इटहरी : नेपाली काँग्रेस रामधुनी नगर समितिले नगर प्रमुख समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । स्थानीय तहको निर्वाचन भएको दुईबर्ष पुग्नै लाग्दा प्रभावकारी काम नभएको भन्दै नगर प्रमुखको ध्यान आकर्षण गराएको हो । 
आइतबार नगर प्रमुख सङ्करलाल चौधरीको कार्यकक्षमा पुगेको काँग्रेस नगर समितिको टोलीले रामधुनी जस्तो सम्भावनाले भरिएको नगरपालिकामा कुनै पनि गतिलो काम नभएको बताएको हो । ‘नगर प्रमुखले नगरपालिकालाई विकाशको गति दिन नसक्दा हामी सरोकारवाला राजनैतिक दलहरूलाई लज्जा बोध भएको छ । आम जनताको अभिभावक नगर प्रमुखले राजनीतिक दलहरू सँग कुनै पनि समन्वय नगर्ने र आफू पनि विकाश निर्माणको गतिलो काम नगर्ने प्रवृत्तिले रामधुनी पछाडि परिरहेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । 
शिक्षाको क्षेत्रमा ठोस योजना नबनेको बताउँदै काँग्रेसले विद्यार्थीले पढ्ने भवन ठेक्का लागेर पनि बन्न नसक्नु लाजमर्दो भएको बताएको हो । नगर सभापति सुदिप अधिकारी काँग्रेस हरेक दिन जनताको पक्षमा लागिरहेको बताउँछन् । 
कृषि उपकरणको वितरणमा नगरपालिकाले मनोमानी गरेको बताउँदै उनले यहाँका किसानले मल, बिउ नपाउँदा काँग्रेसलाई दुखेको बताए । अहिले अभिभावक विहीन भएका रामधुनीका जनताले गलत नेतृत्व चयन गरेको महसुस गरिरहेको उनको भनाइ छ । 
रामधुनी थारु बाहुल्य नगर रहेकाले थारु जातिका खानाका परिकारलाई व्यवसायीक प्रवर्द्धन गर्नुपर्ने उनले सुनाए । थारु कला र संस्कृतिलाई व्यवसायीकरण गरी आयआर्जनको रूपमा विकसित गराउने दिशामा स्थानीय सरकार अगाडी बढाउन उनले माग गरेका छन् । थारु संग्राहलयको निर्माण गर्नुपर्ने देखि वडा स्तरका खेलमैदानको संरक्षण र विकाश गर्नुपर्ने पत्रमा उल्लेख छ । 
नगरपालिकाको दोहन गरी आसेपासे र कार्यकर्ता पोस्ने काम बन्द गर्न काँग्रेसले चेतावनी दिएको छ । राजस्व चुहावट रोक्न देखी खोलानाला दोहन गरेर बनाइएका संरचना हटाउन माग गरेको छ । दीर्घकालीन गुरु योजना बनाएर काम गर्न आग्रह गरेको काँग्रेसले नगर प्रहरी व्यवस्थापन गरी सफा नगरको रूपमा विकाश गर्न आग्रह गरेको छ ।