धरान : बिपी प्रतिष्ठानका चिकित्सकहरूको आन्दोलन रोकिएको बढुवा प्रक्रिया सुरु गर्न २ महिना भित्र अन्तर्वार्ता पुनः सुरु गर्ने गरी आन्दोलनकारी र कार्यकारिणी बिच सहमति भएपछि आज सोमवार देखी स्थगित भएको छ ।

दुई पक्ष बिचमा भएको सहमति पत्रमा अन्तर्वार्ता अघि शिक्षकको प्रस्तावित नियमावलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्र अनुसार आवश्यक प्रक्रिया अवलम्बन गरी सरोकारवालाहरूसँग सुझाव लिएर कार्यकारिणी सञ्चालक परिषदमा स्वीकृतिका लागि पेस गर्ने कुरा उल्लेख छ ।

सहमति पत्रमा यसअघि खारेज गरिएको करार सेवाको विज्ञापनलाई पनि प्रक्रिया पुर्‍याएर अन्तर्वार्तामा समावेश गरिने सहमति भएको छ । उक्त सहमति अनुसार शिक्षक पदको यस अघि रोकिएको अन्तर्वार्ता आउँदो पुष २० गते सुरु गरी २५ गते सम्ममा सम्पन्न गरिने छ ।

यसअघि निलम्बनमा परेका तत्कालीन उपकुलपति ज्ञानेन्द्र गिरीले शिक्षक पदको बढुवाको अन्तर्वार्ता सुरु गरेका थिए । उनी निलम्बनमा परेपछि निमित्त उपकुलपति प्रा.डा. सञ्जीव शर्माको कार्यकालसम्म अन्तरवार्ता जारी थियो ।

यसैबिच लोक सेवा आयोगले उसको उपस्थिति वा सहमति बिनाको बढुवा प्रक्रियाको अन्तर्वार्ता अमान्य हुने जनाएपछि कामु उपकुलपछि प्रा.डा. प्रह्लाद कार्कीको कार्यकालमा बढ्वा प्रक्रिया सहित अन्तर्वार्ता रोकिएको हो ।

पछिल्लो समय विश्वविद्यालयको शिक्षक, कर्मचारी सम्बन्धी नियमावलीमा नियुक्ति, बढुवा प्रक्रियामा लोकसेवा आयोगको स्वीकृतिको प्रावधानलाई वाध्यात्मक बनाइएको छ । बिपी प्रतिष्ठानको नियमावलीमा भने लोकसेवा आयोगको उल्लेख समेत नभएकोले आयोगले बढुवा प्रक्रियाको अन्तर्वार्ता मान्य नहुने जनाएको हो ।

आज भएको सहमति पत्रमा उल्लेख भएको ब्यहोरा नियमावलीमा लोकसेवाको प्रावधान समावेश गर्ने, लोकसेवा आयोगको स्वीकृति लिने जस्ता प्रक्रियाहरू ‘फास्ट ट्र्याक’मा पुरा गर्ने बाध्यात्मक सम्झौताको रूपमा भएको देखिन्छ ।

अघिल्ला उपकुलपतिहरूको उपेक्षा, ढिलासुस्तीका कारण ७ वर्ष देखी रोकिएको चिकित्सकहरूका बढुवा प्रक्रिया अघि बढाउन प्रतिष्ठानका १७७ चिकित्सकहरूले संयुक्त राजीनामा दिएका थिए । उनीहरूले बढुवा प्रक्रिया सुरु नगरे राजीनामा स्वीकृत गर्न सरकारलाई चुनौती दिएका थिए ।

चिकित्सकहरूको आन्दोलनले बिपी प्रतिष्ठानको ओपिडी समेत बन्द भई स्वास्थ्य सेवा प्रायः ठप्प भएको अवस्थामा आन्दोलनकारी र कार्यकारिणी बिच सहमति भई उपचार सेवा सुचारु हुने भएको छ । आन्दोलनकारी चिकित्सकहरू र पदाधिकारीहरूबिच सहमति भएको पत्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रोहवरमा आदान प्रदान भएको हो ।

मेयर साम्पाङले सहमति कार्यान्वयन गराउन लागि पर्ने बताएका छन् । शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले सहमति भएकोमा खुसी व्यक्त गरे । विद्यार्थी कल्याण समाजका अध्यक्ष डा.ओम शान्ति रजकले वार्ता सफल गराउन भूमिका खेल्नेहरूलाई धन्यवाद दिएका छन् ।

यसअघि धरानका ५ राजनीतिक दलहरूले आन्दोलनकारी चिकित्सकहरूसँग वार्ता गरी प्रतिष्ठानको गतिरोध अन्त्य गर्ने सुरुआत गरेको थियो । उनीहरूको वार्ताले आन्दोलनकारी र कार्यकारिणी पदाधिकारी बिच वार्ताको वातावरण बनेको हो ।

वार्ताको अन्तिम क्षण सहमत पत्र मस्यौदाको लागि धरानका नागरिक समाजका अगुवाहरूले आन्दोलनकारी र पदाधिकारीहरू बिच सहजीकरण गरेका थिए । सहमति पत्रमा हस्ताक्षर हुँदा आज बिहान नागरिक समाजका अगुवाहरू वार्तास्थल पुगेका थिए ।

उनीहरूलाई उपकुलपति प्रा.डा.प्रह्लाद कार्की, राजिष्ट्रर प्रा.डा.सूर्यप्रसाद सङ्ग्रौलाले वार्तामा समझदारी कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिएकोमा धन्यवाद ज्ञापन गरे । रजिस्ट्रार सङ्ग्रौलाले लोकसेवाको कुरामा सहमति गराउन नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

नागरिक समाजका डा.आनन्द आचार्यले भने ‘आइतबार साँझ नै कुरा टुङ्गी सकेको थियो, सहमति पत्रमा लोकसेवा आयोगको सहमति लिने वाक्य नराख्ने कुरामा 'डाक्टर साप'हरूले अडान लिएपछि आज बिहानसम्म कुरा लम्बिएको हो ।’ सहमति पत्रमा ‘प्रक्रिया’को उल्लेख गरिएपछि ‘लोकसेवा’ लेखिरहन नपर्ने कुरामा सहमति भएको उनले बताए ।

नागरिक समाजबाट पूर्व प्रशासक, क्याम्पस प्रमुख कुमारबहादुर कार्की, समाजसेवी सरला कायस्थ, पूर्व मेयर तिलक राई, रेडक्रस सोसाइटीका सभापति उमेश थापा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, यातायात व्यवसायी सरोज श्रेष्ठ, उद्योगी कृष्ण अग्रवाल, शिक्षा सेवी राजविमल श्रेष्ठ, किशोर कुमार कार्की, प्रदिप मेयाङबो लगायत सहभागी थिए ।

harsha sahamati2

bp sahamati patra