इतिहासको कालखण्डमा सुनसरी जिल्लामा पत्रिका प्रकाशन, पत्रकारिताको प्रारम्भ धरानबाट सुरु भएको पाइन्छ ।  नेपालमा छपाई प्रविधि प्रवेश नगरेको बेला पत्रिका, पुस्तक छाप्न भारतको वाराणसी जानु पर्दथ्यो । त्यस बेला हातले लेखिएका हस्तलिखित पत्रिका प्रकाशन गर्ने चलन पनि थियो । राणा शासनकालमा पत्रिका प्रकाशन गर्नु ठुलो जोखिमको कुरा थियो नै लेख, रचना, कविताको गलत अर्थ लगाएर शासकहरूले स्रष्टालाई जेल हाल्ने जमाना थियो ।
त्यस्तो बेला २००४ सालमा पनि धरानबाट पत्रिका प्रकाशन भएको इतिहास पाइन्छ । पब्लिक हाई स्कुलबाट प्रकाशन भएको हस्तलिखित पत्रिका ‘छात्र धारा’ धरानको पत्रिका प्रकाशनको इतिहासमा पहिलो हो । २०१६ सालमा पिण्डेश्वर स्थित संस्कृत छात्र संघले प्रकाशित गरेको ‘नेपाल’ पत्रिका  छापाखानामा छापिएको इतिहासमा पहिलो हो । यसका सम्पादक टिकाप्रसाद शर्मा बस्ती थिए ।
पछिल्लो कालखण्डमा नेपालमा लेटर प्रेस छापाखाना खुल्न र भारतबाट कागज ल्याउन थालिएपछि नेपालमै पत्रिका छापिन सुरु भयो । धेरै लामो समय सम्म साहित्यिक पत्रिका तथा साहित्यिक पत्रकारिताले लिएपछि समाचार पत्रिका तथा पत्रकारिता नेपालमा सुरु भएको इतिहास पाइन्छ । त्यो इतिहासमा धरानबाट ४० वटा सम्म साहित्यिक पत्रिका प्रकाशन भएको देखिन्छ ।
धरानबाट २०२० सालमा प्रकाशित पहिलो दर्तावाल पत्रिका ‘साँगुरी’ भएको इतिहासमा पाइन्छ । सुनसरी जिल्ला विभाजन नभैसकेको अवस्थामा मोरङ विराटनगर गोश्वारा (मोविगो)बाट प्रशासनिक कार्य हुने भएकाले पत्रिकाको दर्ता नम्बर मोविगोदनं ८४६ थियो । धरान-१४ का अम्बिकाप्रसाद श्रेष्ठले दर्ता गराएको उक्त पत्रिका सुनसरी जिल्ला पञ्चायतको मुखपत्रको रूपमा प्रकाशित भएको थियो ।
२०२९ सालमा धरानबाट ‘नयाँ चेतना’ साप्ताहिक नियमित रूपमा प्रकाशित हुन थालेपछि यहाँ पत्रकारिताको आधुनिक कालखण्ड सुरु भएको मानिन्छ । नेपाली कांग्रेसको संघर्षको बेला कठिन परिस्थितिमा नयाँ चेतनाले लोकतान्त्रिक आन्दोलनलाई साथ दिएको थियो । पञ्चायत व्यवस्थाको विपक्षमा त्यो मिसन पत्रकारिताको सुरुआतका दिन थिए ।
भोजपुर जिल्ला प्रशासन कार्यालयमा ‘चेतना’ साप्ताहिकको नाममा दर्ता भएको उक्त पत्रिकाका सम्पादक स्वर्गीय ज्ञानेन्द्रबहादुर कार्की थिए । भोजपुरबाट सुनसरी ठाउँ सरी गरेर ‘नयाँ चेतना’ नाम परिवर्तन गरी प्रकाशित हुने गरेको साप्ताहिकले पूर्वाञ्चलमा सशक्त पत्रिकाको पहिचान बनाएको थियो । धरानबाट ‘नयाँ चेतना’ प्रकाशन हुन थालेपछि मिसन पत्रकारिताको पहिलो माइलखुट्टी बनेको थियो । 
