• विक्रम घिमिरे 

नेपाली काँग्रेस मुलुकको ठुलो मात्र हैन सबैभन्दा जेठो राजनीतिक पार्टी पनि हो । यस बिचमा काँग्रेसले धेरै पटक पराजय र विद्रोहको सामना गरिसकेको छ । जहानियाँ राणा शासनको समाप्ति चानचुने कुरा हैन । पञ्चायतको बर्बर अवस्थालाई डटेर सामना गरेर काँग्रेस निखारिएको छ ।

लोकतान्त्रिक व्यवस्थाको संस्थागत विकाश र विद्रोही माओवादीको व्यवस्थापन झनै चुनौतीपूर्ण थियो । संविधान निर्माण देखी मुलुकका महत्त्वपूर्ण राजनैतिक निर्णयको नेतृत्व काँग्रेसले गरेको छ । काँग्रेसको क्रियाशील सदस्य हुन पनि भाग्यमानी ठान्नुपर्ने अवस्था यही गर्वीलो इतिहासले दिएको हो । काँग्रेस भन्ने बित्तिकै स्वतन्त्रताको आभास हुन्छ । स्वतन्त्रताको कुनै मूल्य हुँदैन । मुलुक र जनतालाई यही अमूल्य उपहार काँग्रेसले दिएको हो । त्यसैले त काँग्रेस भन्ने बित्तिकै गर्वले छाती फुल्छ । 

समसामयिक राजनीति

भ्रष्टाचार, अनियमितता र घुस खोरीले जनतामा निराशा छाएको छ । सामाजिक सञ्जालको सहज पहुँचले राजनैतिक दलका हरेक गतिविधिलाई जनताले नजिकबाट नियालिरहेका छन् । नियाल्ने मात्र हैन निर्मम समीक्षा पनि गरिरहेका छन् । त्यसका केही उदाहरण पछिल्लो समय देखिएका राजनैतिक परिदृश्यले प्रष्ट पार्छ । 

लोकप्रियतावादी राजनीतिले लोकतान्त्रिक शक्तिहरूलाई कमजोर बनाउने खतरा छ । पछिल्लो समय लोकतान्त्रिक दलहरूमा भएको अलोकतान्त्रिक प्रवृत्ति र त्यस सँगै मौलाएको लोकप्रियतावादले दलहरूको भविष्यलाई प्रश्न उठाएको छ । अहिलेको प्रणाली र व्यवस्थालाई गलत साबित गर्ने कुत्सीत मनसायको साथ लोकप्रियताका भोगीहरू लागिरहेका छन् । यसले राम्रो सङ्केत गरेको छैन । 

बिपी कोइरालाको पार्टी भनेर मात्र नयाँ पुस्ताले विश्वास गर्ने अवस्था छैन । पहिलो कुरा बिपी कोइराला चिन्ने र बुझ्ने पुस्ता कति छ ? कसले बिपी बारे अध्ययन गरेको छ ? अध्ययन गरेकाहरू पनि बिपीकै बाटोमा छन् त ? काँग्रेसका संस्थापक नेताहरूको योगदानको स्मरण गराउने मात्र हैन नयाँ पुस्ताको लागि सपना चाहिएको छ । योजना र कार्यक्रम चाहिएको छ । इतिहासले मात्र उज्ज्वल भविष्यको सुरक्षा गर्दैन । जनता विचारमा भन्दा नतिजामा विश्वास गर्ने अवस्थामा पुगेका छन् । 

महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको सामाजिक लोकतन्त्रको विषयलाई सोच्ने मात्र हैन अनुरणनै गर्नुपर्ने अवस्थामा पुगेको छ काँग्रेस । उत्पादनका क्षेत्रहरू कमजोर बन्दै जाँदा अर्थतन्त्र प्रभावित भएको छ । रोजगारीका अवसरहरू नहुँदा दक्ष युवाहरू पलायन हुने क्रम बढ्दो छ । गाउँहरू खाली हुँदै जाने जमिन बाझो बन्दै जाने र युवाहरू विदेश मात्र जाने भयावह अवस्थाको अन्त्य सामान्य निर्णयबाट हुँदैन । त्यसको लागि एक जना नेता वा एउटा संयन्त्र मात्र सच्चिएर पुग्दैन सिङ्गो पार्टी र सरकारले गम्भीर बन्नुपर्ने छ । 

