इटहरी  : माओवादी जनयुद्धको परिणाम स्वरूप पूर्वी नेपालका राजमार्ग आसपास बजार विस्तार भए । माओवादी युद्धबाट पीडित तथा युद्धको समयमा बिदेसिएका युवाको कारण इटहरी, दमक, बिर्तामोड लगायत बजार बढ्दै गए। 
सोही क्रममा इटहरीको गाउँ बजार भयो । समय क्रममा सहर बन्ने चरणमा पुग्यो । २०५३ सालमा गाविसबाट नगरपालिका भएको इटहरी २०७१ सालमा थप चार वटा गाविस गाभिएर उपमहानगरपालिका भयो । भौगोलिक हिसाबमा ठुलो नगर भयो । प्रशासनिक रूपमा शक्तिशाली बन्यो । त्यस सँगै इटहरी सहर बन्ने अभ्यासमा लाग्यो । यसरी हेर्दा इटहरी बालकबाट भर्खरै किशोरावस्थामा प्रवेश गरेको सहर हो । 
२०७२ पछि इटहरीका क्याफे कल्चर सुरु भयो । धमाधम रेस्टुरेन्ट खुल्न सुरु भयो । दोहोरी साँझ चल्ने इटहरीमा नाइट क्लब खुल्न थाले । विभिन्न कन्सर्ट र महोत्सवले इटहरी गुल्जार बन्दै गयो । जग्गा कारोबारले इटहरीको आर्थिक कारोबार आकासियो । जसको कारण पूर्वका सहरमध्ये इटहरीको चहलपहल निक्कै माथि पुग्यो । 
तर इटहरी संस्कार नपाएको किशोर जस्तो सहर बन्यो । जग्गा र म्यानपावर व्यवसाय बाहेक आर्थिक उपार्जनका भरपर्दो श्रोत फेला पर्न सकेनन् । दिगो विकासको भरपर्दो आधार नहुँदा लगानी भित्रिन सकेन । 
पछिल्लो समय सहर बन्ने अभ्यासमा छ इटहरी । ठुला होटेल खुल्ने क्रम जारी छ । नाइट मार्केटको सम्भावना बढ्दै गएको छ । ब्राण्डेड सामग्रीका सोरुम इटहरीमा खुल्दै गएका छन् । अन्य सहरकै अनुपातमा नभए पनि इटहरीको बजार बढ्ने क्रममा छ । 
पूर्वी नेपालमा यसअघिकै नाम चलेका सहरहरू धरान र विराटनगरको बिचमा पर्ने इटहरी आलोकाँचो छ । इटहरीमा हुने सामाजिक तथा सांस्कृतिक गतिविधिले त्यसलाई थप प्रस्ट परिरहेको छ । त्यस बाहेक अन्य सहरको अस्तव्यस्त शैली इटहरीले पनि अपनाएको छ । विना योजना भएका निर्णयहरू दीर्घकालीन हुन सकेका छैनन्। 
दीर्घकालीन योजना विना गरिएका अभ्यासहरू एक पछि अर्को असफल भएका छन् । २०७९ भदौमा मुख्य राजमार्गमा तिन पाङ्ग्रे सिटी सफारी चलाउन नपाउने निर्णय भयो । ट्राफिक प्रहरी सहित भएको निर्णय केही दिन पनि कार्यान्वयन हुन पाएन । अहिले सुन्दरहरैँचाका सफारी इटहरी आउन टाइम कार्डको व्यवस्था छ । जुन केही दिनमै भङ्ग हुने अवस्थामा पुगेको छ । 
इटहरीको प्रथम जाती थारु घोषणाले सबैतिर प्रशंसा भयो । तर थारुको कला, साहित्य र संस्कृति संरक्षणमा ठोस काम भएको छैन । 
