• दीपा थोकर
नेपालमा नारीवाद आन्दोलन विश्व नारीवाद आन्दोलनको प्रभावमा राजपरिवार, राजनीतिक दलका घराना, सामाजिक अभियन्ता आदिको घरबाट उठान भएको हो । २००७ सालमा राणा शासनको अन्त्य, २०४६ सालको बहुदलीय प्रजातन्त्रको आन्दोलन, २०६२/०६३ को ऐतिहासिक गणतान्त्रिक आन्दोलन तथा मधेसी, आदिवासी, जनजाति समुदायले गरेको अधिकारका आन्दोलनहरूमा महिलाले बिस्तारै आफ्नो सहभागिता बढाएका छन् ।
अपितु शहादत पनि प्राप्त गरेका छन् । जस कारण आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको निर्माण सम्भव भएको हो । विद्यालय, विश्वविद्यालय तथा सञ्चार जगतमा अध्ययन, विश्लेषण र उच्चतम व्यवहारिक प्रयोग र चेतनाले नै नेपालको सहर, गाउँ, धनी, मध्यम वर्ग, गरिब, सामान्य महिलाको विकास सम्भव छ । 
आजको सहर तथा शक्तिशाली परिवारमा सीमित नारीवादको प्रभाव सहर देखि गाउँ सम्म समानताको हक उपभोग गर्न पुरुषसँग वेैमनस्यता नगरीकन पनि सम्भव छ । 
लिङ्ग र जेन्डर
क्रिटिकल थ्योरी टुँडे पुस्तकका अमेरिकी महिला लेखक लोईस टाईसनका अनुसार नारीवाद समालोचनामा कुनै साहित्यिक तथा सांस्कृतिक सामाग्री भित्र महिलामाथि आर्थिक, सामाजिक, राजनैतिक तथा मनोवैज्ञानिक तरिकाले कसरी विभेद गरिएको छ । त्यसबारे व्यापक अध्ययन गरिन्छ ।
उनले समाजले पुलिङ्गत्व स्त्रीत्व बारे समाजले बनाएको धारणा जेन्डरले चिकित्सा पेसा, प्राध्यापन पद्धति, कानुन, सांस्कृतिक धारणा तथा जागिर खाने व्यावसायिक परिभाषाहरूमा कसैलाई महिला, पुरुष वा अन्य लिङ्गी भनेर फरक व्यवहारका कारणले सोच बनाउँछ भनेका छन् । जुन नारीवाद भन्दा अलि पर जेन्डर अध्ययन हो ।
यदि कसैले महिला र लैङ्गिकता पढ्छ भने उसले जेन्डर अर्थात् समाज निर्मित विभिन्न परिभाषाहरू तथा महिलामाथि हुने पुरुष प्रधान सोचले हुने विभेदहरू बिच सहअस्तित्व पत्ता लगाउने हो । अर्थात्, जेन्डर भनेको समाज तथा सांस्कृतिक सोच निर्मित धारणा हो । 
महिला यस्तो हुनुपर्छ र पुरुष यस्तो हुनुपर्छ भन्ने कुरा लिङ्ग अर्थात् जैविक निर्माण हो । कोही कस्तो शारीरिक अङ्ग लिएर जन्मे पनि पहिला मानिस जन्मिने हो । अनि समाजले शारीरिक, भाषिक, पहिरन लगायतका सांस्कृतिक विशेषणहरू मानिसमा भिडाउने हो । तसर्थ, पहिला लिङ्ग आउँछ अनि पछि जेन्डर अर्थात सामाजिक लिङ्ग ।
नारीवादी अध्ययनको सवाल 
हामीले यसबारे फरक उत्तर पाउन सक्छौँ । किनकि हामी नेपाल-भारतमा पूर्वीय दर्शनमा लेखिएका साहित्य तथा धार्मिक कुराहरू पढेर उत्तर खोज्दैछौं कि हामी यसको विपरीत पश्चिमी दर्शनमा आधारित बेलायत वा अमेरिकी पुस्तकहरू पढेर उत्तर खोज्दैछौं ? 
