धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वीपी प्रतिष्ठानलाई छाता ऐनमा गाभ्ने सरकारी तयारीको विरोध गरेका छन् । प्रतिष्ठानलाई समाप्त गर्ने मनसायले मस्यौदा गरिएको ऐनको विरोधमा धरानका राजनैतिक दलहरू सहितको सर्वपक्षीय सङ्घर्ष समितिप्रति धरान उपमहानगरपालिकाको ऐक्यबद्धता रहेको उनले बताएका हुन ।

नेपाल पत्रकार महासङ्घ सुनसरीद्वारा सञ्चालित लेखनवृत्ति प्रस्तुति कार्यक्रममा मेयर साम्पाङले भने 'वीपी प्रतिष्ठानलाई छाता ऐनमा गाभ्ने सरकारी नीतिको धरानवासीले डटेर अस्वीकार गर्नुपर्दछ ।' उनले धरानमा गठन भएको सङ्घर्ष समितिसँग धरान उपमहानगरपालिकाको ऐक्यबद्धता रहेका समितिका संयोजक मुक्सामहाङ मेयाङबोलाई बताएको कुरा उल्लेख गरे ।

वीपी बचाउ आन्दोलनमा धरान उपमहानगरपालिकाको ऐक्यबद्धता र सक्रिय सहयोगका लागि संयोजक मेयाङबोले मेयर साम्पाङसंग कार्यकक्षमा समितिको आगामी रणनीतिका बारेमा जानकारी दिएको उनले बताए । उनले वीपी प्रतिष्ठानमा धरान उपमहानगरपालिकाको हक लाग्ने समेत बताए ।

उपमहानगरपालिका र पत्रकार महासङ्घको साझेदारी लेखनवृत्ति कार्यक्रम अन्तर्गत लेखिएका फिचर लेखहरूबाट धरान उपमहानगरपालिकालाई रचनात्मक सुझावहरू प्राप्त भएको उनले बताए । मेयर साम्पाङले धरानका पत्रकारहरूले खानेपानीको लागि भएको अभियान देखी धेरै विषयमा लेखेका खोजमुलक लेख नीति बनाउन उपयोगी भएको बताए ।

उनले भने ‘पत्रकारहरूको सुझावलाई मैलै सकारात्मक रूपमा लिँदै आएको छु, तर मलाई कसैको सल्लाह सुझाव नलिने भनी आलोचना गरिन्छ, त्यो गलत कुरा हो ।’

लेखनवृत्ति अन्तर्गत धरानका क्रियाशील पत्रकारहरूले खानेपानी, राजश्व परिचालन, धरानका दीर्घ रोगीहरू, अपाङ्गता र पूनस्थापना, पर्यटन, श्रम संस्कृति, कला साहित्य, सामुदायिक विद्यालयको अवस्था, महिला लक्षित कार्यक्रम, फोहोर व्यवस्थापन र लागुऔषध दुर्व्यसनका समेत ११ विषयमा खोजमूलक फिचर स्टोरी प्रकाशित गरेका छन् ।

वरिष्ठ पत्रकार लेखनवृत्तिका सम्पादक हर्ष सुब्बाले विभिन्न सञ्चार माध्यममा प्रकाशित फिचर स्टोरीहरूले धरानको आर्थिक, सामाजिक क्षत्रका विषयमा उजागर गरेका पक्षहरूका बारेमा समीक्षा प्रस्तुत गर्दै भने ‘प्रकाशित समाचारहरूले उपमहानगरपालिकाको नीति तथा कार्यक्रम निर्माणका लागि उल्लेखनीय सुझावहरू दिएका छन् ।’

उनले प्रकाशित खोजमूलक समाचारहरूलाई उपमहानगरपालिकाको सम्बन्धित महाशाखाहरूले पढ्नु पर्ने खालका र सुझाव कार्यान्वयन गर्नुपर्ने खालका भएको उल्लेख गरे । पत्रकार महासङ्घका सभापति जनकऋषि राईले लेखवृत्ति कार्यक्रममा पहिलो पटक छलफल समेत भएको उल्लेख गर्दै यसले दुवै पक्षलाई जबाफदेही बनाउने विश्वास व्यक्त गरे ।