‘एक घर दुई बिरुवा’ अनिवार्य रोप्ने गरी अभियान चलाउने निर्णय भयो । घर निर्माण गर्दा दूईवटा बिरुवा रोप्नुपर्ने बाध्यात्मक अवस्था सृजना गरेर ‘हरित नगरी’ बनाउने अभियान सफल भएन । त्यस सँगै ज्येष्ठ मसान्त भित्र सम्पूर्ण योजना निर्माणको काम सक्नुपर्ने निर्णय कार्यान्वयनमा आएन ।  
उपमहानगरपालिकाको यातायात तथा भौतिक पूर्वाधार शीर्षकको बजेट नीति तथा कार्यक्रममा इटहरीको समग्र विकाशको निम्ति गुरुयोजना तयार गर्ने उल्लेख छ । त्यस बाहेक दलहरूको चुनावी प्रतिबद्धतामा गुरु योजना बनाएर काम गर्ने बताइरहन्छन् । 
अब भौतिक पूर्वाधारको मात्र नभई मानव संसाधनको विकास हुनुपर्नेमा सरोकारवालाहरू सहमत छन् । तर मानव संसाधन विकाशको ठोस आधार बन्न सकेको छैन । कुनै योजना बनेकै छैन । २०६४ सालमा इटहरी नगरपालिका हुँदाका बखत बनेको आवधिक योजनाको अद्यावधिक समेत भएको छैन । 
अर्थात् इटहरीको विकाश विना योजना अस्तव्यस्त तरिकाले भइरहेको छ । गुरु योजना बारे पूर्वाधार विज्ञ अर्जुन दाहाल यस विषयमा हाल कुनै निर्णय नभइसकेको बताउँछन् । नगर यातायात व्यवस्थापन कार्यक्रम अगाडी बढिरहेको बताएका उनले गुरुयोजना बारे कुनै काम नभएको बताए । 
२०७८ सालको जनगणनाको आधारमा इटहरीको विविधता बारे कुनै छलफल र निर्णय भएको छैन । इटहरीको पर्यावरण, खेलकुद, शिक्षा, जनस्वास्थ्य, रोजगारी, उद्यमशीलता, भाषा, संस्कृति, कला लगायत भौतिक पूर्वाधारमा आगामी २० वर्षको हैन भोली नै के गर्ने भनेर तयारी छैन । 
नयाँ योजना कार्यान्वयनको चुनौती, फाइदा र समस्याको बारेमा पुर्वतयारी भएकै छैन । विगतमा कुनै अध्ययन बिना गरिएका निर्णयको दीर्घकालीन प्रभाव फलदायी भएका छैनन् । अध्ययन र अनुसन्धानमा विश्वास नगर्दा हचुवाको भरमा मनगणन्ते योजना बन्ने गरेका जसको प्रभाव गतिलो नहुने र आगामी पुस्ताले मूल्य चुकाउनुपर्ने बताउँछन् अर्थशास्त्री कृष्ण अग्रवाल । सहरको मुख्य विशेषता भनेको रोजगारी र आर्थिक उपार्जन सँग जोडिएको उनको तर्क छ ।  
दिगो विकाश लक्ष्यलाई समेट्ने गरी योजना बनाउनुपर्ने उनको तर्क छ । ‘सरह भनेको घना बस्ती र ठुला महल मात्र हैनन् । त्यसको आफ्नो पहिचान हुनुपर्छ । विकाशको नयाँ मोडेल हुनुपर्छ । अहिले स्थानीय तहका जनप्रतिनिधिले यसमा चासो दिए धेरै राम्रो हुने थियो । अहिलेको क्षणिक फाइदाको लागि भन्दा पनि आगामी ५० वर्षमा कस्तो सहर बन्छ भन्ने कल्पना र योजना सहितको सहर निर्माणमा लाग्नुपर्छ,’ उनले भने ।
