धरान : कोशी प्रदेशसभाकी सदस्य यशोदा कायस्थले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वर्तमान अवस्थाको यथार्थ चित्रण सहितको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छिन् ।
प्रतिष्ठान स्थापना भएको तिन दशकमा प्रतिष्ठित विश्वविद्यालय बनाउने माग बढेको बेला अस्पतालको सेवामा गुनासो, शिक्षक, कर्मचारी चिकित्सक समस्याको सहज व्यवस्थापन नभइरहेको ध्यानाकर्षण गराउँदै सांसद कायस्थले प्रतिष्ठानका सहकुलपति स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई लिखित ज्ञापनपत्र मार्फत सरकारसँग २२ सूत्रीय माग गरेकी हुन् ।
प्रतिष्ठान भित्रका प्रशासनिक निर्णय, कार्यहरू नातावाद कृपावाद राजनीतिक हस्तक्षेप मुक्त प्रतिष्ठान ऐन अनुसार स्वचालित रूपमा हुनुपर्ने माग पनि उनले गरेकी छन् ।
अस्पतालमा एमआरआई, सिटी स्क्यान उपकरण तत्काल जडान गर्न माग गर्दै ज्ञापनपत्रमा प्रतिष्ठानले खरिद गर्ने उपकरण बिगार्ने, कमिसनको खेलमा कर्मचारीहरूको एक समूह सक्रिय रहेको उल्लेख गर्दै त्यसको पहिचान गरी कडा कारबाही गर्न माग गरिएको छ ।
प्रतिष्ठानको अस्पतालमा आवश्यक उपकरण, भौतिक आवश्यकतामा ध्यानाकर्षण गराउँदै सांसद कायस्थले इमर्जेन्सीको सेवालाई छुट्टै १०० बेडको युनिट थप गर्न साथै अस्पतालको बेड सङ्ख्याको आधारमा १० प्रतिशत शैयाको आइसियु व्यवस्था गर्न माग गरेकी छिन् ।
मातृ शिशु अस्पतालमा ४०० सय बेड हुनुपर्ने तथा यसको उपकरण सहितको निर्माण एवं क्यान्सर अस्पताल, मुटुरोग अस्पताल यथाशीघ्र सम्पन्न गर्न माग गरिएको छ ।
मेडिसिन विभागको अंकोलोजीलाई छुट्टै विभागको रूपमा सञ्चालन, चौबिसै घण्टा औषधि पाइने बिपीको आफ्नै फार्मेसी तत्काल सञ्चालन गर्न माग गरिएको छ ।
स्वास्थ्य मन्त्री बस्नेत पुस १९ गते बिपी प्रतिष्ठानको अनुगमनका आएका बेला सांसद कायस्थले उनलाई भेटी प्रतिष्ठानका चिकित्सक कर्मचारीका माग संवेदनशील भएको समेत बताएको उनले बताइन् । सोही भेटमा उनले प्रतिष्ठानको सहकुलपति समेत रहेका बस्नेतलाई ज्ञापनपत्र बुझाएकी हुन् ।


 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
                 
                 
                 
                 
         
        















 
         
        

















































 
         
         
        