धरान : बराह ग्रुपका अध्यक्ष शिव लामिछानेलाई प्रहरीले सुनसरी जिल्लाको नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको सुनसरी जिल्ला प्रहरी कार्यालयले सार्वजनिक जानकारी दिएको छ ।
जिल्ला प्रहरीद्वारा आज बुधवार जारी प्रेस विज्ञप्तिमा बचतकर्ताहरूले बचत गरेको रकम अपचलन गरी तथा ठगी गरी हाल सम्म फरार रहेका प्रतिवादीको खोजतलासको क्रममा शिवकुमार विश्वकर्मा (लामिछाने) र धरान-१५ की बराह सहकारी ऋण उपसमिति सदस्य ३३ वर्षिया अस्मिता भण्डारीलाई पक्राउ गरिएको जनाएको छ ।
उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त विशेष टोलीले सुनसरी स्थित नेपाल भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धानको कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
शिव लामिछाने अध्यक्ष रहेको बराह ग्रुप अन्तर्गत धरानको बराह बचत तथा ऋण सहकारी संस्था सञ्चालन भएको थियो । लुकीछिपी हिँडेका शिव लामिछानेलाई प्रहरीले पछ्याइरहेको बेला उनी पक्राउ परेको बताइएको छ ।
उनीहरू उपर सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा सुनसरी जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको जनाइएको छ । विज्ञप्ति अनुसार पीडित सङ्ख्या १७ हजार १० जना रहेकोमा शङ्कर थापा समेत ४२४३ जनाको जाहेरीले सरकारवादी मुद्दा परेको छ ।
सरकारवादी मुद्दामा उनीहरू विरुद्ध कुल १० अर्ब, ७३ करोड, ४३ लाख, ४७ हजार, ९१३ रुपया बिगोको मुद्दामा पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
२०८२ भदौमा धरान उपमहानगरपालिकाद्वारा समस्याग्रस्त सहकारी घोषित बराह सहकारीमा बचत कर्ताहरूको मुद्दा अदालतमा दर्ता भएपछि अध्यक्ष शिव सहित दोषीहरू फरार थिए । अपचलन गरेको दाबीसहित २६२ जनाविरुद्ध जिल्ला अदालत सुनसरीमा दायर भएको थियो ।











































































