इटहरी : इटहरीको मुख्य राजमार्गमा सिटी सफारी चलाउन निषेध गरिएको छ । मुख्य राजमार्ग बाहेक भित्री सडकमा पनि रुट परमिटको आधारमा सफारी चलाउनुपर्ने भएको छ । भित्री सडकमा कुदाउने रुट परमिट पाउनको लागि सफारी धनी इटहरीको स्थानीय हुनुपर्ने र उपमहानगरपालिकामा दर्ता भएको हुनुपर्ने प्रावधान ल्याइएको छ । 

स्थानीयवासीले मात्र इटहरीमा सफारी चलाउन निर्णय भएपछि छिमेकी पालिकाका चालकहरू रुष्ट बनेका छन् । रुष्ट मात्र बनेका छैनन् आन्दोलनको चेतावनी नै दिएका छन् ।

उपमहानगरको निर्णयलाई लिएर सफारी चालकहरू विभाजित भएका छन् । सोमबार इटहरी उपमहानगरपालिकाको गेट अगाडी चालकहरू बिच नोकझोक चल्यो । सुन्दरहरैँचाका सफारी चालकले असन्तुष्टि जनाउँदै भने, ‘इटहरीमा कर तिर्नेले मात्र गरिखान पाउनुपर्छ भन्ने खालको कुरा कस्तो हो ? सुन्दरहरैँचामा बसेको मान्छेले इटहरीमा गरिखान नपाउने हो ? ल म इटहरीमा कर तिर्छु । २० हजार लागे पनि दिन्छु । यो के गर्न खोजेको हो । बाहिरका मान्छेले पनि गरिखान पाउनु¥यो नि !’ 

उनको आवाज सकिन नपाउँदै इटहरी अर्का चालक जङ्गिए, ‘तपाईँले के भनेको ? हामीले पनि इटहरीको सबै ठाउँमा कुदाउन पाउँदैनौ । अब हामी सुन्दरहरैँचा आउनु ?’

दुई जनाको विवादका बिच केही मिनेटमै ठुलो समूह भयो । आ-आफ्नो पक्ष विपक्षमा तर्क सुरु भए । आन्दोलनको चेतावनी दिँदै इटहरीका अर्का चालकले भने, ‘मैले चुनावमा जिताउन गीत बजाउँदै रिक्सा कुदाएँ । अहिले आएर यो भोग्नुपर्‍यो । अब जुलुस निकाल्नु पर्छ साथी हो ।’

सुरुमा विवाद गरिरहेको सुन्दरहरैँचाका चालक पुन जुरमुरिए । घाम छल्न सफारीमा अडेस लागेका उनले इटहरीका सफारी सुन्दरहरैँचा पनि नजाने र उताका पनि इटहरी नआउने लिखित सहमति गरौँ भन्ने प्रस्ताव ल्याए । एकै स्वरमा उनले प्रश्न गरे, ‘इटहरी कसैको पेवा हैन । गछियाबाट भाटभटेनी गएको मान्छेलाई कता ओराल्नु ? भाटभटेनीमा एक छिन सामान किनुन्जेल पर्खी भन्यो भने के गर्नु ? छाडेर हिँड्नु ? भोली देखी हामी के गरिखानु ?’

उनको उत्तर दिने त्यो भिडमा केही थिएन । सबैले आ-आफ्नै असन्तुष्टि व्यक्त गरिरहेका थिए । सबै सँग प्रश्न मात्र थियो उत्तर थिएन । चालकहरू एक किसिमको आक्रोश र निराशामा देखिन्थे ।

विवादमा थाक्दै गएका इटहरीका चालकले सुन्दरहरैँचा र रामधुनी बाट आएका सफारी लाई भौतिक कारबाहीको चेतावनी दिए । भिडबाट बाहिरिँदै उनले भने ‘हामी भएभरको कमाइले कर तिरेर अनुमति लिने तिमिहरू पारी बाट आएर हैकम जमाउन मिल्छ ? त्यसो भए इटहरी बसाइँ सरेर आओ । हामीले कर तिरेका छौँ । भोली इटहरीमा बाहिरका सफारी आए भने मैले जानेको छु ।’

सफारी चालकहरूको आक्रोश छछल्कीयो । भित्रभित्रै मुरमुरिएका उनीहरू बिच प्रतिष्ठाको विषय बनेको छ । इटहरीमा बाहिरका सफारी आउन दिन नहुने समूह बलियो बन्दै जानुले द्धन्दको सङ्केत गरेको छ । 

कानुनमा मिल्ने व्यवहारमा नमिल्ने !

त्यही भिडको बिचमा थिए इटहरी ९ का मानबहादुर श्रेष्ठ । नागरिकताको हिसाबमा उनी सुन्दरहरैचा ४ का नागरिक हुन् । तर उनको परिवार इटहरी बसेको १५ वर्ष भयो । इटहरी-९ बसपार्कमा घर भएका उनी रिक्सा चलाउन गाह्रो नियम बनाएकोमा दु:ख व्यक्त गर्छन् । इटहरीको घर जग्गाको मालपोत तिरिरहेका उनले रिक्सा चलाउने परमिट नपाउने भएका छन् । कानुनी हिसाबमा उनले इटहरीमा सफारी दर्ता वा सञ्चालन गर्न पाउँछन् ।

इटहरी उपमहानगरपालिकाले उल्लेख गरेको कानुनी प्रावधानमा मानबहादुरले जुनसुकै पालिकामा पनि सफारी दर्ता गरेर चलाउन पाउँछन् । प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०७७ का को नियम ४ मा जुनसुकै पालिकामा दर्ता गर्न पाउने व्यवस्था छ । नियम ४ को तीन पाङ्ग्रे इ-रिक्सा सम्बन्धी व्यवस्थाको उपनियम ४ र ६ मा इच्छाएको स्थानीय तहमा दर्ता गर्न पाउने प्रावधान उल्लेख गरिएको छ ।

नियममा मात्र हैन व्यवहारिक हिसाबमा पनि इटहरी आउने आगन्तुकले दुई पटक सफारी परिवर्तन गर्नुपर्ने झन्झटिलो प्रक्रियाले इटहरीको अन्य व्यवसायमा पनि समस्या पर्ने देखिन्छ । हालसम्म इटहरीमा १२८१ सफारी दर्ता भएका छन् ।

ट्राफिक प्रहरीले पनि दर्ता नभएको सफारी चलाउन नदिने धम्की दिएपछि चालकहरू बिलखबन्दमा परेका छन् । यातायात व्यवस्था कार्यालयले स्थानान्तरको अनुमति दिन बन्द गरेपछि इटहरीकै स्थानीय चालकहरू पनि समस्यामा परेका छन् ।

यातायात कार्यालय प्रमुख राजकुमार गुप्ताका अनुसार गत असार मसान्त देखी स्थानान्तरण बन्द भएको बताउँछन् । कानुनी व्यवस्था अनुसार हाल नमिल्ने भएको कारण नियमावली संशोधन भएपछि मात्र स्थानान्तरण दिइने उनले बताए ।