यसमा केदारनाथ श्रेष्ठ, आनन्द थापा, केदार शाक्य, वासुदेव भण्डारी, तेजनाथ भण्डारी लगायत त्यस बेलाका प्रजातान्त्रिक आन्दोलनका अगुवाहरू जोडिएका थिए । पछिल्लो समय गणेशप्रसाद श्रेष्ठ, कृष्ण अधिकारी, हर्ष सुब्बा संलग्न भएका थिए । त्यस बेला सम्म सुनसरीको राजनीतिक, शैक्षिक, उद्योग, व्यापार र पत्रकारिताको केन्द्र धरान थियो ।
धनकुटाका विश्वजीत किराँतीको पाक्षिक म्यागेजिन साइजमा प्रकाशित हुने ‘अन्तर्वार्ता’ धरानबाट रमेश नेपालीले धरानबाट केही अंक साप्ताकिको साइजमा प्रकाशन गरे । पछि उक्त पत्रिका देवराज अधिकारीले पनि प्रकाशित गरे । काठमान्डुमा दर्ता भएको ‘अन्तरवार्ता’ अन्ततः किराँतीले उतैबाट चलाउन थाले ।  
२०३६ सालको जनमत संग्रहपछि पञ्चायती व्यवस्थामा सुधार भएको भनी पत्रपत्रिका दर्ता प्रक्रिया खुकुलो गरियो । धरानबाट प्रकाशित हुने गरी नयाँ पत्रिकाहरू दर्ता भए । २०३९ साल देखी गिरिराज आचार्यको सम्पादन/प्रकाशनमा ‘पूर्व टाइम्स’ साप्ताहिक प्रकाशित हुन थाल्यो । अहिले उक्त साप्ताहिक ४१ औँ वर्षमा लागेको छ । धरानबाट निरन्तर चार दशक देखी नियमित तथा निरन्तर प्रकाशित हुँदै आएका पत्रिका ‘पूर्व टाइम्स’ साप्ताहिक हो ।
राजनीतिक दलहरू प्रतिबन्धित रहेको बेला लोकतान्त्रिक आन्दोलनको कुनै संकेत पनि नभएका बेला बहुदलीय प्रजातन्त्रको पक्षधरका रूपमा ‘पूर्व टाइम्स’ले आफूलाई उभ्याउँदै आएका थियो । त्यस बेला कांग्रेस कम्युनिस्टका नेताहरूले बोलेका कुरा सरकारी सञ्चार माध्यम पत्रिकाहरूमा आउँदैन थियो नै, स्थानिय पत्रपत्रिकाले छाप्ने आँट समेत गर्दैन थियो । 
त्यस्तो बेला प्रजातान्त्रिक आन्दोलनलाई सघाउने कांग्रेस, कम्युनिस्टका नेता बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीका वैचारिक कुराहरूलाई प्राथमिकताका साथ प्रकाशित गर्दथ्यो । पञ्चायती व्यवस्था विरुद्ध मिसन पत्रकारितामा चलेकै कारण पूर्व टाइम्सका सम्पादक प्रकाशक गिरिराज आचार्यलाई २०४६ सालको आन्दोलन हुनुभन्दा ६ महिना अघि पक्राउ गरेको थियो । 
यसै गरी २०४० सालमा चन्द्रमणि अधिकारी सम्पादक/प्रकाशक रहेको ‘आरसी’ साप्ताहिक, रमेश नेपालीको ‘संसार’ साप्ताहिक, टीएन वर्माको ‘सिरेटो’ साप्ताहिक दर्ता भई प्रकाशित भएका थिए । यसै गरी रमेश नेपालीको परामर्श दैनिक, ज्ञानेन्द्रबहादुर कार्मीको ‘वर्तमान’ दैनिक पनि जिल्ला प्रशासनमा दर्ता भई फाटफुट प्रकाशित भएका थिए । 
