धरान : यात्रा संस्मरण लेखन केवल यात्राको वर्णन मात्र होइन, समाजको अवस्था र समुदायले भोग्दै आएका आर्थिक, सामाजिक, सांस्कृतिक शोषण, विभेदको अनुभूतिहरू प्रस्तुत गर्ने माध्यम पनि हुनुपर्दछ । आज मङ्गलवार आयोजित संवाद कार्यक्रममा पूर्व प्रदेश प्रमुख, प्राडा.गोविन्द तुम्बाहाङले भने ‘यात्रा साहित्यले यात्रामा वर्णन मात्र होइन, तत्कालीन सामाजिक अवस्थाको विश्लेषण पनि हुनुपर्दछ ।'

सहप्राध्यापक बालकृष्ण माबुहाङको यात्रा संस्मरण पुस्तक ‘इःमानु निःमा’को परिचर्चाका लागि भएको विमर्श कार्यक्रममा प्राडा.तुम्बाहाङले उक्त कुरा बताएका हुन् । नेपाली पुस्तक बजारमा पछिल्लो समय प्रकाशित यात्रा संस्मरण साहित्यको यो नयाँ कृति हो । पुस्तकमा लेखकले विभिन्न समयमा पश्चिमको रोल्पा देखी पूर्वको ताप्लेजुङ सम्म गरेका ११ वटा यात्रा संस्मरणहरू छन् ।

‘इःमानु निःमा’को नेपाली अनुवाद ‘घुम्नु बुझ्नु’ हुन्छ । यसका यात्रा संस्मरणहरूमा नेपालका विकट मानिएको पश्चिम र पूर्वका गाउँहरूमा पुग्दा लेखकले त्यहाँ देखेका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विभेद र पछौटेपनलाई मार्मिक रूपमा उतारेका छन् । राजनीति नै नबुझेका रुकुम रोल्पाका जनता कसरी द्वन्द्व फसेर माओवादी बने भन्ने स्थलगत रूपमा लेखकले देखेका बुझेका कुरा पुस्तकमा रहेको प्राडा तुम्बाहाङले बताए ।

समीक्षक डा.जीवनकुमार राईले माओवादी द्वन्दपछि मुलुकमा आएको गणतन्त्र र त्यसले ल्याएको परिवर्तनप्रति लेखक पूर्वाग्रही रहेका हुन कि भन्ने आशङ्का प्रकट गर्दै भने ‘पुस्तकका केही ठाउँमा  परिवर्तन पछि पनि देशमा केही भएन भन्ने लेखकको भनाई उल्लेख भएकोले मलाई पूर्वाग्रह राखिएको हो कि भन्ने आशङ्का भएको हो ।’ समग्रमा संस्मरणहरू पठनीय रहेको उनको भनाई थियो ।

संवाद कार्यक्रममा समीक्षकहरू डा.रामनारायण कन्दङवा, जङ्गबहादुर भट्टराई र टीका आत्रेयले प्राध्यापक मबुहाङको यात्रा संस्मरणहरूले नेपालका विकट दुर्गम ठाउँहरूमा महिला, आदिवासी जनजाति तथा दलित समुदायले भोग्नु परेका विभेद र उनीहरूको निश्छल जीवनको बारेमा सांगोपाङ चित्रण गरेको बताए ।

यसअघि जनसङ्ख्या विषयका प्राध्यापक लेखक बालकृष्ण माबुहाङसंग कवि बच्चु हिमांशुले गरेको परिसंवादमा माबुहाङले आफू मुख्य रूपमा आदिवासी समुदायको भाषिक, सांस्कृतिक अधिकार तथा राज्यको साधन, सुविधाको पहुँचको सवालमा लाग्दै आएको बताए । विभिन्न सन्दर्भमा नेपालको पूर्व र पश्चिमा जिल्लाहरूमा यात्रा गर्दा गरिएको टिपोटहरूको आधारमा यात्रा संस्मरणको पुस्तक तयार भएको बताए ।

संवाद कार्यक्रम लिम्बुवान स्टडी सेन्टरले आयोजना गरेको हो । परिचर्चाको परिचालन सेन्टरका विजयपुर च्याप्टरका संयोजक नरप्रसाद लिम्बुले गरेका थिए । संवादको अवसरमा चार सय पृष्टको पुस्तकको मूल्य छुट सहित ५ सय रुपयामा विक्री वितरण भएको थियो । पुस्तकको विमोचन गत महिना भारतको आसाम डिब्रुगढमा गरिएको थियो ।