धरान : सङ्घीयता विरोधी र पक्षधर पार्टीहरू पहिचानको विपक्षमा एकजुट रहेको कुरा प्रदेश सभामुखको चयनले स्पष्ट गरेको प्रदेश नं. १ पूनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति अध्यक्ष मण्डलका सदस्य प्रेम येक्तेनले बताएका छन् ।
कोशी प्रदेश सभामुखमा सङ्घीयता विरोधी पार्टी राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएको कुरालाई औँल्याउँदै उनले सङ्घर्ष समितिको केन्द्रीय बैठकको पूर्वसन्ध्या बुधवार धरानमा आयोजित चुम्लुङ सम्बद्ध लिम्बु सांस्कृतिक परिषद्को चौथो महाधिवेशन उद्घाटन समारोहमा उक्त कुरा बताएका हुन ।
उनले भने ‘सङ्घीयताको विरोध, राजतन्त्रको पक्षधर एजेण्डामा हिँडेको राप्रपा प्रदेशको सभामुख बन्न तयार हुन्छन् र सङ्घीय गणतन्त्रवादीहरूले उसैलाई सर्वसम्मत चयन गर्छन् ।’
प्रदेश सभामा मुख्यमन्त्री बनाउन देखी सबै कुरामा एक जुट हुन्छन् तर कोशी नाम खारेजी र पूनः नामाङ्कनको कुरामा एकले अर्को दललाई दोषारोपण गर्ने व्यवहारले उनीहरू पहिचानको विपक्षमा एउटै कित्तामा भएको पुष्टि गर्ने उनको भनाई थियो ।
दश महिना देखी चलेको ‘कोशी’ नाम खारेजी, पूनः नामाङ्कनको आन्दोलनमा लाजेहाङले शहादत प्राप्त गरेको, दर्जनौँ आन्दोलनकारीको अङ्गभङ्ग भएको अवस्थामा पनि अहिले सम्म कोशी खारेज नगरिएकाले अब कडा आन्दोलन गर्न बिहीबार संयुक्त सङ्घर्ष समितिको केन्द्रीय बैठकले बस्ने उनले बताए ।
प्रेम येक्तेन किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष हुन । चुम्लुङ संयुक्त सङ्घर्ष समितिका १७ वटा घटकहरू मध्ये एक प्रभावशाली घटक हो । आन्दोलनलाई नयाँ ढङ्गबाट थप सशक्त बनाउने रणनीति तयार गर्न केन्द्रीय सङ्घर्ष समितिको दुई दिने बैठक धरानमा बस्न लागेको हो ।
लिम्बु सांस्कृतिक परिषद्का केन्द्रीय अध्यक्ष गोविन्द आङबुङले पहिचानको आन्दोलनलाई अब सांस्कृतिक आन्दोलनका रूपमा पनि अघि बढाइने बताए । उनले भने ‘संस्कृतिसँग इतिहास, भाषा-लिपी, संस्कार र समुदायको मौलिक अस्तित्व जोडिएको हुनाले पहिचानको आन्दोलनलाई सांस्कृतिक विद्रोहको रूपमा अघि बढाउनु पर्दछ ।’
चुम्लुङ केन्द्रीय सल्लाहकार चन्द्रमाया लिम्बुले आदिवासी समुदायमा सांस्कृतिक जागरण उत्साहजनक रूपमा आएको बताउँदै यसलाई अधिकार प्राप्तिका लागि राजनीतिक आन्दोलनसँग जोड्न पर्नेमा जोड दिइन् । सल्लाहकार हर्ष सुब्बाले पहिचानको आन्दोलन भनेकै सांस्कृतिक आन्दोलन भएको बताए ।
धरान उपमहानगरपालिका कार्यपालिकामा नेकपा एमाले संसदीय दलका नेता वडा १५ का अध्यक्ष नरेश इङवारमले पछिल्लो समय धरानमा पहिचानको पक्षमा निकै काम भएको बताउँदै स्थानीय सरकारबाट आदिवासी समुदायका सांस्कृतिक अधिकारका कुराहरू हासिल गर्ने दिशामा ध्यान दिनुपर्नेमा जोड दिए ।
लिम्बु सांस्कृतिक परिषद्, किरात याक्थुङ चुम्लुङको विषयगत संस्थाको रूपमा किृयाशील छ । लिम्बुवान सहित काठमाडौँ, भक्तपुर, ललितपुर र चितवन समेत १३ जिल्ला समितिका प्रतिनिधिहरू महाधिवेशनमा सहभागी छन् ।
महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्नेछ । यो समाचार तयार पार्दा सम्म उद्घाटन समारोह पछि महाधिवेशनको बन्द सत्र चलिरहेको छ ।

 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
                 
                 
                 
                 
         
        
















 
         
        

















































 
         
         
        