त्यसै बेला धरानबाट राजकुमार कार्की, इन्द्रकुमार श्रेष्ठ, हिराप्रसाद रिजाल लगायतको समूहले ‘परिवर्तन’ साप्ताहिक पत्रिका प्रकाशन गरेका थिए । वामपन्थी धारको मानिएको परिवर्तन पत्रिकाको मिसन पनि पञ्चायत व्यवस्था विपक्षमा जनमत तयार गर्नु नै थियो । पछिल्लो पटक राजकुमार कार्मीको सम्पादन नेतृत्वमा झापामा माधव विद्रोहीको नाममा दर्ता भएको ‘जन शताब्दी’ साप्ताहिक धरानबाट प्रकाशन हुन थालेको थियो ।
आनन्द आचार्य सम्पादक, आनन्द थापा प्रकाशक रहेको ‘हिमवाणी’ साप्ताहिक, भवानी बरालको सम्पादनमा प्रकाशित ‘विजयपुर’ साप्ताहिक, पनि धरानको पत्रकारिताको इतिहासमा उल्लेखनीय छ । धरानको पत्रकारिताको इतिहासमा साँयकालिन दैनिक पत्रिका प्रकाशन इतिहास बिर्सन नहुने अध्यायको रूपमा आउँछ । २०५८ मा हिमाल राईको ‘एक्सन टाइम्स’ पनि प्रकाशित हुन्थ्यो ।
धरानबाट प्रकाशित हुने गरी आधा दर्जन दैनिक पत्रिका दर्ता भए पनि व्यवसायीक रूपमा सफल र निरन्तरता पाएको दैनिक ‘ब्लाष्ट टाइम्स’ मात्र बनेको छ । २०५० मा दर्ता भएको ब्लास्टको प्रकाशन धरानको विकासको मुद्दालाई मिसन बनाएका युवाहरूको परिणाम हो । यूथ एक्सन ग्रुप नामक समूहको  नेतृत्व राजकुमार कार्कीले गरेका थिए ।
धरानबाट ब्रिटिस घोपा क्याम्प उठेर गएपछि ‘मृत सहर’ भन्न थालिएको धरानको विकाशका सवाल उठाउन राजकुमार कार्कीको सम्पादनमा ब्लाष्ट पत्रिकाको प्रकाशन सुरु भएको थियो । त्यस समूहमा आनन्द श्रेष्ठ, गोपाल देवान, खगेन्द्र श्रेष्ठ, हिमाल राई, गिरिधारी सापकोटा लगायतको सक्रियता थियो । ब्लाष्टलाई विधिवत् दैनिक प्रकाशन गर्न किशोरकुमार कार्की सम्पादक/प्रकाशक रहेर दर्ता भएको हो ।
त्यसै अवधिमा खगेन्द्र श्रेष्ठले छुट्टै ‘न्यु ब्लाष्ट टाइम्स’ प्रकाशित गरेका थिए । २०५५ मा मणिराज भट्टराईले ‘अनुमति’ दैनिक दर्ता गरेका थिए । २०५६ मा आनन्द श्रेष्ठको सम्पादनमा ‘डेली मर्निङ पोस्ट’ प्रकाशित हुन थालेको थियो । 
मर्निङ पोस्ट बन्द भएपछि २०६० बाट वासुदेव बरालको सम्पादनमा प्रकाशित ‘मर्निङ टाइम्स’ दैनिक निकै लामो समय सम्म प्रकाशित भयो । पछिल्लो समय सागरप्रसाद भट्टराई, हर्ष सुब्बाको नेतृत्वमा चलेको ‘मर्निङ टाइम्स’ कोरोना महामारी सुरु भएपछि स्थगित भयो । अहिले सम्म पुनः प्रकाशित भएको देखिन्न ।
‘औजार’ दैनिक भिमज्वाला राई, मोती सुनुवारको नेतृत्वमा प्रकाशित हुँदै आएको थियो । कोरोनाकै कारण हाल सम्म स्थगित छ । नियमित प्रकाशन हुँदै आएको केशव घिमिरेको सम्पादन/प्रकाशक रहेको ‘फास्ट’ दैनिक पनि कोरोनाकै कारण बन्द भएको छ ।   