इटहरी उपमहानगरको राजनीतिक अवस्था 

सामाजिक हिसाबमा विविधताले भरिएको इटहरी राजनीतिक रूपमा पनि विविधतायुक्त छ । इटहरीमा लामो समय पुरातनवादी शक्तिले नेतृत्व गर्‍यो । त्यसपछि इटहरीले कम्युनिस्टको नेतृत्व भोग्नुपर्ने अवस्था आइलाग्यो । कम्युनिस्ट र पुरातनवादीको चङ्गुलबाट भर्खरै लोकतन्त्रवादी शक्ति नेपाली काँग्रेसले नेतृत्व गर्ने अवसर पाएको छ । यो इटहरीका नागरिकको लागि खुसीको कुरा हो । 

नेपाली काँग्रेसले नेकपा एमाले सँग प्रतिस्पर्धा गरिरहेको छ । कम्युनिस्ट घटक एमाले सँग लामो समय इटहरीको नेतृत्व गरेको अनुभव छ । आन्तरिक कलहले केही कमजोर बनेको एमालेको सङ्गठन अझै पनि मजबुत देखिन्छ । 

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी समान हैसियतमा छन् । उनीहरूको खास सङ्गठन नभएको कारण जनतामा बलियो पकड छैन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आफ्नै पुरानो विरासत छ । जसले गर्दा पुरातनवादी विचार समूहलाई राप्रपाले समेट्ने कोसिस गरेको छ । पछिल्लो समय अस्तित्वमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्गठन विस्तारलाई प्राथमिकता दिएको छ। रास्वपाको सङ्गठन विस्तार काँग्रेसको चुनौतीको विषय हो । आफूलाई लोकतान्त्रिक शक्तिको रूपमा परिचित गराएको रास्वपाले काँग्रेसका नेता कार्यकर्तालाई आकर्षित गर्न खोजिरहेको छ । लोकप्रियतावादको घोडा चढेर लोकतन्त्रको सिकार खेल्ने मनसाय बोकेको रास्वपालाई रोक्न इटहरी काँग्रेसको कार्यक्रम र कार्ययोजना प्रष्ट हुनुपर्छ । 

नयाँ पुस्ताको विचार अटाउने काँग्रेस अहिलेको आवश्यकता हो । उमेरको हिसाबमा मात्र नयाँ पुस्ता भनिएको हैन अहिलेको प्रविधि र पहुँचलाई  सुहाउने नेतृत्व चाहिएको छ । सबैको सुन्न सक्ने र त्यही अनुसार आफूलाई अभ्यस्त बनाउँदै लैजाने पुस्ता चाहिएको छ । हरेक विचार समूह वा पुस्ताले आफ्नो पहिचान खोजेको छ । आफ्नो समस्या र विचार सुन्न, बुझ्न र मनन गर्न सक्ने नेतृत्व खोजेको छ ।   

अन्य दलसँगको सम्बन्ध 

इटहरीमा अस्तित्वका रहेका दलहरू बिच स्वास्थ्य प्रतिस्पर्धा छ । एकले अर्काको अस्तित्व स्वीकार गर्ने गरी वातावरण बनिरहेको छ । विकाश निर्माणमा एकमत देखिएको कारण काँग्रेसलाई यसले सहज वातावरण सृजना गराएको छ । काँग्रेस एमाले प्रमुख प्रतिस्पर्धी हुन् । त्यस बाहेक नयाँ दलहरू चुनौतीको रूपमा देखिएका छन् । 

स्थानीय तह सञ्चालन र सम्बन्ध 

हाल इटहरी उपमहानगरपालिकामा काँग्रेसका नगर सभापति हेमकर्ण पौडेलले नेतृत्व गरिरहनु भएको छ । काँग्रेसको नेतृत्व भएको कारण कार्यकर्तामा ऊर्जा थपिएको छ । विकाश निर्माणका नयाँ सम्भावनाको खोजी भएको छ । ऊर्जाशील नेतृत्वले योजनाबद्ध काम गरेको कारण पार्टी र स्थानीय जनतालाई उत्साह मिलेको छ ।

प्रमुख प्रतिस्पर्धी मानिएको नेकपा एमाले अधिकांश वडामा विजयी भएको छ । कार्यपालिकाका र नगर सभामा एमालेकै बहुमत छ । तथापि पनि निर्विवाद रूपमा उपमहानगर सञ्चालन हुनु काँग्रेस सभापतिको क्षमताको सम्मान गर्नुपर्दछ । काँग्रेसले नेतृत्व गरेपछि पहिलो पटक सामुदायिक विद्यालयको आन्तरिक लेखा परीक्षण भयो । यो शिक्षा क्षेत्रमा भएको बेथिति रोक्ने पहिलो अभ्यास हो । इटहरी अस्पतालमा भएको सुधारले दैनिक पाँच सय भन्दा बढी नागरिक लाभान्वित हुने गरेका छन् । 

