आज वैदिक सनातन संस्कारमा वर्ष भरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने धार्मिक एवम् आयुर्वेदिक रूपमा अत्यन्तै महत्त्वपूर्ण  पवित्र कुश घर-घरमा भित्र्याइंदैछ एवमेव आज यस जगतका प्रत्यक्ष देवता "पिता" को विशेष सम्मान तथा सम्झना गर्ने दिन "बुबाको मुख हेर्ने दिन "छोराछोरीले आआफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाएर आदर सम्मान प्रकट गर्दै मनाइरहेका छन् ।

स्नाने दाने जपे होमे स्वध्याये पितृ करमणि।

करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने।

अर्थात्: नुहाउँदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा तथा पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुश वैदिक संस्कारका लागि अत्यन्तै महत्त्वपूर्ण वनस्पति हो।

कुश वैदिक सनातनीहरूले देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने रुढीवादी परम्परा मात्र नभएर वैज्ञानिक महत्त्व बोकेको बनास्पतिको हो। आयुर्वेदिक उपचारमा पनि कुशको उत्तिकै महत्त्व रहेको छ । कुशको प्रयोग दाद, रक्तपित्त, मिर्गौलाको पत्थरी इत्यादि रोगहरूको उपचारमा प्रयोग गर्न सकिन्छ ।

कुशको वैज्ञानिक नाम "Eragrostis cynosuroides" हो । श्रावण शुक्ल चतुर्दशीका दिन रोपिने कुशलाई भाद्रकृष्ण औँशी अर्थात् कुशे औँशीका दिन काट्ने गरिन्छ ।

पौराणिक कथन अनुसार जालन्धरकी पत्नी वृन्दाले विष्णुलाई श्राप दिने क्रममा घाँस हुनुपरोस् भन्दा कुशको रूपमा, झार हुनुपर्छ भन्दा तुलसीको रूपमा,वृक्ष हुनुपरोस् भन्दा पिपलको रूपमा र ढुङ्गा हुनुपरोस् भन्दा शालिग्रामका रूपमा प्रकट हुनुभएको भनी उल्लेख गरिएको छ ।

त्यसै गरी सीता माता अयोध्या पुरीमा धर्ती समाधिमा लिन हुन लाग्दा श्रीरामले सीता मातालाई रोक्ने क्रममा केवल सीताको कपाल मात्र हातमा आयो  र कालान्तरमा त्यही कपाल कुशका रूपमा परिणत भयो भन्ने अर्को पौराणिक कथन पनि रहेको छ।

‘पितृदेवो भव:’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान्ने धार्मिक मान्यताका आधारमा आज कुशे औँशीका दिन छोराछोरीले पितालाई विशेष सम्मान गरी  मिठो खाने कुरा तथा विभिन्न उपहारहरूका साथ दर्शन गर्ने गर्दछन् । पिता गुमाएकाहरूले भने तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा रहेको छ । महाभारतका अनुसार आकाश भन्दा ठुलो पिताको महिमा शब्दद्वारा व्याख्या गर्न असम्भव छ।

हामी तोते बोली बोल्दा तोते बोलेर बोल्न सिकाउने, हिँड्न सिकाउनेदेखि हाम्रै लागि अहोरात्र खटेर हामीलाई जीवनमा सफल बनाउने ती ठेला उठेका हात र  फतक्क गलेका खुट्टामा मलमपट्टि र मालिस गरिदिने कर्तव्य हामी छोराछोरीको हो ।

शास्त्रले यस संस्कारलाई लोप हुन नदिन विशेष दिन औँल्याए पनि वर्ष भरिनै मातापिताको सम्मान तथा सेवा गरिरहनु पर्छ। कर्तव्य नै जीवन हो । त्यसैले बाबुआमाले आफ्नो कर्तव्य, हामी सानो छँदा उत्साह उमङ्गका साथ हामीलाई पालनपोषण तथा उच्चशिक्षा दिएर पुरा गरिसक्नु भयो र अब हामी छोराछोरी हुर्की सकेपछि उहाँहरूको हेरचाह गरी बुढेसकालको सहारा बन्यौँ भने मात्र हाम्रो जीवनले सार्थकता पाउँछ।

पिता शब्द "पा रक्षणे"धातुबाट बन्दछ। "यः पाति स पिता" अर्थात् :जो रक्ष गर्ने वाला हो त्यही नै पिता हो। तर मित्र, सामाजिक बन्धु, चिकित्सक सुरक्षा कर्मी इत्यादिहरूले पनि हाम्रो रक्षा गर्ने गर्छन्। त्यसैले पिता अनेकार्थी शब्द हो।

"शरीरकृत् प्राणदाता यस्य चान्नानि भुंजते।

क्रमेणैते त्रयोऽप्युक्ताः पितरो धर्मशासने।।" 

(महाभारत आदिपर्व )

अर्थात् जसले गर्व धानद्वारा शरीर निर्माण गर्दछन्,जसले रक्षागरि अन्नद्वार पालनपोषण गर्नुहुन्छ उहाँ नै पिता हो।

"पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः।

पितरि प्रीतिमापन्ने सर्वाः प्रीयन्ति देवता।।"

अर्थात् पिता नै परम् धर्म, परम् स्वर्ग र पारम् तपस्या हुनुहुन्छ। मातापितालाई प्रसन्न गर्न सक्यो भने अवश्य पनि देवता प्रसन्न बन्नुहुनेछ ।