यसअघि धरानमा २०५४ सालमा पहिलो पटक ‘पूर्वेली’ सन्ध्याकालीन दैनिक प्रकाशन सुरु भएको थियो । प्रधान सम्पादक महेश श्रेष्ठ, सम्पादक नवराज लुङटेल रहेको ‘पूर्वेली’ दैनिकको सन्ध्याकालीन प्रकाशनले धरानको सहरी संस्कृतिको विकाशमा एक पाइला अघि बढाएको थियो । यसको लगत्तै विमल शाक्यको अर्को सन्ध्याकालीन दैनिक ‘सयपत्री’ पनि प्रकाशन सुरु भएको थियो । धरान बाहेक काठमान्डु बाहिर सन्ध्याकालीन दैनिक प्रकाशन भएको इतिहास छैन ।  
त्यस बेला ठुला महानगरहरूमा ठुला मिडिया हाउसहरूले टोब्लायड साइजमा सन्ध्याकालीन संस्करण प्रकाशित गर्दथे । नेपालमा ठुला मिडिया कामना प्रकाशनले ‘आजको समाचारपत्र’ दैनिक बाहेक सन्ध्याकालीन ‘महानगर’ प्रकाशित गर्दथ्यो । साथै काठमान्डुमा आधा दर्जन सन्ध्याकालीन दैनिक प्रकाशित हुन्थ्यो । 
धरानबाट प्रकाशन हुने गरेको पत्रिकाहरूको सूचि लामै छ । राजकुमार दिक्पाल डम्बरकृष्ण श्रेष्ठ, प्रदीप मेयाङबो लगायतको समूहले प्रकाशित गरेको ‘न्युज टाइम्स’ साप्ताहिक, मात्रिका प्रसाद नेपाल, योगश काफ्ले, प्रदीप मेयाङबोले प्रकाशित गरेको रङ्गिन साप्ताहिक ‘एबिसी न्युज’ उल्लेखनीय छन् । मोहनकुमार उप्रेतीको ‘पूर्वोदय’ साप्ताहिक, स्वर्णिमहाङ फोम्बोका ‘नुमाफुङ’ साप्ताहिक, निमा पोङस्युवाको ‘चिसेफायु’ साप्ताहिक, तिल विक्रम कन्दङवाको ‘जन चाहना’, ‘विज्ञपन’ दैनिक लगायत पनि उल्लेखनीय छन् ।   
२००४ देखी २०७० सम्म सात दशक लामो साहित्यिक प्रकाशन देखी समाचार पत्र, समाचार पत्रिका प्रकाशन तथा पत्रकारिताले धरानलाई चेतनशील बौद्धिक वर्गको सहरको रूपमा चिलाउने काम गर्यो । प्रजातन्त्र प्राप्तिको आन्दोलनमा मिसनको रूपमा विचार, सूचनालाई सञ्चार गर्ने काम गर्यो । 
मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेपछिको अवस्थामा यसको स्थायित्वका लागि भूमिका निभाउने बेलामा आएको ‘न्यु मिडिया’ तथा सामाजिक सञ्जाल, अनलाइन र डिजिटल प्रविधिले छापा माध्यम विस्थापित हुने क्रममा छ । मोबाइलको सुविधाले समाचारका छापा माध्यम इतिहासमा सीमित हुने खतरा बढेको छ । 
पछिल्लो समय दर्ता भई हाल सम्म योगेश काफ्लेको सम्पादन प्रकाशनमा प्रकाशित हुँदै आएको ब्रोडसिटका रङ्गिन दैनिक ‘कोशीपत्र’को प्रकाशन स्थगित भएकोले यसको पुष्टि हुन्छ । धरानमा कोरोना महामारी सुरु भए सम्म चलिरहेका ५ दैनिकहरू मध्ये औजार, फास्ट टाइम्स, मर्निङ टाइम्स, कोशीपत्र बन्द प्रायः भएका छन् । 
अहिले प्रकाशित भइरहेका साप्ताहिक पत्रिकाहरूमा गिरिराज आचार्य सम्पादक, प्रकाशक रहेको ‘पूर्व टाइम्स’, मनिता चाम्लिङ सम्पादक रहेको ‘दिव्य रोशनी’, मणिराज भट्टराई सम्पादक, प्रकाशक रहेको धरान साप्ताहिक, गंगा बराल सम्पादक रहेको ‘विजयपुर’, शेखरनाथ योगी सम्पादक प्रकाशक रहेको ‘हाम्रो कोसी आवाज’, तरा लाम्गादे सम्पादक प्रकाशक रहेको ‘महाप्रतिवाद’, गम बहादुर लम्जेल सम्पादक प्रकाशक रहेको ‘प्रबोध’ पाइन्छन् ।