इटहरीको मुख्य समस्याको रूपमा रहेको डुबानको समस्या समाधानमा पुराना खोला उत्खनन र शेरा खोलामा तटबन्ध लगाउने निर्णयले इटहरीवासी खुसी भएका छन् । भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलता इटहरी  सरकारले प्राथमिकतामा राखेको छ । इटहरीका मूलवासी थारुलाई प्रथम नागरिक घोषणा गर्नु देखी ट्राफिक व्यवस्थापनमा चालेका कदमले स्थानीय सरकार सँग काँग्रेसले गर्व गर्नुपर्ने अवस्था आएको छ । 

काँग्रेसको नेतृत्वलाई इतिहास रच्ने अवसर बनाउनुपर्ने बाध्यता हामी माझ छ । सहमति सहकार्य र एकताका साथ अगाडी बढ्नुको विकल्प छैन । उपमहानगरको नेतृत्व गरिरहनु भएका सभापति ज्यूले पार्टीका नेता कार्यकर्ता सँगको छलफल र संवादलाई ध्यान दिनुपर्ने भएको छ । मेयरले सरसल्लाह नलिएको भन्दै वडा देखी उपमहानगरका समितिका काँग्रेस नेता कार्यकर्ताले चित्त दुखाएका छन् । अग्रज र नयाँ कार्यकर्ता सँगको संवादले नेतृत्वलाई थप ऊर्जा, हौसला र क्षमता प्राप्त हुने विश्वास छ । आफू निकट र पहुँचका आधारमा व्यवहार भएको र वडा देखी नगरका कार्यकर्तालाई एकै ठाउँमा जोड्न नसकेको देखिन्छ । जनचासोका विषयमा संवाद छलफल नभएका कारण कार्यकर्तामा लामो समय असन्तुष्टि रहन सक्छ।

गठबन्धनको अवस्था

२०७४ सालको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका नेपाली काँग्रेसले विना गठबन्धन चुनाव लड्ने आँट गर्‍यो । परिणाम स्वरूप सुनसरीका ४ मध्ये ३ क्षेत्रमा काँग्रेस विजयी भयो । प्रदेशसभामा पनि सम्मानजनक उपस्थिति रह्यो । इटहरी उपमहानगरपालिकाका २० मध्ये १२ वडामा काँग्रेस विजयी भयो । त्यसले जनस्तरमा काँग्रेसको प्रभाव बलियो देखाएको थियो । २०७९ को निर्वाचन सम्म आइपुग्दा काँग्रेस गठबन्धन गर्नुपर्ने अवस्थामा पुग्यो । गठबन्धन भए पनि ५ वटा वडामा मात्र काँग्रेस विजयी भयो । गठबन्धनका दलहरूमा भागबन्डा गर्दा धेरै वडाहरू गुमाउनु पर्‍यो ।

सशस्त्र द्वन्द्वको समयमा नेकपा माओवादी केन्द्रबाट पीडित काँग्रेस कार्यकर्ताहरूको मनोबल कमजोर भयो । पार्टीको सिद्धान्त, विचार र कार्यशैली नमिलेका दलहरू सँगको गठबन्धनले वडास्तरमै निराशा पैदा भयो । फलस्वरूप वडामा कमजोर नतिजा आएको सत्य हो ।

गठबन्धनले क्षणिक रूपमा केही सकारात्मक नतिजा देखाएपछि धेरै कार्यकर्ताहरू पलायन भएका छन् । यसले पार्टीलाई दीर्घकालीन क्षति पुगेको छ । गठबन्धनको तर्फबाट सही व्यक्तिलाई उम्मेदवार बनाउन नसक्दा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नतिजा राम्रो आउन सकेन । कम्युनिस्ट सँगको गठबन्धनले दीर्घकालीन फाइदा नहुने सत्य साबित भएको छ । 

विकाश निर्माण र जनचासोका विषय 

इटहरीका भित्री सडकहरू कालोपत्रे हुने क्रममा छन् । भौतिक पूर्वाधार विकाशमा इटहरीले राम्रो नतिजा निकालेको छ । इटहरीको सबैभन्दा ज्वलन्त समस्याको रूपमा चिनिएको अस्पताल र बाढी नियन्त्रणमा सुधारका सङ्केत देखिएका छन् । तर गुणस्तरीय र दीर्घकालीन विकाशको लक्ष्य देखिएको छैन । टालटुले विकाशका योजनाले दीर्घकालीन प्रभाव पार्न सक्दैन । 

