झापा : नेपाली सुपारीको बजार अभावले किसानहरू चिन्तित भएका छन् । नेपालबाट उत्पादित काँचो सुपारी व्यापारीले किन्न नमान्दा र लगानी अनुसारको मूल्य नदिँदा सुपारी किसान सुपारी बगान नै मास्ने मनस्थितिमा पुगेका छन् ।
गत वर्ष बोटमै ६० देखि ८० रुपैयाँ प्रतिकिलोको दरले बिक्री भएको काँचो सुपारी यो वर्ष मुस्किलले ४० रुपैयाँमा समेत नबिक्दा किसानहरू चिन्तित बनेका छन् ।
गतवर्ष मात्रै पनि निक्कै राम्रो मूल्य पाएको काँचो सुपारी भारतका बजारमा बिक्री हुने गरेको र हाल पनि भारतीय बजारमा काँचो सुपारी भारतीय मूल्य ८० रुपैयाँमा विक्री गर्न सकिने भएकोले भारतीय बजारसम्म लान सके नेपाली किसानलाई केही राहत मिल्ने किसानको आशा छ । तर भन्सार विभागले काँचो सुपारी भारतीय बजार लैजान समेत प्रतिबन्ध लगाउनुले नेपालका किसान थप चिन्तामा रहेको झापाका सुपारी कृषक हिरा प्रसाद कोइराला बताउँछन् ।
हाल झापामा मात्रै पनि १० हजार धेरै मेट्रिक टन सुपारी उत्पादन हुने गरेको छ तर किसानले उत्पादन गरेको सुपारी कुहिन थालेको अर्का सुपारी कृषक हेमराज भट्टराईको गुनासो छ । “विगतमा झापामा केही गुट्खा कम्पनी तथा भारतीय बजारका व्यापारीले किसानको बोट बाटै काँचो सुपारी खरिद गर्थे तर यो वर्ष भने व्यापारी गाउँ नआउनुले हामी चिन्तामा छौँ ।” उनले भने ।
अहिले केही सुपारी प्रशोधन उद्योगले भने उद्योग सञ्चालन गरेर किसानको सुपारी खरिद गरे पनि निर्यातको अभावमा प्रशोधनकर्ता समेत हैरान रहेको पाइएको छ । झापाको मेचीनगर स्थित इटाभट्टामा सञ्चालित राजवंशी सुपारी प्रशोधन उद्योगमा हाल धेरै सुपारी तयारी गरिरहे पनि व्यापारीको अभाव रहेको उद्योगका सञ्चालक विक्रम राजवंशी बताउँछन् ।
उनीहरूले हाल मूल्य नपाएपछि बुटवलमा रहेको गुट्खा उद्योगमा तयारी सुपारी पठाउने तयारी गरेको बताएका छन् । पछिल्लो समय सुपारीले मूल्य नपाएपछि पेशा नै सङ्कटमा परेको भन्दै कृषक र व्यापारी चिन्तित बनेका छन् ।
supari-prasaodhanसमस्याको जड नै विदेशी सुपारी आयात
व्यावसायिक सुपारी खेती गर्दै आएका किसान र स्थानीय व्यवसायीहरू अहिलेको अवस्था सिर्जना हुनुको मुख्य कारण विदेशी सुपारी आयात नै रहेको बताउँछन् । जबसम्म विदेशी सुपारी आवश्यकता भन्दा बढी नेपाल ल्याइन्छ तबसम्म यो समस्या अझ बढ्दै जाने सुपारी खेती गर्ने कृषक हिराप्रसाद कोइरालाको भनाई छ । 
नेपालमा भन्दा भारतमा सुपारीको मूल्य प्रतिकिलो झन्डै १ सय रुपैयाँ बढी छ । भारतमा सुपारीको माग अत्यधिक छ । भारतले तेस्रो देशबाट सुपारी आयात गर्दा बढी भन्सार तिर्नुपर्छ । तर, नेपालबाट आयात गर्दा धेरै नै सस्तो पर्छ ।
नेपालमा सुपारीको मूल्य पनि सस्तो देखाउन पाइने र भन्सार दर पनि कम भएकाले भारतीय व्यापारीहरू थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया आदि मुलुकबाट आफ्नो देशमा भित्र्याइने सुपारी कोलकाता बन्दरगाहबाट सिधै झापा–मोरङ तिर ल्याउँछन् र नेपालमै फलेको फर्जी कागजात बनाएर विराटनगरको बाटो हुँदै भारत लैजाने गरेको जानकारहरू बताउँछन् । त्यस्तै पूर्वी सीमा काकरभीट्टामा तस्करीमा संलग्नले गोदामै भण्डारण गरेर सुपारी राख्दै आएका छन् ।
सुपारी तस्करी नियन्त्रण गर्न डिएसपीको कमान्ड तर रोकिएन तस्करी 
सुपारी तस्करी नियन्त्रणलाई लक्षित गर्दै २०६८ पछि झापामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नेतृत्व पहिलोपल्ट प्रहरी नायब उपरीक्षक अर्थात् (डिएसपी) लाई दिइएको थियो । तर अझै प्रहरीले प्रभावकारी काम गर्न सकेको देखिँदैन । जनशक्ति थोरै भएता पनि रात दिन सुपारी तस्कर खेदाउनकै लागि प्रहरी परिचालन गरिए पनि तस्करी भने रोकिएको छैन । 
तर प्रहरी भने अहिले सुपारी तस्करी मात्रै होइन अवैध रूपमा हुने सबै कारोबार निरन्तर नियन्त्रणमा आइरहेको दाबी गर्छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीले आफूहरूले अहिले सीमामा कडाइ गरेकै कारण सुपारी मात्रै नभएर सीमाबाट हुने प्राय सबै तस्करी क्रमशः नियन्त्रणमा आइरहेको दाबी गरे ।