सङ्गीत, कला र साहित्यमा युवाहरूको रुचि कस्तो छ ? उनीहरूले रुचि अनुसारको वातावरण पाएका छन् कि छैनन् ? स्थानीय सरकार जनताको अभिभावक हो । अभिभावकले जनतालाई छुन सकेको छ कि छैन ? युवा उद्यमीहरू लगानी गर्न किन मान्दैनन् ? किन अवसरको सृजना भइरहेको छैन ? खेलकुद र मनोरञ्जनको क्षेत्रमा आगामी योजना के छ ? स्टार्टअप विजशेनमा आकर्षित भइरहेको पुस्तालाई सहरमै कसरी राख्न सक्ने ? चर्को भाडा दरले व्यापारीले भोगेको अप्ठ्यारो कसले बुझिदिन्छ ? यस्ता प्रश्नको उत्तर दिने गरिको योजना अझै सम्म बनेको छैन ।   
सोही विषयमा प्राध्यापक डाक्टर रामजी तिम्सिना इटहरीको स्वरूप भौतिक रूपमा सहर जस्तो देखिए पनि मनोवैज्ञानिक रूपमा त्यसको संस्कार विकास भई नसकेको बताउँछन् । ‘सहर भनेको भवन र भौतिक संरचना मात्र नभएर चेतना र व्यवहार हो । चेतनाको निर्माण समाजमा हुन्छ । समाज कस्तो छ भन्ने बुझ्न विद्यालय बुझ्नु पर्छ । विद्यालयको वातावरण कस्तो बन्दै गएको छ भन्ने कुराले सहर कस्तो बन्दैछ भनेर बुझ्न सकिन्छ,’ उनले भने । 
शिक्षा क्षेत्रमै लामो समयदेखि कार्यरत रहेका उनले दलीय प्रणालीले राजनीतिकरणको कोपभाजनमा शैक्षिक संस्थाहरू परेको बताए । थप प्रस्ट पार्दै उनले भने, ‘दलीय चेतना बोकेको शिक्षकले बदलिएको चेतना कसरी बाढ्न सक्छ ? सरहकै कुरा गर्दा अध्ययन, अनुसन्धान गर्ने संस्कार हुनुपर्छ । रिसर्च नगरी सत्य कुरा पत्ता लाग्दैन । सत्य कुरा थाहा नपाई गरेको काम सफल हुँदैन । त्यसैले सबैभन्दा पहिला रिसर्चमा लगानी गर्नुपर्छ ।’
अहिले सहरको नेतृत्वले आफ्ना सन्तानलाई नेतृत्व गर्ने संस्कार भएको पुस्ता उत्पादन गर्नुपर्ने चुनौती छ । कस्तो नेताको सहरमा आफ्ना सन्तानलाई हुर्काउने भन्ने मुख्य जिम्मेवारी वर्तमान नेतृत्वको काँधमा छ । सहर भनेको संस्कार पनि हो भन्ने डाक्टर तिम्सिनाको तर्कमा टेक्दै कस्तो संस्कार भएको सहर बनाउने भन्ने निर्धारण अहिलेका जनप्रतिनिधिको हातमा रहेको छ भन्दा अत्युक्ति नहोला । 
दिगो विकाशका १७ लक्ष्यहरूमा टेकेर सहरको निर्माण र विकाश गर्न सकिन्छ । मुख्यतः रोजगारी, खाद्य सुरक्षा, स्वस्थ जीवनको सुनिश्चितता, समावेशी र समतामूलक शिक्षा तथा पर्यावरणमैत्री विकाशलाई ध्यान दिनु अहिलेको आवश्यकता हो । स्वच्छ पिउने पानी, उत्पादनशील पूर्वाधारको निर्माण र नवीन खोजलाई प्रोत्साहन गर्नुपर्ने जरुरी छ ।  न्यायमा पहुँच सुनिश्चित गर्दै जबाफदेही संस्थाको स्थापना गरी बस्न लायक सहर बनाउन सकिन्छ ।