धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अहिलेको विश्वविद्यालय स्वरूपलाई विघटन गरी मेडिकल कलेजको तहमा झार्ने छाता ऐनको विरोधमा प्रतिष्ठानका डाक्टरहरू पनि आन्दोलित भएका छन् । सरकारको त्यस्तो तयारीको प्रतिकार गर्न डाक्टरहरूको पनि सङ्घर्ष समिति गठन गर्ने तयारी गरिएको छ ।

धरानमा हालै गठन भएको वीपी प्रतिष्ठान बचाउ सङ्घर्ष समिति र प्रतिष्ठानका कर्मचारी, विभागीय प्रमुख, विद्यार्थीहरू सँग भएको अन्तरक्रियामा उनीहरू पनि छाता ऐन विरुद्ध आन्दोलनमा उत्रिने तयारीमा रहेको बताएका हुन् ।

प्राध्यापक डा. विष्णु पाख्रेरलले प्रतिष्ठानमा भएका भ्रष्ट्राचारको रिसले छाता ऐनमा प्रतिष्ठान गाभ्नु भनेको ‘सौताको रिसले पोईको लुगामा फोहोर गर्नु’ जस्तै हुने बताए । उनले भने ‘सरकारले छाता ऐनमा गाभेर आंगित कलेज बनाउने र प्रतिष्ठानलाई जिल्ला अस्पताल जस्तो बनाउन लागेको छ ।’

वीर अस्पताल चलाउन नसकेको सरकारले बिपी चलाउने आट गर्नु न्यायोचित नभएको उनको भनाई छ । उनका अनुसार वीर अस्पतालमा बिहान ८ बजे देखी २ बजे सम्म मात्र सेवा सुविधा छ, विपीले बिहान ७ बजे देखि साँझ ५ बजे सम्म सेवा सुविधा दिँदा पनि जनता उपचार गर्नुबाट वञ्चित रहेका छन् ।

उनले भने ‘उपकुलपति यही हुँदा पनि उचित सेवा सुविधा नपाएको भन्ने गुनासो भइरहेको बेला काठमाण्डूबाट सेवा दिने कुरा गर्नु झन् अप्ठ्यारोमा लैजाने केन्द्रीकृत शासन  नियम हो ।’

डा. दिलीप ठाकुरले मेडिकल  संस्थानहरू विश्वविद्यालयमा गाभिनु उचित नहुने बताए । मेडिकल कलेजमा अध्ययन अध्यापन हुने एमबिबिएस शिक्षा नै भएको तर बिपी प्रतिष्ठानमा पढाई हुने पाठ्यक्रम र अन्य क्षेत्रमा अध्ययन अध्यापन हुने पाठ्यक्रममा नितान्त फरक रहेको उनले स्पष्ट गरे ।

उनका अनुसार विपीमा पठन पाठन हुने एमविविसको पाठ्यक्रम व्यवहारिक शिक्षा हो । चिकित्सा शिक्षा आयोगको गलत रिपोर्टको आधारमा छाता ऐनमा बिपीलाई गाभ्नु प्रतिष्ठानलाई ध्वस्त पार्नु बाहेक होइन ।

देश सङ्घीयतामा गएको अवस्थामा केन्द्रीकृत शासन पद्धति पुनरावृत्ति गरी काठमाण्डौको खाल्डोबाट सञ्चालन हुने शासन व्यवहारिक र एकतन्त्रीय शासन हुनेछ ।

धरानका पूर्व मेयर कुमारबहादुर कार्कीले छाता ऐनले विपीको क्षेत्राधिकार खुम्चिएर जाने भएकाले भविष्यलाई असर पार्ने बताए । छाता ऐनले मेडिकल कलेजलाई केन्द्रीकृत शासनमा लैजान उचित नभएको बताउँदै भने ‘केन्द्रीकृत भएकै कारणले विपीको विद्यार्थी कोटा तोक्ने कार्य र बिपीबाट नै विद्यार्थीहरूको परीक्षा हुने व्यवस्था अहिले हटेर अर्ध स्वायत्त भएको छ ।’

स्कुल अफ हेल्थ कमिटीका एसिस्टेन वीरेन्द्र यादव, विद्यार्थी कल्याण समाजका सचिव जमुना बन, शिक्षक कल्याण समाज अध्यक्ष शेषराज खानले छाता ऐन विरुदमा एक हुन आवश्यक भएको बताए । प्राविधिक मदन हलवाई र एमविविसका छात्र किरणकुमार पुनले फरक मत राख्दै छाता ऐन नराम्रो नभएका मत राखे ।

अन्तरक्रिया सङ्घर्ष समितिका संयोजक मुक्साहाङ मेनयाङवोको सभापतित्वमा भएको हो । उनले सङ्घर्ष समिति धरानका राजनैतिकदलहरु, सामाजिक सङ्घ संस्थाहरू, आदिवासी जनजाति महासङ्घ, उद्योग वाणिज्य सङ्घ, बुद्धिजीवी सहितको वीपी प्रतिष्ठान बचाउ सङ्घर्ष समिति निर्माण भएको जानकारी दिए ।

अन्तरक्रियामा २ बुँदे सहमति भयो । पहिले सहमति अनुसार विपीमा कार्यरत कर्मचारी, विद्यार्थी, प्रोफेसर डाक्टरहरूको पनि सघर्ष समिति निर्माण हुने भएको छ । दोस्रो आज शनिवार बिपी जिओपिडीको गेट अगाडीबाट भानुचोक सम्म शान्तिपूर्ण मौन जुलुस प्रदर्शन गरिने छ ।

BPKIHS-doctor-new