बन्द प्रायः रहेका साप्ताकिहरुमा गोपाल देवान सम्पादक प्रकाशक रहेको ‘विश्वस्त सूत्र’, राजन सुवेदी सम्पादक रहेको ‘एक्सन टाइम्स’ देखिन्छ । छापा माध्यम बन्द प्रायः भए पनि अधिकांश दैनिक, साप्ताहिक पत्रिकाले अनलाइन संस्करण भने सञ्चालन गर्दै आएको पनि पाइन्छ । फेसबुक खोलेका छन् । कतिपय अनलाइन नियमित अपडेट पाइन्छन् भने अधिकांश संस्थागत भइएको पाइन्न ।       
छापा माध्यमको सम्भावना घट्दै गएपछि धरानबाट अनलाइन न्युज पोर्टल सुरु गर्ने क्रम बढेको छ । पत्रिकाहरूले अनलाइन सुरु गरेका छन् । एफएमहरूले पनि अनलाइन सुरु गरेको पाइन्छ । व्यवसायीक र संस्थागतको पक्षमा भने अनलाइनहरू सबल पाइन्न । बदलिएको सञ्चार माध्यममा जानै पर्ने बाध्यता भएकाले नयाँ खुल्ने अनलाइनको क्रम जारी छ । 
हाल धरानबाट सञ्चालित अनलाइनमा मातृका प्रसाद नेपालको ‘कपुरी न्युज’ डट कम, रोहित राईको ‘क्लिक धरान’ अग्र पङ्क्तिमा छ । यसै गरी भरतराज शर्मा गोपालले सञ्चालन गर्दै आएको आयो न्युज डटकम, भोला श्रेष्ठको छाल खबर डटकम प्रमुख छन् । पत्रिकाका अनलाइन पोटलहरूमा  ब्लाष्ट खबर अनलाइन, औजार अनलाइन, कोसी पत्र अनलाइन, दिव्य रोशनी अनलाइन, प्रबोध साप्ताहिक अनलाइन, कोसी आवाज अनलाइन छन् । 
धरानमा स्टुडियो र व्यवस्थित उपकरण भएको निजी स्थानिय टेलिभिजन ‘कृती टिभी’ एउटा मात्र छ । सामाजिक सञ्जालमा अनलाइन टिभी सबै युट्युब च्यानलका माध्यमबाट युट्युबरबाट सञ्चालित छन् । धरानमा सञ्चालनमा रहेका एफएमहरूमा विजयपुर एफएम। रेडियो धरान, गणतन्त्र एफएम, दन्तकाली एफएम, हार्ट एफएम छन् । प्रायः एफएमहरूले पनि सामाजिक सञ्जालमा जोडिन थालेका छन् । कतिपयले युट्युब मार्फत पनि समाचार प्रसारण गरेको पाइन्छ ।    
पछिल्लो समय नागरिक सञ्चार माध्यमको रूपमा सामाजिक सञ्जालको प्रयोगले मूलधारको मिडियालाई किनारमा पुर्‍यायो भन्न थलिएको छ । अनलाइनमा रूपान्तरण भइरहेका छापा माध्यमहरू पनि सामाजिक सञ्जालमा जोडिन थालेका छन् । एफएम रेडियो, टेलिभिजनहरू पनि दर्शक, श्रोता माझ पुग्न सामाजिक सञ्जाल प्रयोग गर्न बाध्य हुँदै गएको छ । सञ्चार प्रविधिले ल्याएको युगान्तकारी परिवर्तनबाट पत्रकारिता मात्र नभएर सबै कुरा प्रभावित भएका छन् ।
सञ्चारका नयाँ माध्यमको स्वछन्द प्रयोगले दिने गरेको सबै सामाग्री पत्रकारिताको सिद्धान्त भित्र नपर्ने कुरा अहिले बहसको विषय बनेको छ । यसले पत्रकारिता र सञ्चार माध्यमलाई बुझ्न नयाँ दृष्टिकोण बनाउन जरुरी देखिन्छ । 