संसारमा राखिएका डकुमेन्टेशन जुन विश्वविद्यालयहरूमा पढाइन्छ, त्यस्ता पश्चिमा डकुमेन्टेड सामाग्री अनुसार, जस्तै लोईस टाईसोनलाई आधार मान्ने हो भने प्रायः वादहरू द्वितीय विश्वयुद्ध पछि खास गरी मार्क्सवाद सिद्धान्त मानिसको लागि चिन्तनको विषय बन्यो भन्ने आधारित पाइन्छ ।  
मार्क्सवादी सिद्धान्त न केवल नारीवादी सिद्धान्तको आधार बन्यो अपितु धेरै अधिकारवादी आन्दोलनहरूको पनि जननी राजनैतिक चेत फैलाउने दृष्टिकोण बन्न पुग्यो । जसको प्रत्यक्ष प्रभाव सन १९६० को दशक र सो पछि बढेको मानिन्छ । 
हुन त नारीवादी साहित्य मार्क्सवादी सिद्धान्तका अतिरिक्त ज्याक्स डेरिडा, ल्युस ईरिगेरे तथा जियोफ्रे हार्टमनका विनिर्माणको सिद्धान्त तथा सिग्मन्ड फ्राईड् र ज्याक्स लकाँहरुको मनोविश्लेषणात्मक सिद्धान्तमा पनि आश्रित छ । अर्थात्, यी सिद्धान्तहरूको अध्ययन विना नारीवादलाई बुझ्न सकिँदैन । 
यसको अर्थ सन १९६० को दशक वा महारानी भिक्टोरियाको शासनकाल अघि नारीवादमा आधारित पुस्तक वा साहित्य नै लेखिँदैनथ्यो भन्ने होइन । बेलायतमा महारानी भिक्टोरियाको शासनकालमा महिलाहरू जर्ज एलियटहरूले नाम बद्लेर छद्म नाममा नारीमाथि पुरुषबाट हुने विभेदमाथि लेख्थे । 
सन १९६० को दशक भनेको चेतनायुक्त नारीवाद सङ्गठित औपचारिक अध्ययनको काल हो । यो दशकमा टाइसनका अनुसार मार्क्सवाद र मनोविज्ञानवादमा आधारित महाअभियान महिलामाथि पुरुष विभेद, भाषिक, सांस्कृतिक, आर्थिक, राजनीतिक तथा मनोवैज्ञानिक लगायत विभिन्न विभेद बारे लेखिन्थ्यो । 
त्यस बेला महिलालाई आफ्नो पकड वा कब्जा पारिराख्न समाजले विभिन्न शब्दावली तथा वाक्यांशहरू कृत्रिम ढङ्गले समाजमा निर्माण गरेर चलन चल्तीमा ल्याएको देखिन्छ । जुन महिलाको अधिकार कटौती मात्र गर्ने नभई उनको घर परिवारमा भूमिका न्यून गर्ने, थिचोमिचो गर्ने, अपमान गर्ने, पुरुष मान्छेसँग प्रतिउत्तर गर्न बन्देज लगाउने, भय त्रास देखाउने प्रकृतिका हुन्थे । 
उदाहरणका लागि दिमाग लगाउने र गलतलाई गलत तथा सहिलाई सही छुट्याउन सक्नेलाई खराब केटी भनिन्थ्यो । तर पुरुषले जे गरे पनि नबोल्नेलाई राम्री केटी भनिन्थ्यो । राम्री केटी चाहिँ घरकी परी कहलाउँथिन । जो आफ्ना सबै इच्छा दबाएर, सबै अपमान सहेर बस्ने पुरुषको लागि बन्थिन ।
भिक्टोरियनकालसम्म महिला कोही धेरै परपुरुषसँग शारीरिक सम्बन्ध राख्थिन भने अपमानजनक शब्द भनिन्थ्यो । तर उस्तै अमर्यादित दुष्कर्म गर्ने पुरुषलाई भने आदर सूचक बनाएर राखिन्थ्यो । त्यसैले टाईसन लेख्छिन् ‘आज जुन सहर बजारमा कोही महिला वा केटीको छोटो लुगा, हाई हील्स, टाईट स्कर्टहरू हामी देख्छौँ, त्यो भिक्टोरियनकाल सम्म पहिलादेखि पुरुषहरूले गर्दै आएका सदियौँदेखिको साङ्केतिक विद्रोह हो ।’
नारीवादका प्रयोगहरू
कोही लिङ्ग, जात, समूह आदिले कसैबाट आफूमाथि अन्याय भइरहेको महसुस गर्छ भने ऊ आवाज उठाउँछ र धेरै मान्छे उक्त अभियानमा जोडिन पुग्छ । त्यो सामूहिक आवाज राज्य, विश्वविद्यालयमा अध्ययन हुन्छ अर्थात्, ‘वाद’ बन्न जान्छ । 