पार्किङ समस्या समाधानको लागि केही राम्रो पहल देखिएपनी पर्याप्त भएको छैन । बेसमेन्ट पार्किङको विषयमा ठोस कदम चाल्नुपर्ने छ । डिजिटल जमानामा डिजिटल बोर्ड मात्र हैन सोही अनुसारको सहरका अन्य संरचना निर्माण गर्नुपर्छ । 

पर्यावरण संरक्षण, कला साहित्य र संस्कृतिको विकाश तथा संरक्षण, हरित नगरी इटहरीको नारालाई कार्यान्वयन गर्ने विषयमा ठोस योजना देखिएको छैन । वायु प्रदूषण, दृश्य प्रदूषण र लाइट प्रदूषणको नियन्त्रणमा खास योजना नै बन्न सकेको छैन । पुस्तकालय बिनाको सहर मृत हुन्छ भन्ने भनाई छ । इटहरीमा अहिलेसम्म एउटा पनि पुस्तकालय पुर्णरुपमा सञ्चालनमा आएको छैन । भएको पुस्तकालय पनि बन्द भएको छ । कलाकारिताको विकाशकोलागि नाटक घर र सभागृहको निर्माणमा ध्यान पुग्न सकेन ।  

निष्कर्ष

नेपाली काँग्रेस इटहरी उपमहानगर समितिको १४ औँ अधिवेशन पछि पहिलो पटक वडा र उपमहानगर सम्मेलन हुँदैछ । यो काँग्रेस पार्टी र कार्यकर्ताको लागि खसीको कुरा हो । कार्यकर्ता विचलित भइरहेको अवस्थामा काँग्रेसका गतिविधिले सकारात्मक सन्देश दिएका छन् । आपसमा भएका तिक्ततालाई मेटाउन सम्मेलन प्रभावकारी हुनेछ । 

वैकल्पिक राजनीति प्रतिको क्षणिक मोहले केही प्रभाव पार्ने आशङ्का गर्न सकिन्छ । नयाँ दलको प्रभाव कमजोर बनाउन पार्टी भित्र अनुशासन, नैतिकता र पार्टी सिद्धान्तको विषयमा प्रशिक्षण अत्यावश्यक भइसकेको छ । नयाँ पुस्तालाई आकर्षित गर्ने कार्यक्रम ल्याउनैपर्छ । 

त्यससँगै नेपाल विद्यार्थी सङ्घ इकाई समिति देखी टोल समिति हुँदै सम्पूर्ण पार्टी पङतीमा गुटबन्दीको चरम प्रभाव छ । मलामी, विवाह र भोजभतेरमा समेत गुटबन्दीको प्रभाव प्रष्ट देखिन्छ । पद लिने तर भूमिका देखाउन नसक्ने नेतृत्वको कारण समस्या बढेको छ । जिम्मेवार कार्यकर्ताबाट पार्टीलाई क्षति पुर्याउने गतिविधि भएका छन् । सार्वजनिक अभिव्यक्ति देखी सामाजिक सञ्जालको दुरुपयोगले पार्टीको साख गिराउने काम भइरहेको छ । नेतृत्वले गरेका सही कामको प्रचार गर्न समेत नसक्ने प्रवृत्ति हाबी छ ।

अबका दिनहरूमा वार्षिक क्यालेन्डर बनाएर जनताको घरमा जानुपर्छ । अध्ययनको दायरा बढाउने देखी समाजमा प्रतिष्ठित व्यक्तित्व सँग निरन्तर सम्पर्क र संवाद मार्फत पार्टी सबैको हो भन्ने आभास दिलाउनुपर्छ । पार्टी भित्रका असन्तुष्टिलाई व्यक्तिगत र सामूहिक संवाद मार्फत हलगर्नु अहिलेको सर्वोत्तम विकल्प हो । भ्रष्टाचार विरुद्धको अभियानमा काँग्रेसको वडा देखी उपमहानगर समिति सम्म एकसाथ अगाडी बढ्ने सङ्कल्प सँगै सम्मेलन सफल हुने विश्वास लिएको छु । 

धन्यवाद । 

जय नेपाल ।।

नेपाली काँग्रेस इटहरीको जेठ ११ गते सम्पन्न उपमहानगर सम्मेलनमा उपमहानगर सचिव विक्रम घिमिरेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन