धरान : चैतको महिनामा बेमौसम लगातार तीन दिनसम्मको वर्षापछि आइतबार देखी घाम लाग्न सुरु भएको छ ।सामान्यतः वर्षाले कृषकलाई लाभ नपुर्‍याउने होइन । तर हिउँदको मौसमीमा तरकारी खेती गर्ने कृषकलाई भने यो वर्षाले लाभ भन्दा हानी पुर्‍याएको छ ।

भर्खरै लगाइएका तरकारीका बेर्ना र उम्रँदै गरेका सागसब्जीका बिरुवा वर्षाले गालेर तरकारी किसान  पिरोलिएका छन् । धरान-५ का अम्बरबहादुर कार्की र जानुका कार्की पति पत्नी दुवै तरकारी खेती गरेर परिवारको गुजारा चलाउँदै आएका किसान हुन ।

दुई कठ्ठा जग्गामा तरकारी खेती गरेर वार्षिक दुई लाख बढी आम्दानी गर्दै आएका उनीहरूको आम्दानीमा पछिल्लो समय बेमौसमी वर्षाले नराम्रो असर गरेको छ ।

अम्बरबहादुरले भने ‘तरकारीको बजार भाउको समस्या छदै थियो, यो बेमौसमी वर्षाले त्यस माथि थप असर गर्‍यो ।’ घट्दै गएको आम्दानीमा थप चोट पुर्‍याएको उनले बताए ।

अहिले बारीमा भर्खरै रोपिएका काँक्रा र अरू तरकारीका बेर्ना चोटिलो वर्षाको पानीले सोत्तर बनाएको छ । मनसुन सुरु नहुँदै भएको वर्षा, लगातार परेको पानीले यसपालि हिउँदे तरकारी खेतीमा धेरै नोक्सानी बेहोर्नु परेको उनले बताए ।

जानुकाले भनिन् ‘लसुन र प्याज बेच्ने बेला भएको थियो तर आधा बाली असिना पानीले कामै नलाग्ने गरी नष्ट गरिदियो ।’ काँक्राको बेर्ना र भर्खरै छरेको मकै थियौँ, सबै एकै पटक सखाप भएको उनले बताइन् ।

कृषि प्रधान देश भए पनि नेपाली किसान मल–बिउ नपाएर, उचित मूल्य नपाएर पीडित छन् । किसानले उत्पादन गरेका कृषि उपजको उचित बजारीकरण नहुँदा भारतीय उत्पादनसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको अम्बरबहादुर बताउँछन् ।

उनले भने ‘अब खेतीपाती गरेर जीविका चलाउनु गाह्रो भयो ।’ भर्खरै रोपेको तरकारीका बेर्ना बेमौसमी वर्षाले नष्ट गरिदिन्छ । बिचौलियाको कारणले तरकारीको राम्रो मूल्य पाइँदैन । आफूले ३० रुपैयाँमा बिक्री गरेको तरकारी बजारमा ५० देखि ७० रुपैयाँ सम्ममा किनबेच भइरहेको उनले बताए ।

यस्तो स्थितिबाट निराश उनी कृषिबाट आर्थिक समृद्धि सम्भव नहुने र जीवनयापन गर्न पनि निकै कठिन हुने अवस्था देखिएको उनको भनाइ छ ।

अम्बरबहादुरले भने ‘यसैले गर्दा किसानका छोराछोरी ऋण लिएर भए पनि विदेश जान बाध्य छन् ।’

कृषिमा व्यावसायिक उत्पादन न्यून हुँदा उत्पादन लागत बढी पर्ने गरेको उनले बताए । लागत अनुसारको मूल्य पाउन नसक्दा धेरैजसो साना किसानहरू पेसाबाटै विस्थापित हुनुपर्ने अवस्थामा पुगेको उनले बताए ।