आज मधेशमा मधेसवाद त्यहाँका मान्छेको पीडा, संस्कृति, मौलिकपनको अभियानको पहिचानको व्यापक दायराभित्र स्थापित हुँदैछ । यो बेग्लै कुरा हो कि कोही अभियन्ता मधेस र मधेसीकै अधिकारबाट उदाएपछि मधेसवाद छैन भन्छन् । तर अध्ययनले यसलाई नकार्छ किनकि नामकरण समेत मधेस प्रदेश भइसक्यो ।
नारीवादी साहित्य कथा, कविता आधुनिक युगमा युरोपमा राज्यको उच्च पदमा रहेका, सम्भ्रान्त घर, परिवारमा पुरुष मान्छेको विशेष छुट् वा कृपामा उत्पत्ति भएको मानिन्छ । किनकि निमुखा, गरिब, मजदुर, राज्यको शक्तिशाली पदमा नरहेका निर्बलको घरका महिलाले लेखनमा आउनु कल्पना पनि गरिँदैनथ्यो । 
न साक्षरता व्यापक थियो, न लेख्ने समय वा इजाजत । त्यसैले उच्च घरानाका महिलाले नै विभिन्न पार्टीहरूमा मनोरञ्जन गर्नलाई वा सौख पूरा गर्न नारी साहित्य सिर्जना गरे । त्यो उनीहरूका पुरुषलाई खुसी तुल्याउनलाई हुन्थ्यो । त्यस्तै लेखावट बिस्तारै छपाइ पनि हुन थाल्यो । पछि विभिन्न परिस्थितिमा संसारको विभिन्न क्षेत्रमा अन्य आयाम सहित महिलाहरूले लेख्न थाले । जसमा सबै समुदायका अलग अलग पुरुषबाट दमित, पीडित कथाहरू बाहिरिन थाले ।
यसै आधारमा संसारका नारीवादी लेखनका केही नामहरू पढ्न र सुन्न पाइन्छ । बहु सांस्कृतिक नारीवादको अवधारणा आजसम्म जे जसरी निर्माण भएका छन् त्यो नारीप्रति पुरुषहरूबाट भौतिक, मनोवैज्ञानिक, आर्थिक तथा भाषिक रूपमा भएका ज्यादती समेट्न महिला लेखनबाट भएको हो । अझै त्यसलाई विस्तारमा समेट्न बाकी छन् भने त्यसले अब नयाँ धार बनाउने छ । घेरालाई व्यापक बनाउने छ ।
आज सम्मका सबै युरोपियन तथा युरोपियन मोडेलसँग प्रभावित नारीवादी आन्दोलन र त्यसबाट उत्पादित साहित्यिक उपलब्धि किताब विपरीत लिङ्गी नारीवादीहरूलाई ध्यानमा राखेर लेखिएका कथा हुन् । अर्थात्, युरोपका गोरा महिलाहरूले पहिला पीडा लेखे भने स्वाभाविक छ कि उनीहरूले आफ्ना भोगाइलाई मात्र लेखे ।
आर्थिक रूपले मध्यम वर्गीय महिलाले आफ्नै परिवेशका लेखे भने शारीरिक रूपमा पुरुषको भन्दा ठिक उल्टो प्रजनन अङ्ग भएका तथा बच्चा पाउन सकिने महिलाले केवल आफ्नै शरीरमाथि पुरुषका ज्यादतीबारे लेखे । तर यिनीहरूले अफ्रिका, एसियाका महिलाबारे लेखेनन् । 
अनि आर्थिक रूपले अति गरिब मजदुर, किसान, उद्योग, निजी व्यवसाय आदि ठाउँमा काम गर्ने महिलामाथि हुने पुरुष ज्यादतीबारे लेखेनन् । जो समलिङ्गी छन् वा, हेटेरोसेक्चुअल अर्थात् सामान्य रूपमा विपरीत लिङ्गतर्फ आकर्षित हुने तथा बच्चा पाउन सक्ने तर शारीरिक रूपले अन्य भागमा अपाङ्गको बार, लेस्बियन महिलाको यौनिक अधिकार, पहिचान आदिबारे लेखेनन् । 