लोकतान्त्रिक शासनमा स्वतन्त्र प्रेस राज्यको चौथो अङ्ग मानिन्छ । विचार र अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकारको रक्षा, जनतालाई सुसूचित गर्ने माध्यम प्रेस स्वतन्त्रता बिना सम्भव छैन । पत्रकारिताबाट प्रयोग हुने प्रेस स्वतन्त्रता स्वछन्द भने हुँदैन ।
राष्ट्र र समाजको सर्वोत्तम हितका लागि अन्तर्राष्ट्रिय मूल्य मान्यताका आधारमा पत्रकारितालाई व्यवसायीक, मर्यादित, उत्तरदायी र जवाफदेही बनाई राख्न पत्रकार आचार संहितामा पत्रकारिता बाँधिएको हुन्छ । नेपालमा पत्रकार आचार संहिता २०७३ क्रियाशील छ ।
सामाजिक सञ्जाल तथा युट्युब माध्यमको प्रयोगमा देखिने, पढिने सबै सामाग्री आचार संहितामा बाँधिएका हुँदैनन् । त्यसैले कतिपय सामाग्रीमा विद्युतीय कारोबार ऐन अनुसार कारबाही भएको सबैले सुन्दै आएकै विषय हो । 
पछिल्लो समय त्यस्ता माध्यमबाट गरिने पत्रकारितालाई आचार संहिता तथा कानुनी दायरामा ल्याउन नेपालमा प्रेस काउन्सिले अनलाइन न्युज पोर्टल सूचीकरणको नियम लागु गरेको छ । सूचिकृत सञ्चार माध्यमका लागि नेपालमा प्रेस तथा प्रकाशन ऐन छ । 
सञ्चार माध्यम र पत्रकारितामा आएको नयाँ परिवर्तन सँगै पत्रकारको आचार संहिताको पालन अहिले प्रबल रूपमा बहसको विषय भएको छ । मूलधारको पत्रकारिता र न्यु मिडिया बिचको फरक आचार संहिताको पालनाले छुट्टाउने तर्क अगाडि आइरहेको छ । यो बहसले पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घलाई पनि प्रभावित गरेको छ । 
पत्रकार महासङ्घको सदस्यता शुद्धीकरण अभियान त्यसैको परिणाम हो । पत्रकारितामा पूर्ण रूपमा निर्भर पेसागत श्रमजीवीहरू मात्र पत्रकार महासङ्घको सदस्यता दिइने १५ सूत्रीय मापदण्डले अब जो कोही महासङ्घको सदस्य हुन पाउँदैन । यसले राजनीति, जागिर, व्यापार, व्यवसाय वा अन्य पेसामा अर्ध वा पूर्णकालीन संलग्न रहेकाहरू पत्रकार बन्न नपाउने भनिएको हो कि भन्ने प्रश्न उठाएको छ । 
(नेपाली कांग्रेस सुनसरी-१ द्वारा प्रकाशित ‘बदलिँदो कांग्रेस २०८०’ स्मारिकामा प्रकाशित यो लेखमा सम्पादनको असावधानी वश ‘राजकुमार दिक्पाल डम्बरकृष्ण श्रेष्ठ, प्रदीप मेयाङबो लगायतको समूहले प्रकाशित गरेको ‘न्युज टाइम्स’ साप्ताहिक, मात्रिका प्रसाद नेपाल,योगश काफ्ले, प्रदीप मेयाङबोले प्रकाशित गरेको रङ्गिन साप्ताहिक ‘एबिसी न्युज’ उल्लेखनीय छन् ।’ एक प्यारा ग्राफनै डिलिट भएकोले पुनः प्रकाशित गरिएको हो । छोटो समयमा तयार गरिएकाले लेखमा कतिपय नामहरू छुटेका होलान्, त्यसका लागि क्षमायाचन गर्दै सुझावका लागि आग्रह गर्दछु । –लेखक)