धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारी १७७ चिकित्सकहरूले राजीनामा दिएपछि अस्तव्यस्त स्वास्थ्य सेवा सुचारु गर्न धरानका राजनीतिक दलहरूले सर्वदलीय रूपमा पहल सुरु गरेका छन् ।

धरानका ५ राजनीतिक दलहरूले आन्दोलनकारी पक्षसँग तत्काल उपयुक्त निकास खोजेर निशर्त स्वास्थ्य सेवा सुचारु गर्न आग्रह गर्दै आज आइतबार छलफल गर्दै पहल सुरु गरेको हो ।

छलफलमा आन्दोलनकारी पक्ष र पदाधिकारी बिच वार्ता गरी २ दिन भित्र निकास निकाल्न सर्वदलीय टोलीबाट मार्फत पहल गर्ने निर्णय भएको छ । मध्यस्थता राजनीतिक दलहरूले गर्ने भएका छन ।

छलफलमा आन्दोलनकारी पक्षबाट डा. प्रदीप आचार्यको नेतृत्वमा डा.समीर शाह, डा. मधुर बस्नेत, डा. रबिन लगायत आन्दोलनरत डाक्टरहरू उपस्थित थिए ।

छलफलमा डा.मधुर बस्नेतले प्रतिष्ठानको गरिमा बचाउन राजनैतिक दलहरू गम्भीरतापूर्वक लाग्न आग्रह गरे । डाक्टरहरूले प्रतिष्ठान समसान घाट हुन लागेको अवस्थामा पनि पदाधिकारीहरू घुमाएर नियम र विनियमको कुरा गरी ३/३ महिनामा बढुवा हुनुपर्ने नियमलाई ७ वर्ष देखि रोकेर राख्ने कुरा मात्र दोहोर्‍याउने गरेको आरोप लगाए ।

छलफलमा प्रमुख राजनीतिक दलका नेतृत्वहरूबाट नेपाली काँग्रेसका सभापति श्याम पोखरेल, एमालेका अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), जसपाका अध्यक्ष ताजुब लिम्बु र नेकपा एकीकृत समाजवादीका स्वर्णिमहाङ लिम्बू, रास्वपाका सचिव सुमन श्रेष्ठ सहभागी थिए ।

छलफलमा राजनीतिक दलहरूले आन्दोलनरत पक्ष र प्रतिष्ठान व्यवस्थापन पक्षलाई तत्काल उपयुक्त निकास निकालेर स्वास्थ्य सेवा निःसर्त सुचारु गर्न आग्रह गरेको छ । दुवै पक्षलाई उपयुक्त निकास निकाल्न वार्ताको लागि दलहरूले मध्यस्थता गर्ने प्रस्ताव राखेका थिए ।

सोही अनुसार छलफलपछि निर्णय भएको हो । राजनैतिक दलले सोमवार पुनः प्रतिष्ठानका पदाधिकारीहरू सँग छलफल गर्ने भएको छ । निर्णय अनुसार भोली सोमवार राजनैतिक दलहरूले प्रतिष्ठान पदाधिकारीहरू सँग छलफल गर्ने काँग्रेस सभापति पोखरेलले जानकारी दिए ।

प्रतिष्ठानका १७७ जना आन्दोलनकारी प्रोफेसर, डाक्टरहरूले वृत्ति विकास, बढुवा प्रक्रियाको माग राखी असोज २२ गते स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई राजीनामा बुझाएका छन् । उनीहरूले बढुवा प्रक्रिया सुरु नगरे सामूहिक राजीनामा स्वीकृत गर्न सरकारसँग सर्त राखेका छन् ।