तसर्थ, बाँकीहरूले आफ्ना पीडा छुट्टै लेख्न थाले र नारीवादी लेखनमा आयामहरू दिन प्रतिदिन थपिँदै छन् । विश्वमा नाम चलेका नारीवादी साहित्यकार टोईस टाईसन स्वयं मध्यम वर्गीय, विपरीत लिङ्गप्रति सामान्य आकर्षण हुने र बच्चा पाउन सक्ने, गोरो वर्णकी अमेरिकी विद्यावारिधि प्राप्त पुरुषको लागि मायालु र ठिक श्रीमतीको रूपमा छिन । फ्रान्सेली नारीवाद अमेरिकीभन्दा अलि पृथक् छ । जसमा भौतिकवादी नारीवाद र मनोवैज्ञानिक नारीवाद दुई रूपमा विकसित छन् । फ्रेन्च म्याटेरियलिस्ट फेमिनिज्मले पुरुष प्रधान परम्परागत शैली तथा देशका संस्था र निकायले कसरी भौतिक तथा आर्थिक अवस्थाहरू नियन्त्रण गरेर महिलामाथि दमन गर्छ सो बारे उजागर गर्छ ।
यस धारमा नाम चलेका फ्रान्सेली महिला साहित्यकार सिमोन डि बिभूका सन १९४९ मा प्रकाशित पुस्तक ‘द सेकेन्ड सेक्स’ २ दशक बढी सम्म बहसमा रह्यो । पुरुषले जे गर्न, लेख्न पनि स्वतन्त्र छन् भने महिलालाई भर पर्नुपर्ने ? अर्थात्, पुरुषले नचाहे लेख्न पाउँदिनन् भन्ने प्रश्न उनले उठाइन् ।
यसै धारका अर्का लेखक क्रिष्टिना डेल्फीले सन १९७० को दशकमा फ्रेन्च म्याटेरियलिस्ट शब्द निर्माण गरिन । विवाहलाई श्रम-सम्झौताको रूपमा व्याख्या गरिन् । ९९८० भने यसै धारका कोलेट्ट गुईलाउमिनले भने महिलाको समय र शरीरलाई पुरुषले आफ्नो सम्पत्ति ठान्छन् र जुन बेला पनि प्रयोग गर्ने आफ्नो अधिकार सम्झन्छन भनी प्रश्न उठाइन् ।
उता फ्रेन्च मनोवैज्ञानिक नारीवादले भने म्याटेरियलिस्ट फेमिनिस्ट भन्दा विपरीत धारणा निर्माण गर्‍यो । उक्त धारणाले महिलाको देखिने भौतिकभन्दा पनि अदृश्य मनोवैज्ञानिक अनुभव तथा स्वैरकाल्पनिक स्वरूपमा साहित्य सिर्जनाले महिलाको अस्तित्व प्रस्तुत गरेको कुरालाई प्रधानता दिएको छ ।  
यस अघि हेलेन सिक्जोअस, लिउस ईरिगेरे तथा जुलिया क्रिस्टेभाले नारीवादको पैरवी गरे । सिक्जोअसले हामीले बोल्ने भाषा पितृ सत्तात्मक हो तसर्थ महिलाले आफ्नो अस्तित्व देखाउन आफ्नै भाषा हुनुपर्छ भनिन् । जस्तै, पुरूषप्रधान समाजले पुरुष मात्रमा बैठकको अध्यक्षता गर्ने क्षमता देखेकोले, महिलामा पनि त्यो क्षमता छ, उनी पनि बैठकको अध्यक्षता गरिरहेकी छिन भने । 
यस समूहकी अर्की विश्व प्रसिद्ध विचारक तथा लेखक क्रस्टेभा हुन्जले यी सबैको जड पुरुष प्रधान भाषा हो भन्छिन् । उनले परम्परागत बोलिने भाषा भन्दा अब भाषामा लुकेका ईन्टोनेशन, ईशारा आदि द्वारा नयाँ अलग किसिमले अर्थ निकाल्ने कुरामा जोड दिइन् । उनी हामीले सानो बालकलाई जे सिकाइन्छ त्यही बोलेझैँ पुरुषवादी भाषालाई पुस्तौँ ढुवानी गर्न नहुने कुरामा जोड दिन्छिन् । 
जेन्डर अध्ययनबारे प्राडा. सञ्जीव उप्रेतीको नाम नेपालमा महिला अधिकार पक्षधरताको अग्रपङ्क्तिमा आउँछ । उनले भारतीय लेखक पार्था चटर्र्जीको पुरुषको सोच नै राष्ट्रिय सोच बनेकाले पुरुषलाई बाहिरियाको तथा महिलालाई भित्रियाको रूपमा बुझ्ने गरिएको व्याख्या घतलाग्दो भएको बताएका छन् ।
पुरुषले महिलालाई बाह्य आक्रमणबाट जोगाउँछ भन्ने सोच अङ्ग्रेजबाट भारत स्वतन्त्रताको लडाइँमा महिलाहरू पनि स्वयं लडेको इतिहासले खण्डित गरेको तर्क चटर्जीले दिएका छन् । अर्थात् महिलाले आफ्नो लडाइँ पुरुष जति आफैँ लड्न सक्छन् । 
