी भएर अन्तरवार्ता पनि दिएको थिएँ । रेडियोमा बोलेपछि गाउँमा चर्चा नै अर्कै, कुनै कार्यक्रममा आफ्नो उपस्थिति नै अर्कै हुन थाल्यो । गाउँमा श्रोता क्लबको माध्यमबाट र अन्य सामाजिक कार्यको माध्यमबाट हाजिर जवाफ, नृत्य लगायतका प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गथ्र्यौं । कार्यक्रमको सञ्चालक म नै हुन्थे । कार्यक्रम सञ्चालन एकदमै राम्रो छ भनेर अग्रज र साथीभाइ हौस्याउँथे ।
२०६३ सालमा दमकमा सप्तरङ्गी एफएम खुल्दै छ र त्यसमा काम गर्नका लागी तालिम सञ्चालन हुने पत्रिकामा सूचना छापिएको थियो । साथीभाइहरूले रेडियोमा तिम्रो नाम निस्कन्छ भन्दै हौस्याउन थाले । तालिम लिन आएको पछि नाम पनि निस्कियो । त्यस बखत म गाउँमै एउटा सामाजिक संस्थाको सामाजिक परिचालक र अर्को गैह्र सरकारी संस्थामा काम गर्थेँ । आम्दानी राम्रै थियो । म दुई ठाउँबाट तलब खान्थेँ, रेडियोमा काम गर्दा एउटाबाट आउने जति तलब पनि नआउने । असमन्जसका बिच बालुबाडीबाट २०६४ सालमा दमक आएँ । पहिलो दिन रेडियोमा कार्यक्रम सञ्चालन गरेर बाहिर निस्कँदा गुलाबको फुल लिएर ५ जना श्रोता आउनु भएको थियो । साङ्गीतिक कार्यक्रमको सञ्चालक भएकाले ग्ल्यामरको दुनियाँको रमाइलो पनि अनुभूति गर्न पाइयो । बजारमा निस्कँदा आफैले बोलेको विज्ञापन रेडियोमा बजेको सुन्दा गजक्क परिन्थ्यो । २०६१ सालमा कञ्चनजङ्घा रेडियो श्रोता क्लबबाट सुरु भएको रेडियोको यात्रा २०६३ साल देखी दमक आएर सप्तरङ्गी एफएममा जोडियो र हाल पनि निरन्तर छ । रेडियो सँगको मेरो नाता सम्बन्ध उस्तै प्रगाढ छ ।
विगतमा बस्तु गोठालो जाँदा बुबा बाट लुकाएर रेडियो बोकेको दिन र अहिले दैनिक रेडियोमा समाचार वाचन गर्दाको दिन सम्ममा रेडियो सँग कति किसिमका सम्झना र क्षणहरू जोडिएर आए होलान् । कस्ता कस्ता पलहरू बित्ते होलान् । तर पनि रेडियो प्रतिको माया र प्रगाढता उस्तै र कलिलै छ । रेडियो सँगको यो अजम्मरी नाता कायमै रहने छ ।
लेखक झापाको दमकमा रहेको सप्तरङ्गी एफएमका प्रबन्ध निर्देशक हुन ।