उनले महाभारतकी पात्र द्रौपदी तथा आधुनिक इतिहासमा झाँसीकी रानीको उदाहरण दिँदै महिलालाई घरमा सीमित रहने परम्परागत बुझाई गलत साबित भएकाले अब महिलाहरू विद्रोह र स्वतन्त्रताका प्रतीक पनि हुन भन्छन् ।
उप्रेतीका अनुसार महिला माथि पोस्टकोलोनियल कालखण्डमा पनि पुरुषहरूको दोहोरो थिचोमिचो सहन गर्नुपरेको एक प्रकारको सबाल्टर्नको स्थिति थियो । मार्क्सवादी नारीवादी सिरिन रायको उदाहरण लिँदै उप्रेती लेख्छन् ‘संसारमा महिलाको ५ प्रतिशत जमिन, १० प्रतिशत आम्दानी र सम्पत्तिको १ प्रतिशत मात्र अंश छ, बाँकी सम्पूर्णमा पुरुषको पकड छ ।’ 
जुलिया क्रिस्टेभाको भनाई जोड्दै उप्रेतीले लेखेका छन्, पत्रकारिता, व्यवसाय, राजनीति तथा कानुनी पेसासँग सम्बन्धित महिलाहरूलाई पुरुष प्रधान उनका प्रतिस्पर्धीले हेर्ने नजरीयाका कारण यौटै पेसाका महिलाहरू प्रतिस्पर्धी पुरुषको अघि महिलापन देखाउन बाध्य पारिन्छ । जसकारण उनीहरू उच्चतम कार्यक्षमता प्रदर्शन गर्न सक्दैनन् । 
नेपालमा नारीवादको अध्ययन
यतिमा नै नारीवादको अध्ययन सकिँदैन । नारीवादी अध्ययन मानव समाज निर्माण भएको दिनदेखि आजसम्म हरेक समाजका महिलामाथि हुने शोषणको प्रकृति अनुसार फरक अध्ययन हो । सीमा रहित  नारीवादका स्वरूपहरू भोली अर्को कालखण्ड र अर्को समाजमा अलग हुन सक्छ । नेपालमा यी कुराहरू उच्च शिक्षामा भारतमा झैँ अध्ययन गराइन्छ । तर नेपाल-भारत जस्ता विश्वको पूर्वी गोलार्द्धको अध्ययन अलग्गै स्वादको छ । यहाँ त्रिपिटक, महाभारत, रामायण जस्ता धार्मिक स्क्रिप्चरहरूबाट नारीवादी अध्ययन गर्न सकिन्छ ।
नेपालका सहर र गाउँका महिलाका आर्थिक अवस्था, राजनीतिमा घरबाट हुने पहुँच, पहाडी-मधेशी सामाजिक परिवेशका महिलालाई दिइने पारिवारिक छुट आदिका आधारमा नारीवादका छुट्टै प्रयोग तथा अनुभवहरू पाइन्छ । अहिले महिलाको नाममा ३३ प्रतिशत अधिकार आरक्षित छ । जुन आफैँमा हास्यास्पद छ किनकि त्यो आरक्षण आर्थिक हैसियत बलियो भएको, राज्यसत्ता, राजनैतिक उच्च घरानाका महिलाहरूले मात्र उभोग गरेका छन् ।
तसर्थ, नेपालमा महिला वा नारीवादी अध्ययन तथा सर्वसाधारण महिलाको अधिकारको लागि लामो सङ्घर्ष, चेतना जगाउने काम बाँकी छ । महिलाले तत्काल आरक्षण सशक्तीकरणका लागि उपयोग गर्दै सक्षमताको आधारमा बराबरी हिस्ससा उपभोग गर्ने मिहिनेत गर्नुपर्छ ।
उच्च शिक्षा हासिल गर्ने महिलाले केवल नारीवादमा शोधपत्र लेखेर मात्र हुँदैन । समाजशास्त्र, जेन्डर तथा वूमन स्टडीजको विद्यार्थी हुँ भनेर पुग्दैन । सबै पुरुष महिलाका शत्रु हुँदैन । तर नारीवादी पुरुष अभियन्ता तथा साहित्यकारहरूले अन्तर्राष्ट्रिय मर्यादा रेखा बाहिर गएर बोल्न र लेख्न पाउँदैनन् । स्त्रीमा हुने प्रजनन, महिनावारी तथा शारीरिक बनावटहरू बारे स्वअनुभवको आधारमा उनीहरू चर्चा गर्न सक्दैनन् ।
-लेखिका समाजशास्त्रमा स्नातकोत्तर सामाजिक अभियन्ता हुन ।